चन्दन महतो । रौतहटको फतुवा विजयपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५६ करोड ३२ लाख ९५ हजार १ सय ५१ रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगरसभाको ९औं अधिवेशनमा वडा नं. ९ का वडा अध्यक्ष राकेश यादवले बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तावित बजेटमध्ये २० करोड ६८ लाख ७१ हजार रुपैयाँ पूँजीगततर्फ र ३५ करोड ६४ लाख २४ हजार १ सय ५१ रुपैयाँ चालूतर्फ विनियोजन गरिएको छ। शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधार, कृषि, पोषण र रोजगारीजस्ता क्षेत्रमा विशेष प्राथमिकता दिइएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवका अनुसार समृद्ध पालिका निर्माणका लागि आर्थिक तथा सामाजिक विकास, पूर्वाधार निर्माण, वन–वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत सेवा प्रवाह, भूमिहीन सुकुम्बासी, पोषण, रोजगारी र लघु उद्यमजस्ता शीर्षकमा बजेट छुट्याइएको छ।

यस वर्ष वडा नं. ९, १० र ११ का ८४ जना भूमिहीन सुकुम्बासीलाई जग्गा दर्ता प्रमाण–पुर्जा वितरण गरिनेछ। साथै वडा नं. १ देखि ११ सम्मका भूमिहीनहरूको सर्वेक्षण तथा तथ्यांक संकलन गरिने योजना छ।

नगरपालिकाका लेखा अधिकृत कामेश्वर सहनीका अनुसार शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि र पशु सेवालाई बजेट निर्माणमा अग्रता दिइएको हो।

नगर सभा कार्यक्रममा वडा नं १ देखी ९ सम्मका वडा अध्यक्षहरु प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव, लेखापाल कामेश्वर सहनी, प्रदेश सभा सदस्य प्रत्याशी समाजसेवी मोहम्मद शेराज, नगरपालिकाको कर्मचारीहरू, पत्रकार लगायत स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here