२३ मंसिर २०७८
जुम्ला सिँजा गाउँपालिका ३ की रामछिता राना दुई बर्ष पहिले देखि छुई भएको बेला घरमै बस्छिन्। छुइ भएको समयमा बस्ने उनले सफा सुग्घर कोठा बनाएकी छिन्। पहिले पहिले निकै त्रास हुन्थ्यो। तर अहिले बानी परिसकेकोले घरपरिवारले पनि सहज तरिकाले स्वीकारीरहेका छन्।

अहिले उनी गाउँभरी छुई हुँदा घरमा बस्नु पर्ने भन्दै सुझाव दिन्छिन्। सुरुको अवस्थामा अफ्यारो लाग्यो,उनले थपिन्, ‘अहिले अफ्ठयारो गाह्रो केही मान्दैन्। न घरपरिवारले गाली गर्छन नत छिमेकीले नै औला ठड्याउँछन्। बरु वरिपरिका दिदीबहिनीले सिको गर्दै घरमै बस्ने प्रेरणा लिइरहेका छन्। ’मेरो अहिले अलग कोठा छ। कोठामा सरसफाई छ। कसैले फोहोर कोठा भयो भनेर आवाज उठाउन सक्ने ठाउँ राखेकी छैन,‘उनले भनिन्,‘छुई हुदा घरमा बस्दा सुरक्षित भइन्छ। देवता रिसाउँदैनन्। घरमा अनिष्ट हुदैन। स्वास्थ्य बिग्रदैन। समाजले महिला माथि दमन गर्न ल्याएको कुप्रथा मात्र हो। त्यसैले छुइगोठमुक्त पहिलो आवश्यकता हो। ’

अहिले उनी छुई भएको समयमा दुध,दही खान्छिन्। परिवारले पनि सहजै रुपमा दिन्छन्। छुई भएको महिलाले अन्नबाली छुन हुदैन। दही,दुध र झोलिलो खाना खानु हुदैन भन्ने भ्रम छ। त्यो भ्रम गाउँमा तोडेकी छिन्। गोठमा गाइभैसी संग सुत्ने भनेको हामी माथि समाजले गरेको पशुवत व्यवहार हो। यो अब सहन लायक हुनेछैन। स्थानीय पदमकली राना तीन वर्षदेखि छुई भएको समयमा घरमा बस्छिन्। उनलाइ न देवता लागेको छ। न उनको घरमा अनिष्ट भएको छ। नत स्वास्थ्यमा समस्या नै आएको छ। उनी घरमा बस्न थालेपछि झन स्वस्थ हुन थालेकी छिन। पोषिलो खानेकुरा खान्छिन्।

घरको एक सुरक्षित कोठामा बस्छौँ। पानी बोक्दैनौँ। भान्सामा जादैनौ। हामी आफ्नो स्वास्थ्य सुरक्षाको लागि हदै सम्मको सावधानी अपनाउन थालेका छौँ। सबैभन्दा ठुलो स्वास्थ्य हो,उनले भनिन्,‘स्वास्थ्य छ त,आफन्त छन, देवता हुन्छन्। समाज हुन्छ। स्वास्थ्य नभए केही उपाय छैन। स्वास्थ्यका लागि भएपनि हामी महिला छुई भएको बेला घरमा बस्नुपर्छ। ’

छोरी पहिलो पटक छुई हुदा ७ दिन सम्म गोठमै राख्ने र महिला छुई भएको अवस्थामा ५ दिन सम्म गोठमै राख्ने चलन थियो। अहिले गाउँमा सामाजिक संघसंस्थासंग मिलेर स्थानीय सरकारले विकृति विरुद्धको अभियान थालेको छ। पटक पटक तालिम प्रदान हुन्छ। छुई भएको समयमा गोठमा बस्दा रोगकिराको संक्रमण हुने,पाठ्यघर बिग्रने,असुरक्षित भइन्छ। उनले भनिन्,‘समाजले महिलालाई केन्द्रीत गरेर स्थापित गरेको संस्कार ध्वस्त पार्न गाउँ समाजदेखी विद्रोह गरिरहेका छौँ।’

अहिले परिवारले देवताको मन्दिर नपस। अत्यधिक आराम गर तर छुई भएको समयमा घरभित्रै बस भनेर भनिरहेका छन्। जुम्ला तिला गाउँपालिका महिलाले छुई प्रथाविरुद्ध विद्रोह नै गरेका छन्। गाउँपालिका भित्रका ९ वडाका ३२ गाउँका ३३ बस्ती सबै छुईगोठ मुक्त गरिसकेका छन्। अहिले सबै महिला छुई हुदा घरमै बस्छन्। गाउँपालिका उपाध्यक्ष बिष्णु बुढाले भनिन्,‘छुई प्रथा एक प्रकारको महिला हिंसा हो। यो सहजै रुपमा अन्त्य हुन सक्ने अवस्था छैन। महिला जागरुक बन्दै गएपछि संभव हुने कुरा हो। यो भइराखेको छ।’

उनले महिलाहरुले छुईगोठ मुक्त गाउँ घोषणा गर्नको लागि आग्रह गरेपछि मात्र गाउँलाई घोषणा गर्ने गरिएको बताउँछिन्। उनले यो अभियानमा धामी,झाँक्री,बुढापाका, युवायुवती सबैको साथ रहेको बताइन्। जिल्लाको पातारासी गाउँपालिकामा पनि अहिले छईगोठमुक्त अभियान चलिरहेको छ। जुम्लामा पहिलो महिला प्रमुख जिल्ला अधिकारी भएर आएकी दुर्गा बञ्जाडेले छुईप्रथा अन्त्यको लागि महाअभियान नै चलाइन्। उनले गाउँगाउँमा सचेतनामुलक कार्यक्रम गरिन्।

छुईप्रथा अन्त्य गर्न बाधक बनेका धामी झाँक्री संग छलफल चलाइन्। हरेक स्थानीयतहमा दुत नियुक्त गरिन्। जुम्लामा छुईप्रथा अन्त्यको लागि महायज्ञ नै चलाइन्। तर पछिल्लो आउने प्रमुख जिल्ला अधिकारीहरुले यो अभियानलाई प्राथमिकताका साथ उठाउन सकिरहेका छैनन्। यो पनि छुईप्रथा विरुद्धको एक प्रकारको विद्रोह हो। सञ्चारकर्मी लक्ष्मी न्यौपानेले भनिन्,‘सहजै रुपमा केही पनि काम सफल हुन सक्दैन। अब महिलाले दह्रो आवाज उठाएर छुईप्रथा अन्त्य अभियानमा सहभागि हुनुपर्छ। समाजमा जरा गाडेर रहेको यो प्रथाको जरै उखेलेर फाल्नुपर्छ।’

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *