५ आश्विन २०७८/online kantipur

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय यात्रुबाहक सवारी साधनलाई सीमा नाका खोल्न सकारात्मक रहेको बताएका छन्। होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्ज तथा पर्यटन पत्रकार संघ पर्साको संयुक्त प्रतिनिधिमण्डलसँग सोमबार प्रधानमन्त्रीको कार्यालयमा भएको भेटमा देउवाले यस्तो बताएका हुन्।  

देशको कुल गार्हस्थ उत्पादनमा उल्लेखनीय योगदन रहेको, हजारौंलाई रोजगारी दिएको र अर्बौं लगानी भएको होटल तथा पर्यटन क्षेत्र अहिले नराम्ररी प्रभावित भएको विषयमा ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको संघका अध्यक्ष हरि पन्तले बताए। तथ्यांक अनुसार नेपालमा सबभन्दा बढी आउने पर्यटक भारतीय नै हुन्। नेपालको दक्षिणी सीमावर्ती क्षेत्रका होटल, रेस्टुरेन्ट र सबै खाले पर्यटकीय गन्तव्य ७० देखि ८० प्रतिशत स्थलमार्ग भएर आउने भारतीय पर्यटकमाथि निर्भर छन्।  

‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि २०७६ चैत ११ गते बन्दाबन्दी घोषणा भएसँगै सीमापार आवागमनमा रोक लगाइएको थियो,’ प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘महामारी नियन्त्रणका लागि लगाइएका प्रतिबन्धहरू हाल आएर अन्य सम्पूर्ण क्षेत्रबाट हटाइए पनि सीमानाकाबाट भारतीय तथा तेस्रो मुलुकबाट आउने कार्गोबाहेकका सवारी साधनको आवागमनमा रोक भने डेढ वर्षदेखि कायमै छ। यसले गर्दा भारतबाट तिर्थाटन र घुमफिरका लागि पर्यटक आउन  छोडेका छन्।’  

प्रतिनिधिमण्डलको अगुवाइ गरेका कांग्रेस नेता एवं संविधानसभा सदस्य अनिल रुंगटाले भारतीय सवारी प्रवेशमा रोकको परिणामस्वरूप वीरगन्ज आसपासको क्षेत्रमा रहेका दुई सयभन्दा बढी होटललाई सञ्चालन खर्च धान्न गाह्रो भएको, सयौं रोजागरी समाप्त हुने र अर्बौं लगानी डुब्ने अवस्थामा पुगिसकेको बताए।  

प्रधानमन्त्री देउवाले व्यवसायीको माग सकारात्मक भएको र चाँडै उचित निर्णय लिइने आश्वासन दिएका छन्। पछिल्लो समय सीमानाकाबाट दैनिक हजारौंको संख्यामा सर्वसधारणको पैदल आवतजावत भइरहे पनि भारतीय यात्रुबाहक सवारी साधन आउजाउ गर्न नपाउँदा पर्यटक आगमन बन्द रहेको होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष इच्छाबहादुर वाग्लेले सुनाए।  

मानिसबाट सर्ने कोरोना भाइरसको रोकथामका लागि गाडी रोकेर हजारौं मानिसलाई निर्वाध आउन–जान दिनुको वैज्ञानिक आधार नभएको व्यवसायीको भनाइ छ।  

भारतबाट पर्यटकीय महत्व भएका पाहुना नेपाल आउन रोकिएर होटल तथा पर्यटन व्यवसाय धराशयी भएकोले आफूहरू प्रधानमन्त्रीसमक्ष समस्या राख्न आएको वीरगन्जको कलार्कस रिसोर्टका सञ्चालक सुनिल खेतानले बताए।  

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *