चन्दन कूमार महतो। रौतहट सावन ८ गते
One Heart Worldwide को आर्थिक सहयोगमा, अभियान नेपाल र माण्डवी नेपालको सहकार्यमा २०७९ सालदेखि सञ्चालित “मातृ तथा नव शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजना” अन्तर्गत कार्यान्वयन चरणको समापन कार्यक्रम आज गौरस्थित सिया पैलेस होटलमा सम्पन्न भएको छ।
कार्यक्रम जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या राय यादवको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
समापन कार्यक्रममा प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुर, स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश कुमार सिंह, रौतहट क्षेत्र नं. १ का प्रदेशसभा सदस्य प्रत्याशी राजकिशोर प्रसाद यादव, माण्डवी नेपालकी अध्यक्ष अन्जू झा, अभियान नेपालकी अध्यक्ष सुनीता साह, कार्यकारी निर्देशक शत्रुधन सिंह, कोअर्डिनेटर जितेन्द्र कुशवाहा, स्वास्थ्यकर्मी, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा स्थानीय स्वास्थ्य संस्थाका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वक्ताहरूले परियोजनाबाट मातृ तथा नवजात शिशु स्वास्थ्य सेवामा देखिएको सुधार, स्वास्थ्य संस्थाहरूमा संरचनात्मक तथा सेवा गुणस्तरमा भएको प्रगति, र स्थानीय सरकारको नेतृत्वमा यस्ता कार्यक्रमहरूलाई दीर्घकालीन रूपमा निरन्तरता दिनुपर्ने आवश्यकतालाई जोड दिएका थिए।
कार्यक्रमको विशेष हिस्साका रूपमा, परियोजनाको प्रभावकारी कार्यान्वयनमा सक्रिय योगदान पु-याएका स्वास्थ्यकर्मीहरूलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो।
समापन कार्यक्रममा सहभागीहरूले मातृ तथा नव शिशु मृत्युदर न्यूनीकरणतर्फ परियोजनाले पुर्याएको योगदानप्रति सराहना व्यक्त गर्दै One Heart Worldwide र यसका साझेदार संस्थाहरूको भूमिकालाई धन्यवाद ज्ञापन गरेका थिए।















