रौतहट । परोहा नगरपालिका ७ र ८ का दलित समुदायका सदस्य तथा पीडित परिवारले आफ्नै बस्तीका पटवारी नरेशप्रसाद पटेलले जग्गा हडपेको आरोप लगाउँदै बिहीबार सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन् ।
बिहानैदेखि सुरु भएको विरोधमा सहभागीहरूले “दलितको जग्गा हडप्ने पटवारीलाई कारबाही गर”, “झुटा मुद्दा खारेज गर”, “हाम्रो मुद्दा दर्ता गर”, “दलितमाथि शोषण बन्द गर” जस्ता नारा लगाएका थिए । उनीहरूले सदरमुकाम घण्टाघर चोकदेखि जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला अदालतको मूल गेटसम्म र्याली निकालेका थिए । अदालतको गेटमा उनीहरूले धर्नासमेत दिएका थिए ।
पीडित सुरेन्द्र महरा चमारका अनुसार करिब चार वर्षअघि उनले पटवारी पटेलसँग ८ लाख १० हजार रुपैयाँ ऋण लिँदा ८ कठ्ठा १५ धुर जग्गा दृष्टिबन्धक राखेका थिए । उनले एक वर्षभित्रै साढे ७ लाख रुपैयाँ फिर्ता बुझाइसक्दा पनि पटेलले न त दृष्टिबन्धक फुकुवा गरे, न बाँकी रकमको हिसाब मिलाए । उल्टै, दृष्टिबन्धकमा राखिएको जग्गा गैरकानुनी रूपमा आफ्नी श्रीमतीको नाममा पास गरेर अन्य व्यक्तिलाई बिक्री गरेको आरोप महराले लगाएका छन् ।
महराले गाउँमा पटक–पटक भएको छलफल र मेलमिलापका प्रयास असफल भएपछि आफू कानुनी प्रक्रियामा जान बाध्य भएको बताए ।
पीडितको उजुरीपछि जिल्ला प्रहरीले घटनालाई अनुचित लेनदेनसम्बन्धी अपराध मानेर मंसिर २ गते पटेललाई पक्राउ गरेको थियो । अहिले उनी जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।
उक्त मुद्दाको सुनुवाइ बिहीबार जिल्ला अदालत गौरमा तोकिएको थियो, सोही दिन पीडित र स्थानीय दलित समुदाय अदालतको गेटमै धर्नामा बसेका हुन् ।
नेपाल दलित समाज परोहा–७ र ८ का प्रतिनिधिहरूले यो घटना दलित समुदायमाथि भइरहने शोषण, ठगी र दमनको ज्वलन्त उदाहरण भएको दाबी गर्दै घटनाको पूर्ण, निष्पक्ष र गम्भीर छानबिन गर्न, पीडित सुरेन्द्र महरा चमारको जग्गा तत्काल फिर्ता दिलाउन, अभियुक्त पटवारी नरेश प्रसाद पटेलमाथि कानुनअनुसार कडा कारबाही गर्न, दलितमाथि हुने आर्थिक शोषण र अनुचित लेनदेनका घटनामा कडा कानुनी व्यवस्था लागू गर्न माग गरेका छन् ।
स्थानीय प्रतिनिधिहरूले यस्ता घटना दोहोरिन नदिन न्यायिक निकायले यो मुद्दा प्राथमिकताका साथ समाधान गर्नुपर्ने धारणा राखेका छन् ।















