८ पुस २०७८
नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ निर्वाचित भएका छन्। बुधबार राति प्रदेश नेतृत्वका लागि निर्वाचन भएको थियो।
प्रदेश कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङले १ सय ६९ मतका साथ विजयी भए। उनका प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै प्राप्त गरे भने अध्यक्षमा ७ मत बदर भएको थियो। नेम्वाङ अर्थमन्त्री जर्नादन शर्माका स्वकीय सचिव हुन्।
त्यस्तै, ३ जना उपाध्यक्षहरुमा देवान चाम्लिङले १ सय २०, शिवकुमार डाँगीले १ सय १३ र मणिकुमार साम्पाङले १ सय ११ मत प्राप्त गरी विजयी भए। सचिव पदमा गणेश उप्रेतीले १ सय ४८ मतका साथ विजयी बने। यस्तै ३ जना सहसचिवहरुमा कुमारी राईले १ सय १४, सागर किराँतीले ७३ र ऋषिराम ढुंगाना ९५ मत प्राप्त गर्दै विजयी भए।
कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी बन्दना झाँगडले ५७ मत प्राप्त गरिन्।३ उपाध्यक्ष पदका लागि साम्पाङ, डाँगी र चाम्लिङसहित भोगेन्द्रप्रसाद यादव, पुरुषोत्तम चुँडाल, उर्मिला तामाङ, इन्दिरा मिश्र र मोहनबहादुर खत्रीले प्रतिस्पर्धामा उत्रिएका थिए। ३ जना सहसचिव पदका लागि भने १३ जनाको उम्मेद्वारी परेको थियो।
जसमा ऋषिराम ढुंगाना, कुमारी राई र सागर राई विजयी बने। राजु आचार्य, सन्तोष थारु, हर्क लावती, निशान्त शर्मा, विजय प्रकाश बनेम, ठमनाथ पराजुली, कृष्ण जिमी, दिलकुमार राई र तेजमान कन्दङ्वा पराजित भए। १ जना कोषाध्यक्षका लागि गगनसहित ४ जनाको उम्मेदवारी परेको थियो। जसमा मदनकुमार चुँडाल, रामकुमार कार्की र बन्दना झाँगड रहेका थिए।
९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २ सय ४० जनाले मतदान गरे भने २९ जनाको उम्मेदवारी परेको थियो। १९ जना मतदान गर्न अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ। मंसिर २५ र २६ गते भएको प्रदेश अधिवेशनले २ सय ५९ जनाको कार्य समिति सर्वसम्मतिले चयन गरेको थियो।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।