रौतहट पुष ६ । चन्दन कुमार महतो

रौतहटस्थित एक निजी अस्पतालले एउटै उपचार तथा सेवाका लागि फरक–फरक शीर्षकमा शुल्क जोड्दै बिरामीसँग अत्यधिक रकम असुल गरेको आरोप लागेको छ। बिरामी पक्षले उपचार अवधिभरका अस्पताल तथा फार्मेसीका बिल र रसिद सार्वजनिक गरेपछि अस्पतालको बिलिङ प्रणालीमाथि गम्भीर प्रश्न उठेको हो।

बिरामीका आफन्तले उपलब्ध गराएका कागजातअनुसार अस्पताल भर्ना, बेड चार्ज, नर्सिङ चार्ज, राउन्ड चार्ज, पोस्ट–अप चार्ज, ड्रेसिङ, एक्स–रे, औषधि तथा उपभोग्य सामग्रीजस्ता शीर्षकमा पटक–पटक शुल्क जोडिएको देखिन्छ। केही सेवाहरू एउटै प्रकृतिका भए पनि फरक नाम राखेर दोहोरो बिलिङ गरिएको आशंका गरिएको छ।

कागजातअनुसार शल्यक्रिया (अपरेसन) सम्बन्धी सेवामा OT चार्ज, अपरेसन चार्ज र एनेस्थेसिया चार्ज अलग–अलग शीर्षकमा उल्लेख गरिएको छ। त्यस्तै, उपचारपछिका दिनहरूमा ड्रेसिङ तथा रिपिट एक्स–रे जस्ता सेवामा पनि पटक–पटक शुल्क थपिएको देखिन्छ। फार्मेसीका बिलहरूमा समेत समान औषधि वा सामग्री विभिन्न मितिमा दोहोरिएर उल्लेख गरिँदा कुल रकम अस्वाभाविक रूपमा बढाइएको दाबी गरिएको छ।

बिरामी पक्षले उपचार आवश्यक भए पनि एउटै सेवाको नाम परिवर्तन गर्दै बारम्बार शुल्क जोडिएको जस्तो देखिएको बताउँदै निष्पक्ष छानबिनको माग गरेका छन्। उनीहरूका अनुसार कुल बिल रकम अपेक्षाभन्दा अत्यधिक भएको र अस्पतालले स्पष्ट तथा पारदर्शी विवरण नदिएको गुनासो छ।

यस विषयमा अस्पताल प्रशासनको आधिकारिक प्रतिक्रिया भने आउन बाँकी रहेको छ। स्थानीयवासी तथा सरोकारवालाहरूले निजी अस्पतालहरूको बिलिङ प्रणालीमा पारदर्शिता र नियमन आवश्यक रहेको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here