२०७८ मंसिर २३ गते
भदौमा हल खुलेपनि प्रदर्शकले नेपाली चलचित्र पाएनन् । नेपाली चलचित्र तीन महिनाभित्र रिलिज गरेको खण्डमा विभिन्न सहुलियत दिने निर्णय चलचित्र विकास बोर्डले गयो । तर, पनि निर्माताहरुले चलचित्र रिलिजका लागि खासै मन बनाएनन् । बरु, हिन्दी चलचित्र ‘सूर्यवंशी’को बाटो कुरे ।
यो चलचित्रले बम्पर व्यापार गरेपछि निर्माताहरु चलचित्र रिलिजका लागि कस्सिए । नेपाली चलचित्रका निर्मातालाई नै सहज होस् भन्ने हेतुले चलचित्र संघले अशोक शर्माको संयोजकत्वमा गठन गरेको एक समितिले तीन महिनाका लागि नयाँ निर्णय गयो । जसअन्तर्गत, एउटा नेपाली चलचित्रसँग अर्को जुध्न नपाउने, एउटा नेपाली चलचित्र रिलिज भएको दुई सातापछि मात्र अर्को चलचित्र रिलिज गर्ने भन्ने थियो ।तर, हरेक साता नयाँ बलिउड चलचित्र रिलिज हुन थालेपछि प्रदर्शकहरु यही धुनमा मस्त छन् । निर्माता संघ त मौन बसे जस्तै छ । यता निर्माताहरु भने चलचित्र संघले बनाएको नियमको कुनै पालना नै नगरी धमाधम आफूखुशी चलचित्र रिलिज गर्न थालेका छन् ।
पुस ९ गतेलाई निर्माता तथा निर्देशक ऋषिराज आचार्यले ‘चुरीफुरी’कोप्रदर्शन मिति तय गरे । यो चलचित्र रिलिज हुनुभन्दा एक साताअघि निर्माता अर्जुन कुमारले चलचित्र ‘चपली हाइट ३’को रिलिज मिति तोके । अर्जुन यो विषयमा भन्छन्, ‘चुरीफुरीले रिलिज डेट तोकेको थिएन, निवेदन मात्र दिएको थियो ।’
अर्जुनले नै यहाँ नियम तोडेको देखिन्छ । अब पुस १६ गते चलचित्र ‘कठपुतली’ रिलिज हुँदैछ । यस अर्थमा यो चलचित्रले पनि‘चुरीफुरी’का लागि दुई साता समय छाड्नुपर्ने कुरालाई बेवास्ता गरेको छ ।
दुई साताको अन्तरमा नेपाली चलचित्र रिलिज गर्नुपर्ने नियमलाई निर्माताहरुले लत्याएका त छन् नै, एउटै मितिमा दुईवटा चलचित्र समेत रिलिज गर्न तम्तयार भएका छन् । फागुन १३ गते वितरक गोविन्द शाहीले ‘लप्पन छप्पन २’ लगाउने पक्का गरेका थिए । अब यही मितिमा चलचित्र ‘प्रेमगीत ३’ पनि रिलिज हुने पक्का भइसकेको छ ।
निर्माताहरु विदेशी चलचित्रले थिचोमिचो गयो भन्दै कुर्लन्छन् । तर, आफ्नै देशमा बनेका चलचित्रलाई नै आफैं थिचोमिचो गर्दा भनेमौन बस्छन् ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।