१४ असोज, काठमाडौं।
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई बोलाइए पनि नेकपा एमालेका नेताहरू भने सहभागी भएनन् ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधामन्त्री एवं पार्टी सभापति देउवा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा(एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक संसदको अवरोधलाई निकास दिने विषयमा केन्द्रित थियो । संसद बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले लगातार अवरोध गर्दै आएको छ ।

आजै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । त्यसअघि सहमति जुटाउने प्रयासमा प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।
संसदको अवरोध खुलाउन सभामुख अग्निप्रसाद सापकोटाले पहल गरे पनि निकास ननिस्किएपछि प्रधानमन्त्रीले नै पहल थालेका हुन् । सभामुख सापकोटाले बोलाएको बैठकमा पनि प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली सहभागी भएका थिएनन् ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *