३० कार्तिक २०८२रौतहट ।

आगामी निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीका विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत मनोनयन, उजुरी, नामावली प्रकाशनदेखि मतदानसम्मका सबै प्रक्रिया औपचारिक रूपमा घोषणा गरेको हो ।

प्रत्यक्ष निर्वाचन प्रणालीका मुख्य मितिहरू

प्रत्यक्ष प्रणालीतर्फ मनोनयन दर्ताको प्रक्रिया माघ ६ गते बिहान १० बजेबाट सुरु हुनेछ र बेलुका ५ बजेसम्म चल्नेछ। सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्म प्राथमिक सूची प्रकाशित गरिने आयोगले जनाएको छ ।

उम्मेदवारप्रति उजुरी दर्ता माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म गर्न सकिनेछ। त्यसपछि माघ ८ गते बेलुका ५ बजेसम्म उजुरी तथा मनोनयनको जाँचबुझ गरी निर्णय गरिनेछ ।

जाँचबुझपछि माघ ८ गते बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिनेछ । उम्मेदवारले आफ्नो नाम फिर्ता लिने अवधि माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म तोकिएको छ ।

सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली सार्वजनिक गरिने र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

समानुपातिक निर्वाचन प्रणालीका प्रक्रिया

समानुपातिकतर्फ निर्वाचनका प्रक्रिया मंसिर २० गतेदेखि सञ्चालनमा आउनेछन् । समानुपातिक निर्वाचनमा भाग लिन चाहने दलहरूले मंसिर २१ देखि २३ गते दिउँसो ४ बजेसम्म निवेदन पेस गर्नुपर्नेछ ।

पेस भएका दलहरूको नामावली मंसिर २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सार्वजनिक गरिनेछ ।

उम्मेदवारको बन्दसूची पेस गर्ने अवधि पुस १३ र १४ गते बिहान १० बजेदेखि ४ बजेसम्म रहनेछ । अन्तिम बन्दसूची माघ २० गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म प्रकाशित गरिनेछ ।

मतदान मिति

आयोगका अनुसार आगामी निर्वाचनका लागि मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा सञ्चालन हुनेछ ।

आयोगले सबै राजनीतिक दल, उम्मेदवार तथा मतदातालाई तोकिएको मिति तथा समयसीमा कडाइका साथ पालन गर्न आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here