१४ मंसिर २०७८
काठमाडौं प्रहरी प्रमुख अशोक सिंहको काज सरुवा रद्द भएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले सिंहलाई भैरहवा विमानस्थल पठाएर सुदीप गिरीलाई काठमाडौं ल्याउने गरी ९ कात्तिकमा काज सरुवा गरेका थिए । तर बालुवाटारले हस्तक्षेप गरेपछि काठमाडौं प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा तत्काल कार्यान्वयन नगर्न निर्देशन दिइएको थियो ।
प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृत भन्छन्, ‘एसएसपी सिंहलाई त्यतिवेला तत्काल रमाना नलिन निर्देशन गएको थियो, सरुवा चाहिँ यथावत थियो ।’ नियमित सरुवामा काजलाई मिलाउँदै दरबन्दी कायम गर्ने गरिएको छ ।
तर सोमबार निस्किएको पाँच एसएसपीको सरुवामा अशोक सिंहको नाम छैन । एक उच्च अधिकृत भन्छन्, ‘यसको अर्थ उहाँको पहिलेको काज सरुवा रद्द भयो भन्ने हो, मंसिरमा एक वर्षे कार्यकाल पूरा भएपछि मात्र उहाँको सरुवा हुन्छ ।’

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।