१० मंसिर २०७८,शुक्रबार
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति विमलेन्द्र निधिले प्यानल सहित मंसिर २१ गते उम्मेदवारी दर्ता गर्ने विहिवार औपचारिक घोषणा गरेका छन् ।

चुनाव सम्पर्क कार्यालयमा औपचारिक रुपमा उम्मेदवारी घोषणागर्दै निधिले घोषणा पत्र समेत सार्वजनिक गरेका छन् । ‘म सभापतिको उम्मेदवार छु, २१ गते प्यानल सहित नै उम्मेदवारी दर्ता गर्छु ’ निधिले भने, नेताहरुको व्यवस्थापनमा मलाई कुनै समस्या छैन् । उपसभापति निधिले प्यानल सहित उम्मेदवारी घोषणा गर्ने दाबी गरेपनि प्यानलमा कुन पदमा कसको उम्मेदवारी हुने बारे केही खुलाउन चाहेनन् । उनले प्यानलमा रहने नेताहरुको नाम सार्वजनिक नगर्दा हाल प्यानल सेट नभएको टिप्पणी नेताहरुले गरेका छन् । ‘ पार्टीमा जसरी गणेशमानजी र किसुनजीहरू हुनुहुन्थ्यो, शेरबहादुरजी, रामचन्द्रजीहरूलाई हामी कांग्रेसको त्यही सम्मान सर्वोच्च नेताका रुपमा राख्छौँ,’ नेता निधिले भने, उहाँहरुले अब सभापतिमा प्रतिस्पर्धा गर्न उपयुक्त हुँदैन् । सभापतिको उम्मेदवारी दिने घोषणा गरेका प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. शेखर कोइरालासित निरन्तर संवादमा रहेको दाबी गर्दै नेता निधिले भने, उहाँहरुसित विस्तृत र गम्भीर संवादमा छु । हाम्रो संवाद अत्यन्त सकारात्मक रहेको उनले दावी गरे । डा. शशांक, प्रकाशमान र म बीच ६÷७ पटक छलफल भएको उल्लेखगर्दै डा. शेखरजीसँग २ पटक छलफल भएको उनले खुलाए । ‘तपाईंहरूले तीनजना बीच पदमा सहमति भयो भने समीकरण मिल्यो, पदमा समझदारी भएन भने समीकरण मिलेन भन्ने अर्थमा नलिदिनुहोला ’निधिले भने, सभापतिमा मेरो उम्मेदवारीप्रति अधिकांश नेताहरु सकारात्मक छन् ।
वर्तमान सभापति शेरबहादुर देउवाको समर्थन चाहेको बताउँदै उपसभापति निधिले भने, ‘सबैभन्दा पहिलो त शेरबहादुरजीकै चाहन्छु । रामचन्द्रजी, सिटौलाजी, प्रकाशमानजी, शशांकजी, शेखरजी सबैको समर्थन चाहन्छु ।’ प्रदेश २ मा कमजोर देखिएका निधिले पत्रकार सम्मेलनमा भने, सभापतिमा उम्मेदवारी दिएपछि पार्टीभित्रबाट प्रदेश २ माथि सबैभन्दा बढी आक्रमण भएको छ । ‘जुनबेलादेखि म सभापति लड्छु भनेर भनेँ,’ उनले भने, ‘ त्यो बेलादेखि नेपाली कांग्रेसभित्र सबैभन्दा बढी आक्रमण प्रदेश २ माथि भएको र त्यो मलाई नै कमजोर पार्नका लागि भएको हो ।’

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *