३ असोज, काठमाडौं ।

नेकपा एमालेबाट अलग भएर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन् । २ भदौमा एकीकृत समाजवादी दर्ता गरेका अध्यक्ष नेपाल नयाँ पार्टी निर्माण गर्न देश दौडाहामा छन् ।

आफैं संस्थापक रहेको एमाले दक्षिणपन्थी बाटोमा लागेकाले विद्रोहको आवश्यकता परेको उनको दावी छ । ‘एमाले त केपी ओलीको प्राइभेट लिमिटेड कम्पनी भइसक्यो नि । म कम्युनिष्ट पार्टी ब्यूँताउन चाहन्छु । क्रान्तिकारी पार्टीको अभियन्ताका रूपमा भूमिका खेल्न चाहन्छु’, अध्यक्ष नेपाल भन्छन् ।

प्रतिनिधिसभाको ठूलो दल एमाले विभाजन गर्दै नयाँ दल निर्माणको थालनी भने ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णयबाट भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा संसद् विघटन गर्ने निर्णय गरेपछि साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भयो र पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल सडक संघर्षमा उत्रिए ।

११ फागुन २०७७ मा सर्वोच्च अदालतबाट संसद् पुनर्स्थापना भयो, तर २३ फागुनमा नेकपाकै एकता प्रक्रिया भंग गर्दै अदालतले एमाले र माओवादी केन्द्र ब्यूँतायो । प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष बने । अदालतको फैसला पछि एमाले बनेका ओली र नेपालबीच सहमति जुट्न सकेन । एमालेका दोस्रो तहका नेताहरू पार्टी मिलाउन लागि परे ।

२९ वैशाखमा ओली र नेपालबीच एमाले एकता गर्ने भद्र सहमति जुट्दा विपक्षी गठबन्धनले संविधानको धारा ७६(२) बमोजिम संयुक्त सरकार बनाउन सकेका थिएनन् । ३० वैशाख २०७८ मा ओली फेरि ठूलो दलको हैसियतमा प्रधानमन्त्री नियुक्त भए । तर ओलीले विश्वासको मत लिन चाहेनन् । बरु संसद विघटन गर्ने योजनाका साथ संविधानको धारा ७६ (५) बमोजिम सरकार बनाउन राष्ट्रपतिसँग सिफारिस गरे । माधव नेपाल सहित एमालेका २६ सांसदले साथ दिएपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको समर्थन रह्यो । काँग्रेस (६१), माओवादी केन्द्र (४९), एमाले (२६), जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष १२ र राष्ट्रिय जनमोर्चाका १ सांसदले देउवाको पक्षमा हस्ताक्षर गरे ।

ओलीले पनि फेरि प्रधानमन्त्रीमा दाबी गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले कसैलाई पनि प्रधानमन्त्री नियुक्त गरिनन् । र, ओलीले ७ जेठको मध्यरात दोस्रोपटक संसद् विघटन गरे ।विधान जोगाउन संसद् पुनर्स्थापनाको अडान लिँदा अध्यक्ष नेपालले एमालेबाटै अलग हुनुपर्ने परिस्थिति निर्माण भएको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *