१३ कात्तिक, काठमाडौं । अमेरिकाको एक खुफिया संस्थाले कोभिड-१९ को उद्गम स्थल पहिचान गर्न कठिन रहेको बताएको छ । कोरोना भाइरस कहाँ र कसरी उत्पत्ति भयो भनेर आफूलाई कहिल्यै थाहा नहुन सक्ने पनि खुफिया संस्थाको भनाइ छ ।

शुक्रबार डाइरेक्टर अफ नेशनल इन्टेलिजेन्सको कार्यालय (ओडीएनआई) ले एक प्रतिवेदन सार्वजनिक गर्दै कोभिड-१९ को उद्गम स्थल पहिचान गर्न कठिन रहेको र भाइरस उत्पत्तिबारे आफूलाई कहिल्यै थाहा नहुन सक्ने बताएको हो । उक्त प्रतिवेदनमा कोरोना भाइरस जनावरबाट मानिसमा सरेको वा प्रयोगशालाबाट चुहाइएको भन्ने विषयमा विस्तृत समीक्षा गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।ओडीएनआईको प्रतिवेदनमा कोरोना भाइरस प्रकृति रुपले उत्पत्ति भएको वा प्रयोगशालाबाट चुहिएको भन्ने दुबै अनुमान सही हुन सक्नेतर्फ पनि संकेत गरिएको छ । तर यी दुई अनुमानमध्ये कुन चाहिँ बढी प्रबल रहेको भन्ने वा अन्तिम निष्कर्ष निकाल्न सकिएकाल भन्ने विषयमा विश्लेषकहरूबीच मतभेद रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, जैविक हतियारको रुपमा कोरोनाभाइरस बनाइएको भन्ने धारणालाई समेत प्रतिवेदनले खण्डन गरेको छ ।यस्तो धारणा राख्ने मानिसहरूको ‘वुहान इन्स्टिच्युट अफ भाइरोलोजीसम्म सिधा पहुँच नभएको’ र उनीहरुले दुष्प्रचार गरिरहेको प्रतिवेदनको ठहर छ ।विश्वव्यापी महामारीको असरका लागि चीन कति दोषी छ भन्ने विषयबारे अमेरिकामा राजनीतिक मतभेद जारी रहेका बेला शुक्रबार सो प्रतिवेदन सार्वजनिक गरिएको हो । ९० दिन लगाएर अगस्टमा जो बाइडेन प्रशासनले सार्वजनिक गरेको समीक्षालाई अपडेट गरेर पछिल्लो प्रतिवेदन सार्वजनिक गरिएको हो ।यसैबीच, चीनले प्रतिक्रिया जनाउँदै शुक्रबार सार्वजनिक प्रतिवेदनप्रति आलोचना गरेको छ ।‘कोभिड-१९ को उत्पत्ति पहिचान गर्न वैज्ञानिकको साटो आफ्ना खुफिया संयन्त्रमाथि भर पर्ने अमेरिकी कदम पूर्णत: राजनीतिक प्रहसन हो’, वाशिङ्टनस्थित चिनियाँ दूताबासका प्रवक्ता लिउ पेङगिऊले भने ।यसअघि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका कैयौं समर्थकले कोभिड-१९ ‘चिनियाँ भाइरस’ भएको बताएका थिए । तर केही अमेरिकी खुफिया संस्थाले भाइरस प्रकृतिमा उत्पत्ति भएको कुराप्रति सशक्त समर्थन गरिरहेको देखिन्छ । कतिपयले भने चीनस्थित वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट संयोगबश भाइरस चुहिएको ठान्छन् ।

तर चीनले उक्त अनुमान अस्वीकार गर्दै आएको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *