१० मंसिर २०७८,शुक्रबार
देशको सबै भन्दा ठूलो दल प्रमुख प्रतिपक्षी नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको शुक्रवार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।

पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको सबै तयारी पुरा भएको जनाउँदै उद्घाटन समारोह ऐतिहासिक हुने बताए । नारायणी नदी किनारमा उद्घाटन सत्रका लागि मञ्च सहितको व्यवस्था गरिएको भट्टराईले जनाए । उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी सहभागी हुने दाबीगर्दै उनले भने, ‘ महाधिवेशनको बन्दसत्रका लागि प्रतिनिधि र स्वयंसेवक अट्ने गरी हल निर्माणको कार्य भइरहेको, आवास र खानाको सम्झौता अनुसारको कार्य धमाधम भइरहेको छ । प्रेस चौतारीको चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले महाधिवेशनमा २ हजार १ सय ७५ प्रतिनिधि र १ सय ३ जना पर्यवेक्षक सहभागी हुने बताए । भूगोल, जनसङ्गठन, विभाग, सम्पर्क कमिटी र प्रवासबाट प्रतिनिधिहरु सहभागी भइरहेको उनले बताए । उनका अनुसार प्रतिनिधिमध्ये ५ प्रतिशत अर्थात १ सय ६ जना मनोनित गरिएका हुन । प्रतिनिधिमा २सय ९ जना दलित, उत्पीडित र ६ सय २७ जना महिला रहेको उनले जनाए । कूल प्रतिनिधि संख्याको ३० प्रतिशत महिला, १० प्रतिशत हाराहारी दलित, उत्पीडित रहेको उल्लेख गर्दै उनले भने, महाधिवेशनमा सल्लाहकार १५ सहित पाका–पुराना १ सय ३ जना रहने छन् । उद्घाटन समारोहमा ५ हजार स्वयंसेवक परिचालन गरिने उनले बताए । ‘महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ’ उनले भने, भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायतका देशबाट राजनैतिक दलका प्रतिनिधिहरु सहभागी हुने छन् ।
कोरोना भाइरसको कारण कतिपय देशका प्रतिनिधिहरु महाधिवेशनमा सहभागी हुन नसकेपनि चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश सहित विभिन्न १५ देशबाट शुभकामना सन्देशहरु प्राप्त भएको उनले बताए । उद्घाटन सत्रपछि मंसिर ११ गते बिहान ८ः३० बजेदेखि सौराहामा बन्दसत्र सुरु हुने छ । अध्यक्ष मण्डल र माइन्युट कमिटी बनिसकेका छन् । बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओली र विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन उम्मेदवारी दर्ता, दाबी विरोध र फिर्ता समेतको प्रक्रिया सकेर साँझ ६ बजे अन्तिम नामावली प्रकाशित गरिने कार्यक्रम रहेको भट्टराईले जनाए । मंसिर १२ गते बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुने र मतदानका लागि १ सय वटा भोटिङ मेसिन तयार गरिएको उनले जनाए । तीमध्ये ९० वटामा मतदान गरिने छ भने १० वटा जगेडाका रूपमा राखिने छ । सोही दिन साँझसम्ममा मत परिणाम आउने उनले बताए । महाधिवेशन सम्पन्न गर्न ७ करोड ५० लाख खर्च हुने र सो रकम एमालेकै नेता कार्यकर्ताबाट सङ्कलन भएको पार्टी प्रचार विभाग प्रमुख भट्टराईले बताए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *