१४ मंसिर २०७८
जिल्ला प्रशासन कार्यालय गोरखाले उत्तरी गोरखाका गम्भीर बिरामी, घाइते र सुत्केरीको उद्धार प्रक्रिया छिटो बनाएको छ। तत्काल उद्धार गर्नुपर्ने बिरामीले कागजी प्रक्रिया पूरा गर्दा लामो समय लाग्ने, समयमै उद्धार हुन नसक्दा ज्यानै जाने गरेकाले छरितो प्रक्रिया सुरु गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत चुमनुब्री गाउँपालिकाका जोखिमपूर्ण गर्भवती तथा सुत्केरी महिलालाई हेलिकप्टरमा उद्धार गरिन्छ। यसरी उद्धार गर्दा उनीहरुले वडा कार्यालयमा जानकारी गराउनुपर्छ। वडा कार्यालयले गाउँपालिका र गाउँपालिकाले जिल्ला प्रशासन, प्रशासनले महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा चिठीपत्र गर्नुपर्छ। यो प्रक्रिया पूरा गर्दागर्दै ज्यानै गएको कैयौँ उदाहरण छन्। फोन तथा इन्टरनेट समस्या, कर्मचारीको ढिलासुस्तीलगायत झन्झटबाट मुक्त गर्न मोबाइलबाटै उद्धारका लागि हेलिकोप्टर उँडानको अनुमति दिन सुरु गरिएको प्रजिअ आचार्यले बताए।
‘तत्काल उद्वार गर्न अहिले यो प्रक्रिया छोटो बनाएका छौँ’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने। बिरामीको नाम, उमेर, नागरिकता नम्बर, सुत्केरीको हकमा श्रीमानको नाम, हेलिकप्टर ल्याण्ड गर्ने ठाउँ र हेलिकप्टर उँडाउने सम्पर्क ब्यक्तिको नम्बर एसएमएस् पाएपछि प्रजिअले तत्काल हेली उँडाउन अनुमति दिने प्रजिअ आचार्यले बताए। यो बिवरण प्राप्त भएपछि तत्काल महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आकस्मिक उद्धार शाखामा प्रजिअले एसएमएस् पठाएपछि अहिले हेलिकप्टर उँड्छ।
‘मानिसको ज्यान बचाउनु ठुलो र पहिलो आवश्यकता हो’, प्रजिअ आचार्यले भने, ‘उद्धारपछि कागजी प्रक्रिया पूरा गर्छौँ।’ जिल्ला प्रशासन कार्यालयले दुई सातायता तीन जनाको छरितो प्रक्रियाबाट उद्धार गरिसकेको जनाएको छ। कात्तिक २८ गते छेकम्पारबाट १९ वर्षीया सुत्केरी छिरिङ पाल्मोको उद्वार गरिएको उनले बताए। ‘ब्यक्तिले सबै जानकारी तत्काल गराएपछि र हेलिकोप्टर कम्पनी उँडाउन तयार भएपछि हामीले छरितो अनुमति दिन्छौँ’ प्रजिअ आचार्यले भने ‘तत्काल आवश्यक बिवरण दिनुपर्छ र कागजात पनि उद्धारपछि भने पूरा गर्नुपर्छ।’
लोक्पाको पहिरो खुलाउन ३१ लाख लाग्ने
चुमनुब्री गाउँपालिकाको चुम्चेत र छेकम्पार जाने बाटोको पहिरो खुलाउन ३१ लाख रुपैयाँ लाग्ने भएको छ। गाउँपालिकाका प्राविधिकले गरेको स्टमेट अनुसार लोक्पाको पहिरो खुलाउन उक्त रकम लाग्ने स्टमेट गरिएको हो।
‘गाउँपालिकाबाट हामीलाई प्राप्त भएको यो स्टमेट गण्डकी प्रदेश सरकारलाई पठाएका छौँ’ गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले भने। लोक्पा पहिरोबाट अहिले जोखिम मोलेर सर्वसाधारण आउजाउ गरिरहेका छन्। खाद्यान्न, निर्माण सामग्री बोकेको खच्चडपनि आउजाउ गरिरहेको सिर्दिबास प्रहरी चौकीले जनाएको छ। ‘अहिले दैनिक खच्चड गएको छ, तर पहिरोमा डर र जोखिम छ, त्यसलाई ब्यवस्थित गर्न प्रदेश सरकार सँग बजेट मागेका छौँ।’
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले बाटो खुलाउन बजेट ब्यवस्थापन गर्ने आश्वासन दिएका छन्। पूर्वाधार बिकास कार्यालय मार्फत उक्त बजेट पठाएर पहिरो खुलाउने योजनामा प्रदेश सरकार छ। पहिरोमा सहज बाटो खुलाउन सहजिकरण गरिरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।