१६ साउन,२०८२/ काठमाडौं ।
संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा संयुक्त राष्ट्रसंघको एउटा प्रमुख अङ्ग आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा निर्वाचित भएका छन् । इकोसकको अध्यक्षमा नेपाल निर्वाचित भएको पहिलोपटक हो ।विहीवार इकोसकको अध्यक्षता सम्हाल्दै राजदूत थापाले यो नेपालका लागि ऐतिहासिक क्षण भएको बताए । नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भएको ७० वर्षको अवधिमा मुलुकले बहुपक्षीयताप्रति देखाएको दृढ प्रतिबद्धतालाई यो निर्वाचननले प्रतिविम्बित गरको थापाले बताए I
अहिले संसार द्वन्द्व, जलवायु परिवर्तनले सृजना गरेको अस्तव्यस्तता, आर्थिक अनिश्चितता तथा गहिरिँदो असमानताजस्ता बहुसंकटबाट गुज्रिरहेको छ,’ उनले भने, ‘पुन: चर्किएको महाशक्तिहरुबीचको प्रतिस्पर्धा, बढ्दो साइबर जोखिमहरु, बाटो बिराएको दिगो विकासको कार्यसूची, बढ्दो मानवीय सहयोगको आवश्यकता र विकासशील देशहरूका लागि वार्षिक ४० खर्ब डलरको वित्तीय स्रोत अभावको अवस्था छ ।’ यस्तो परिस्थितिमा इकोसोकको भूमिका इतिहासमा सबैभन्दा बढी सान्दर्भिक र महत्वपूर्ण रहेको उनले बताए ।















