२५ मंसिर २०७८/राजधानी
नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि समूहगत रुपमा उम्मेदवारी दिने तयारी भइरहँदा शेखर कोइरालाको समूहमा डा. मिनेन्द्र रिजाल र गगनकुमार थापा पनि जोडिएका छन्। डा. रिजाल र नेता थापा महामन्त्रीको उम्मेदवार बन्ने तय भएको स्रोतको भनाइ छ।सभापतिमा शेखर कोइरालाको नेतृत्वमा ती नेताहरुलाई सँगै लग्ने गरी समूह बनाएको छ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको एक दिन मात्र बाँकी रहँदा सभापतिका आकांक्षीले आआफ्नो प्यानल निर्माण गर्न सकेका छैनन्।

शुक्रबार रातिसम्म सभापतिका आकांक्षीहरू पदाधिकारीको टुंगो लगाउने कसरतमा जुटेका छन्। तर कुनै पनि पक्ष पदाधिकारीको टुंगो लगाउन असफल भएका हुन्। निर्वाचन कार्यतालिकाअनुसार शनिबार बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवार मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरिएको छ। तर सभापतिका आकांक्षीले आफ्नो समूहको नाम रातिसम्म बाहिर ल्याउन सकेका छैनन्। दोस्रो कार्यकालका लागि सभापतिको प्रत्याशी बन्ने घोषणा गरेका देउवाको समूहबाट उपसभापतिमा पूर्णबहादुर खड्का उम्मेदवार बन्ने निश्चित भएको छ। तर अर्को एक उपसभापतिमा कसलाई अघि सार्ने भन्ने अझै निश्चित भएको छैन। देउवा उपसभापतिमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला वा संस्थापन इतरका नेतालाई समेटेर आफ्नो जितलाई सुनिश्चित गर्ने रणनीतिमा छन्। सिटौलाले उपसभापतिको उम्मेदवार नबन्ने बताउँदै आएका छन्।

वडा अधिवेशनदेखि नै देउवा समूहप्रति लचिलो बनेका सिटौलाले महामन्त्रीमा प्रदीप पौडेलको नाम अघि सारेका छन्। सिटौला समूहलाई आफ्नो पक्षमा पार्न देउवा प्रदीपलाई महामन्त्रीको उम्मेदवार बनाउन सकारात्मक भएका छन्। पार्टीको महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुनुपूर्व देउवा र सिटौलाबीच प्रदीपलाई महामन्त्रीको उम्मेदवार बनाउने समझदारी बनेको निकट स्रोतको दाबी छ।

देउवा समूहबाट नै महामन्त्रीमा प्रकाशशरण महत, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र एनपी साउद आकांक्षी छन्। महामन्त्रीका आकांक्षीमध्ये महत वा अर्को नेतालाई उपसभापतिको उम्मेदवार बनाउनसक्ने निकटहरूको दाबी छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.