९ मंसिर २०७८, बिहीबार
जनकपुरधाम । जनगणनाकालागि खटिएको गणकको कार्य शैली विवादित बनेको छ । जनगणना सकिएपनि घरमा गणक नआएको, गणकले आफूखुशी गणना गरेको, घरमुलीसंग जानकारी नै नलिइ आफू अनुकुल घरमा गइ गणना पुस्तिका भर्ने गरेको र धर्म तथा भाषामा मनपरी गरेको पाइएको छ । घरमा पुगेर संकलन गर्नु पर्ने तथ्य गणकले आफूखुशी गर्दा जनगणनाको औचित्यमाथि नै प्रश्न तेर्सिन थालेको छ । गणकले गणना फारममा उल्लेख भएका सबै सवाल सोधेर जवाफ लेख्नु पर्ने प्रावधान रहेपनि भाषा बारे प्रश्न नै नगरी आफू अनुकुल जवाफ भर्ने गरेको पाइएको छ ।
गणना पुस्तिकामा सीसाकलमको प्रयोग गरेर जवाफ लेखिएको समेत पाइएको छ । जनकपुरधाम उपमहानगरपालिका–१३, रानीबजारमा मंगलबार विहान जनगणनाका लागि पुगेका गणक आलोकदेव साहले स्थानीय कैलाश राउतको घरको विवरण सोधेर गणना फाराम भर्ने क्रममा परिवारको सदस्यको नाम, उमेर, वैवाहिक स्थिति लगायत कुरा टिपोट गरे पनि धर्मबारे प्रश्न नै नगरेको पाइएको छ । धर्म किन उल्लेख नगरेको प्रश्न गर्दा गणक साहले घरमा गइ धर्म उल्लेख गर्ने बताएका थिए । कम समयमा धैरै घरको गणना गर्न समस्या भएकोले कुराकानी गरेको आधारमा घरमै गइ बांकी जवाफ भर्दै आएको उनले बताए । पहिलो चरणमा आएका तथ्यांक कार्यालयबाट खटिएका सुपरीवेक्षकले घरमा घर नम्बर लगाए पनि दोश्रो चरणमा विस्तृत विवरण लिन आसपासको घरमा आएको देखिएपनि आफ्नो घरमा नआएको जनकपुरधाम उपमहानगरपालिका–२ की रिता देवीले बताइन । छिमेकीको घरमा दोश्रो चरणमा जनगणना गर्न आएका गणकलाई आफ्नो घर गणना गर्न बांकी रहेको जानकारी गराउंदा पनि उनीहरुको पुस्तिकामा नाम नै फेला नपरेको उनले गुनासो पोखिन् । तथ्यांक कार्यालय जनकपुर धनुषाका प्रमुख जनगणना अधिकारी विमलकुमार यादवले उत्तरदातासंग पुर्खाको भाषा बारे सवालै नगरी उत्तर लेखेको र भाषा सम्बन्धी त्रुटि भेटिएको स्वीकार्दै उनले भने,‘घरमुलीसंग सबै सवाल गरी जवाफ लेख्नु पर्ने हो तर धनुषामा मैथिली र मगही भाषाको विवादले तथा धर्म, जातजातिको विषयमा समस्या आएको छ ।

कतिपय स्थानमा गणकले समेत बदमासी गरेको पाइएको छ ।’ धनुषाको उतरवर्ती क्षेत्रमा उतरदातासंग नसोधि गणकले मगही लेखेको गुनासो आएपछि अनुगमन गर्दै जांदा त्रुटिहरु फेला फरेको छ, उनले प्रष्ट पारे ।कतिपय स्थानमा गणनाको क्रममा विवाद भएपनि जनगणनामा अधिकांश स्थानीय युवा गणक खटिएको जानकारी गराउंदै विगत भन्दा यस वर्ष गणकले राम्रो र प्रशंसनीय काम गरेको यादवले दाबी गरे । पहिलो चरणमा सुपरभाइजरले घरको सूचीकरण गरेका थिए । दोश्रो चरणमा सुचीकृत घरमा गणकले गणना गरेको छ । सूचीकृत हुन नसकेको र सूचीकृत भएरपनि गणना नभएको घरमा बिहीबार गणना गरिने प्रमुख यादवले जानकारी दिए । प्रदेश २ मा भाषा सम्बन्धी विवाद चर्केको बेला जणगणनामा गणकहरु मार्फत चलखेल समेत भएको पाइएको छ। भाषा अभियानीहरुले आप्mना निकट गणकहरुलाई जातियरुपमा प्रभावित गरी गणनाको क्रममा भाषा सम्बन्धी सवालमा गणकले आफै जवाफ लेख्ने गरेको समेत गुनासो पाइएको छ । जनगणना गर्न खटिएका अधिकांश गणक युवा रहेको र गणनाको तथ्यांकले भविष्यमा पर्न सक्ने असर बारे अनभिज्ञ छन् । गणनाको क्रममा स्थानीयले गरेको प्रश्न र जिज्ञासाको जवाफ दिन सकेका छैनन् ।

घरमा बेरोजगार भएको अवसरमा गणकको आवेदन दिएका युवाहरु मोवाइल, ल्यापटप र पकेट मनिकालागि जनगणनाको जिम्मेवारी लिएको पाइएको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *