रौतहट, ०९ पौष ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रौतहट जिल्ला कमिटीद्वारा मिति २०८२ पौष १२ गते आयोजना गरिने तय भएको जिल्ला एकता सन्देश सभा अत्यधिक चिसो मौसमको प्रभावका कारण स्थगित गरिएको जानकारी दिइएको छ ।
जिल्ला कमिटीका अनुसार पछिल्ला दिनहरूमा तराई-मधेश क्षेत्रमा चिसो अत्यधिक बढ्दै गएको तथा जनस्वास्थ्यलाई समेत असर पार्ने अवस्था सिर्जना भएकाले सहभागीहरूको सुरक्षालाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो ।
तर, सोही दिन अर्थात् पौष १२ गते नै रौतहट सदरमुकाम गौरस्थित राइस मिलको हलमा विशेष भेला आयोजना गरिने जनाइएको छ । उक्त भेलामा रौतहट जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने केन्द्रीय कमिटीका नेता, विभिन्न केन्द्रीय निकायका पदाधिकारी, प्रदेश कमिटी, जिल्ला कमिटी, संघ तथा प्रदेशस्तरीय क्षेत्रीय कमिटी र नगर कमिटीका सम्पूर्ण नेता-कार्यकर्ताहरूको अनिवार्य उपस्थिति रहने बताइएको छ ।
उक्त जानकारी मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेलले सार्वजनिक गर्दै पार्टीको एकता, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने भएकाले सबै सम्बन्धित नेता तथा कार्यकर्तालाई समयमै उपस्थित हुन आग्रह गर्नुभएको छ ।
पार्टीले स्थगित गरिएको जिल्ला एकता सन्देश सभाको नयाँ मिति र समय पछि पुनः जानकारी गराइने समेत जनाएको छ ।















