२०७८ मंसिर २४, शुक्रबार
राजविराज राजदेवी बसपार्कको निर्माण कार्य अत्यन्त सुस्त गतिमा भइरहेको भन्दै स्थानीयवासीहरु आन्दोलित भएका छन् ।

राजदेवी बस पार्क संघर्ष समितिले बसपार्क निर्माण यथाशीघ्र गर्नु पर्ने माग गर्दै विहीबार सरोकारवाला निकायहरुमा ज्ञापन पत्र बुझाएको छ । समितिले जिल्ला प्रसाशन कार्यालय सप्तरी,राजविराज नगरपालिका कार्यालय, संघीय शहरी विकास आयोजना डिभिजन कार्यालय सप्तरीमा ज्ञापनपत्र बुझाएको हो । लामो समयदेखि निर्माणाधीन रहेको र तोकिएको समय अवधि भन्दा एक वर्ष बढी भइसक्दा पनि सम्पन्न हुन नसकेपछि स्थानीयवासीहरु बाध्य भइ आन्दोलनमा उत्रेको समितिका संयोजक रामदेव यादवले बताए । शहरी विकास मन्त्रालयको एक करोड ३८ लाख ९६ हजार ५ सय १९को लागतमा सिनरश्री विल्डर्स प्रा. लि. काठमाडौले ठेक्का लिएको छ ।

२०७७ साल पुस १८ गते भित्रै बस पार्क निर्माण सम्पन्न भइसक्नु पर्ने भएपनि निर्माण नहुंदा स्थानीयवासीहरुले संघर्ष समिति निर्माण गरी आन्दोलनमा उत्रेका हुन् । ठेकेदार कम्पनीको लापरवाही सम्बन्धित निकायको उदासीनताको कारण बस पार्क निर्माणमा ढिलाइ भएको गुनासो बुझाइएको ज्ञापनपत्रमा गरिएको छ । समयमै बस पार्क निर्माण हुन नसक्दा मुख्य बजारको सडक किनारमै अव्यवस्थित रुपमा बस राख्ने गरिएकोले एकातिर ट्राफिक व्यवस्थापनको समस्या बढेको छ भने अर्कोतिर बजारमा वायु प्रदूषण बढेकोले पार्क निर्माण गरी यथाशीघ्र समस्याको समाधान गर्नु पर्ने माग ज्ञापनपत्र मार्फत गरिएको छ ।

राजविराजका नगर प्रमुख शम्भुप्रसाद यादवलाई ज्ञापनपत्र बुझाउंदै अविलम्ब बस पार्कको निर्माण कार्य सम्पन्न नगरिए थप सशक्त आन्दोलन गर्न बाध्य हुने समितिले चेतावनी समेत दिएको छ । पटक–पटक शिलान्यास भएको राजदेवी बस पार्क अहिले सम्म निर्माण कार्य नहुनु दुर्भाग्यपूर्ण रहेको समितिको ठहर छ वि.स.२०४४ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले शिलान्यास गरेको राजदेवी बस पार्क २०४६,२०५२ सालमा र पछिल्लो समयमा २०७४ साल पुस ९ गते शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र राजविराज न.पा. का मेयर शम्भु यादवद्वारा संयुक्तरुपमा शिलान्यास गरिएको थियो ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *