onlinekantipur

काठमाडौँ — नेकपा एमालेका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले मिलेनियमन च्यालेन्ज कर्पोरेसनसँग भएको सम्झौता संशोधनसहित पारित गर्ने पार्टीको नीति भएको बताएका छन् । तुल्सीलाल स्मृति भएको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले संशोधनसहित एमसीसी पारित गर्ने नेकपाकै समयमा भएको निर्णयमा अहिले पनि एमाले निर्णयमै कायम रहेको बताए ।

‘नेकपा हुँदा नै तीन सदस्यीय कार्यदल बनाएका थियौं । त्यो कार्यदलको सुझावमा एमसीसीको सम्झौतालाई संशोधन सहित अघि बढाउने भन्ने सुझाव थियो । त्यसको अर्थ एमसीसीलाई अस्वीकार गर्ने वा एमसीसी हुँदै हुँदैन भन्ने हाम्रो निष्कर्ष होइन’ उनले भने ‘एमसीसीको सम्झौतामा रहेका कतिपय प्रावधानहरुलाई पुनर्व्याख्या गरेर नेपालको राष्ट्रिय हित थप अनुकुल बनाउनु पर्ने छ । यो सबै विषयमा आवश्यक संशोधन गरेर एमसीसी अघि बढाउने भन्ने त्यस समयको निर्णय हो । अहिले पनि हाम्रो पार्टी त्यो निर्णयमा कायम छ ।’

एमसीसी अनुमोदनको विषयमा सरकारले लिने नीतिमा आधारमा अघि बढ्ने रहेको भट्टराईले भने । एमालेले बुधबार बिहान भएको संसदीय दलको बैठकमा समेत एमसीसीको विषयमा छलफल भएको उनले बताए ।

‘एमसीसीको विषयमा हाम्रो संसदीय दलको बैठकमा व्यापक छलफल गरेका छौं । एमसीसीको उपाध्यक्षसँग हाम्रो पार्टी अध्यक्षले पनि भेटघाट गर्नुभयो । पहिलो कुरा सत्तारुढ दल र गठबन्धनले एमसीसीलाई यो अधिवेशनमा टेबुल गर्नुहुन्छ वा गर्नु हुँदैन ? पहिले हामी त्यो हेर्दै छौं’ सञ्चारकर्मीहरुसँग उनले भने ‘टेबुल गर्दा कस्तो अवस्थामा गर्नुहुन्छ । जस्ताको त्यस्तै गर्नुहुन्छ कि संशोधन गरेर गर्नुहुन्छ कि त्यो विषयमा अहिले क्लियर छैन । अहिले नै त्यस विषयमा बोल्नु हतार हुन्छ । त्यो निर्णयमा सरकारको पोजिसन के हुन्छ त्यो हामी हेर्दै छौं ।’

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *