रौतहट, चन्दन महतो । चिसो मौसम तीव्र रूपमा बढ्दै गएपछि गरुडा नगरपालिकाले नगरबासीलाई राहत प्रदान गर्न दाउरा वितरण कार्यक्रम सञ्चालन गरेको छ। गरुडा नगरपालिकाका नगर प्रमुख श्री कन्थमनी प्रसाद जयसवालले नगरका विभिन्न स्थानमा आगो ताप्नका लागि दाउरा वितरण गर्नु भएको हो।
लगातार करिब दुई सातादेखि बाक्लो हुस्सु–कुहिरो र शीतलहरका कारण अत्यधिक चिसो बढेपछि नगरबासीको जनजीवन प्रभावित बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले यो कदम चालेको हो।
नगर प्रमुख जयसवाल स्वयं उपस्थित भई नगरका प्रत्येक वडामा आगो बाल्नका लागि चौक चौतारा, मठ–मन्दिर, प्रहरी चौकी तथा अन्य सार्वजनिक स्थानहरूमा शनिबारदेखि दाउरा वितरण गरिएको छ।
यति चिसो बढिसक्दा पनि अधिकांश पालिकाले दाउरा वितरण नगरेको अवस्थामा गरुडा नगरपालिकाले भने यो कार्यक्रम यस वर्ष मात्र नभई प्रत्येक वर्ष निरन्तर रूपमा सञ्चालन गर्दै आएको नगर प्रमुख जयसवालले जानकारी दिनुभयो।
उहाँले बढ्दो चिसोका कारण कुनै पनि नगरबासी समस्यामा नपरोस् भन्ने उद्देश्यले आवश्यकता अनुसार थप राहत सामग्रीसमेत वितरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नगरपालिकाको यस सराहनीय कार्यप्रति नगरबासीहरूले खुसी व्यक्त गरेका छन्।















