९ पुस २०७८ शुक्रबार /जनकपुरधाम ।
प्रदेश २ को नामकरणका लागि विहीबार ४ प्रस्ताव पेश भएको छ ।
प्रदेश नामको सवालमा सत्तारुढ दलहरु विभाजित रहे पनि प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले सरकारको नेतृत्व गरिरहेको दल जनता समाजवादी पार्टी(जसपा) को पक्षमा उभेको छ । जसपा र लोसपाले प्रदेशको नामकरण ‘मधेश प्रदेश’ गर्नुपर्ने प्रस्ताव प्रदेश सभामा दर्ता गरेका छन् ।तर सत्तासाझेदार नेपाली कांग्रेसले ‘मिथिला–भोजपुरा’ र अर्को सत्तासाझेदार नेकपा (एकिकृत समाजवादी)ले ‘जानकी प्रदेश’ नामकरण गर्न प्रस्ताव पेश गरेका छन् । नेकपा एकीकृत समाजवादीको प्रस्तावमा भने नेकपा एमालेले पनि समर्थन जनाएको छ । बोलचाल समेतको अवस्थामा नरहेको एकीकृत समाजवादी र एमाले प्रदेशको नामकरण जानकी गर्न एकजुट भएका छन् । एकीकृत समाजवादीको तर्फबाट दर्ता गरिएको प्रस्तावलाई नै एमालेले समर्थन जनाएको हो । तर कांग्रेसका सभासद राजेश्वर प्रसाद साहले ‘मध्य मधेश’नाम राख्नु पर्ने प्रस्ताव दर्ता गराएका छन् । प्रदेश सभा सचिवालयका अनुसार २०७६ सालको चैत १० गते नामकरणका लागि प्रदेश सभाबाट अस्वीकृत भएकै नामको प्रस्ताव फेरि टेबुल भएको छ । जसपाका तर्फबाट शैलेन्द्रकुमार यादव, कांग्रेसका तर्फबाट शिवचन्द्र चौधरी, माओवादी केन्द्रका तर्फबाट भरत साह र एकीकृत समाजवादीका तर्फबाट प्रमोदकुमार यादवले प्रस्ताव टेबुल गरेको प्रदेश सभाका सचिव रञ्जित यादवले जनाए ।

प्रदेशको स्थायी राजधानी र नाम तोक्न प्रदेशसभाको दुई तिहाइ बहुमतबाट पारित हुनुपर्ने संवैधानिक प्रावधान छ । माओवादी केन्द्रले ३ जना सभासदको पद समाप्त गरिदिएपछि हाल प्रदेशसभामा सभामुखसहित १ सय ४ जना छन् । २ तिहाइको संख्या पु¥याउन ७० जनाको समर्थन चाहिन्छ । प्रदेश सभामा जसपाको ३९, लोसपाको १६ र माओवादी केन्द्रका ८ समेत ६३ जना रहेका छन् । नेपाल संघीय समाजवादी पार्टीले समेत जसपालाई समर्थन गर्ने जनाएकाले ६४ जना पुगेका छन् ।यसमा सभामुखले मतदान गर्न पाउने छैनन् ।मधेश प्रदेशको पक्षमा ६३ जना सभासद रहेकाले अझै ७ जनाको समर्थन जुटाउन सके प्रस्ताव दुई तिहाईले पारित हुन सक्छ ।तर त्यो सहज भने छैन् । प्रदेशको नामकरणको प्रस्ताव टेबुल भए पनि स्थायी राजधानीको प्रस्तावमाथि छलफल भएको सचिव यादवले जनाए ।२०७८ साल वैशाख १० गते नै टेबुल भएको राजधानी सम्बन्धी प्रस्ताव छलफलमा गएको छ ।शुक्रवार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा नामकरण सम्बन्धी प्रस्ताव उपर छलफल हुनेछ । प्रदेशको नामकरणका लागि नेकां र एकीकृत समाजवादीले लचकता नदेखाए प्रदेशको स्थायी राजधानी पनि पास हुन कठिन छ । पहिलो पटक प्रदेश सभामा नाम र स्थायी राजधानीको प्रस्ताव प्रस्तुत हुँदा दुबै फेल भएको थियो ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *