२३ मंसिर २०७८जुम्ला
सिँजा गाउँपालिका ३ की ३३ वर्षीया पदमकला रानाले १४ वर्षको कलिलो उमेरमा विवाह गरिन्। अहिले उनका दुई छोरा एक छोरी छन्। उनले स्कुल पढ्न पाइनन्। न बालविवाह गरेका थाहा भयो। नत बालविवाहले स्वास्थ्यमा पार्ने प्रभावका बारेमा ज्ञान नै थियो। उनले भनिन्,‘थाहा नपाएर बालविवाह गरेर बन्धनमा बाँधिन पुगे।’ आमा बुबाले नै केटो मागेका थिए। उनले विवाहका लागि पक्का गरिसकेकोले पदमकलाले बाबुको इज्जतका लागि पनि विवाह नगरि सुख थिएन।
उनले भनिन्,‘पहिले पटमा हुदैँ छोरी दिने चलन थियो। त्यो भन्दा केही जान्ने भइसकेपछि विवाह गरे,उनले भनिन्,‘सबै हिसावमा परिपक्क नहुँदा पाउनु दुख पाए। ’सानै उमेरमा विवाह गर्दा स्वास्थ्यमा हानी भएको उनी बताउँछिन्। उनले थपिन्,‘अन्जानबस मैले त सानै उमेरमा विवाह गरे। अबको पिढीले परिपक्क उमेर भएपछि मात्र विवाह गर्नुपर्छ भनेर गाउँमा सुझाउँछु। सानो उमेरमा विवाह गर्दा आइपर्ने समस्या दर्शाउँदै समस्या निराकरणमा लाग्न सचेतना दिदैछु। ’उनी अहिले बालविवाह न्युनिकरण अभियानमा निकै खटिएकी छिन्।
बालविवाह गर्न हुँदैन। कानुनले पनि बालविवाह गर्नुहुदैन भन्ने स्पष्ट गरिसकेको छ भन्दै गाउँमा प्रचार गर्छिन्। सानै उमेरमा प्रेम भएपनि उमेर पुगिसकेपछि मात्र विवाह गर्नु पर्ने तर्क उनको छ। उनको पति व्यापार गर्छन्। उनी घर व्यवहार धान्छिन्। पदमकलाले थपिन‘सबैभन्दा ठुलो मानव स्वास्थ्य हो। बालविवाह गर्दा स्वास्थ्य अवस्था नाजुक हुन्छ। गाउँमा बालविवाह रोक्नअनेक प्रयत्न गरिरहेका छौँ। ’
सिँजा ३ कै माया रोकायाले १५ वर्षको उमेरमा विवाह गरिन्। उनी विवाह गर्नकै लागि भागिन्। अहिले २८ वर्ष पुगिसकेकी माया कम उमेर विवाह गरेकोमा पछुताउँछिन्। ‘उनले भनिन्,‘अहिले स्वास्थ्य ठिक छैन। पछुतो लाग्छ।’ उनले विवाह गरिसकेपछि बालविवाह गर्दा आउने समस्याका बारेमा जानकार हुन सकेको बताइन्। पहिले केही थाहा थिएन,विवाह गरिसकेपछि थाहा पायौँ,उनले भनिन्,‘अब हामी त बालविवाहको शिकार बन्यौ तर भावी पुस्ताले बालविवाह गरेर भविष्य नबिगारोस भन्ने चाहन्छु। ’
अहिले माया र पदमकली गाउँमा बालविवाह, छुइ प्रथा जस्ता विकृती जन्य क्रियाकलाप अन्त्य अभियानमा जुटेका छन्। उनीहरु गाउँमा किशोरकिशोरी,युवायुवती र बुढापाका सबैलाई बालविवाह नगर्न आग्रह गर्छिन्। बालविवाहले गर्ने असरका बारेमा सचेत गर्छिन। ’
पदमकलाले भनिन्,‘बालविवाहका कारण कैयन किशोरीले बीचमै पढ्न रोक्नु परिरहेको छ। कार्यबोझ थोगिरहनु परिरहेको छ। स्वास्थ्य समस्या भोगिरहनु परिरहेको छ। केहीले त अकालमै मृत्युवरण गर्नु परेको छ। हामी चाहन्छौँ। बालविवाहमुक्त समाज होस्। सबैले परिक्क उमेर भएपछि मात्र विवाह गरोस्। ’
सोही गाउँकी १८ वर्षीया आरती रोकाया बालविवाह जुनसुकै व्यक्तिका लागि हानिकारक भएको बताउँछिन्। उनले भनिन्,‘विहेवारी २० वर्षपारी गर्नुपर्छ। परिवारले पनि छिटो विवाह गर्न दवाव दिनुहुँदैन। उमेर नपुग्दा सम्म विवाह गर्नु भनेको आफ्नो भविष्य आफै बिगार्नु जस्तै हो।’
उनले गाउँमा बालविवाह गरेका दिदीबहिनीहरु नै बालविवाह विरुद्धको अभियानमालागेको देख्न खुसी लाग्ने गरेको बताउँछिन्। उनीहरुले स्थानीय सरकारलाई बालविवाह विरुद्धको कानुन ल्याउन माग समेत गरेका छन। बालविवाह गर्दा हुने भोजभत्तेर बहिस्कार गर्नुपर्छ। बालविवाह जन्य कुनै पनि क्रियाकलाप प्रतिबन्ध लगाउनुपर्छ। यो नीति आँगनमै आएको सरकारले बनाओस।
आरतीले भनिन्,‘सचेतना र कानुनी ज्ञान संगसंगै अघि बढाउनु पर्ने देखिएको छ। यसमा तीनै तहको सरकारले ध्यान केन्द्रीत गर्नुपर्छ।’ जिल्लाको एक नगरपालिका सहित सबै स्थानीयतहमा बालविवाह भइरहेको छ। बालविवाह रोक्न सामाजिक संघसंस्था कस्सिएर लागेका छन्। तर सरकारी साथ विना ती अभियान सार्थक हुन सकेका छैनन्।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।