१३ पुस २०७८
कोरोना भाइरस संक्रमणले पर्यटन क्षेत्र थलिएको झन्डै दुईवर्ष हुन थाल्यो। यो बीचमा दुईपटकसम्म लकडाउनको मार खेप्नुपर्दा पर्यटन क्षेत्र झनै कमजोर बन्न पुग्यो। कोरोना संक्रमणले थला परेको पर्यटन क्षेत्र अझै उठ्न सकेको छैन। त्यसको उदाहरण हो–प्याराग्लाइडिङका झन्डै एकदर्जन कम्पनिले अझै व्यवसाय सुचारु नै गर्न सकेका छैनन्।

व्यवसाय सुचारु गर्न नसकेका ती प्याराग्लाइडिङ कम्पनि बन्द भए सरहको अवस्थामा रहेका छन्। कर्मचारी, कार्यालय, सवारी व्यवस्थापन सहित विभिन्न निकायमा नवीकरण बापत वर्षमा ठुलो रकम तिर्नुपर्ने र खर्चबापतको रकम कमाई हुने अवस्था नभएपछि कम्पनि नै संचालन नगरि बसेको व्यावसायीले बताएका छन्। व्यवसाय सुचारु गर्नुभन्दा बन्द गर्दा कम घाटा हुने भएकाले सेवा रोकेको उनीहरुले बताएका छन्।

नेपाल ह्याङग्लाइडिङ एण्ड प्याराग्लाइडिङ एशोसिएसनका महासचिव शैलेन्द्र रावतले कोरोना संक्रमणका कारण पहिलो लकडाउन सुरु भएपछि बन्द रहेको कम्पनि पुनः सुचारु गर्न नसकेको बताए। रावतले हिमालयन फ्रन्टियर्स नामको प्याराग्लाइडिङ कम्पनि संचालन गरेका थिए। विदेशी पाहुना नरहेको र आन्तरिकको भरमा मात्र उडान गर्दा खर्चै धान्न सक्ने अवस्था नरहेकोले उडान नै सुचारु नगरेको उनले बताए। ‘कोरोना संक्रमण सुरु भएपछिको पहिलो लकडाउनपछि मैले कम्पनि बन्द गरेको हुँ, त्यसपछि अहिलेसम्म संचालनमा ल्याएको छैन,’ रावतले भने।

पहिलो चरणको लकडाउन खुलेपछि प्याराग्लाइडिङ उडान सुचारु भएपनि सस्तो मुल्यमा सेवा दिनुपर्दा खर्च धान्न सक्ने अवस्था नदेखेपछि उडान नथालेको उनले बताए। ‘पहिलो चरणको लकडाउनपछि उडान त सुरु भयो, तर, सस्तोमा सेवा दिनुपर्दा खर्च धान्न सक्ने अवस्था रहेन। त्यसपछि बन्द गरेर राखेको हुँ,’ रावतले भने, ‘बाहिरबाट हेर्दा उडान गर्दा राम्रो कमाई हुने देखिन्छ। तर, संचालन खर्च बढी हुने गर्छ। खर्च धान्न उत्ति सहज छैन।’ पहिलो चरणको लकडाउन खुलेपछि उडान सुरु गर्दा धेरै पाइलटले ग्लाइडर जुटाउन नसक्दा पनि समस्या परेको उनले सुनाए।

‘व्यवसाय संचालन गर्दा महिनामा २ लाख हाराहारीमा नोक्सान थियो। बन्द गरेपछि वर्षमा २ लाख मात्र घाटामा छ, अहिले कमाउने अवस्था पनि छैन,’ उनले भने। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि बल्ल प्याराग्लाइडिङ उडान गर्ने ठाउँको टुंगो लाग्ने भएकोले त्यसपछि मात्र उडान सुरु गर्ने उनले बताए। निर्माणाधिन विमानस्थल संचालनमा आएपछि पोखराको आकाशमा हाल उडान भईरहेको प्याराग्लाइडिङ बिस्थापित हुने त्रास रहेकोले पनि व्यवसाय सुचारु गर्न नसकिएको उनले बताए।

नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीका अनुसार पोखरामा प्याराग्लाइडिङका ६० कम्पनि दर्ता भएर यसअघि सेवामा थिए। तर, अहिले करिब एकदर्जन कम्पनिले उडान रोकेका छन। भण्डारीका अनुसार प्याराग्लाइडिङ कम्पनिले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा वर्षेनी नवीकरण गर्नुपर्छ। प्राधिकरणमा नवीकरण गर्दा हरेक कम्पनिले वर्षमा ८४ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ। त्यस्तै पोखरा महानगरपालिकामा २५ हजार रुपैयाँ हरेक वर्षे तिर्नुपर्छ। उडान र अवतरणस्थलको शुल्क पनि वर्षमा करिब २ लाख हरेक कम्पनिले बुझाउनुपर्छ। त्यसबाहेक पर्यटन मन्त्रालयमा ४ वर्षको अन्तरमा ५० हजार रुपैयाँ शुल्क तिर्नुपर्छ। नियमित र नवीकरण शुल्क बाहेक कार्यालय, कर्मचारी, सवारीको खर्च पनि महंगो पर्ने गरेको छ।

‘वार्षिक नवीकरण शुल्क पनि महंगो छ। त्यस्तै कार्यालय व्यवस्थापन खर्च पनि उत्तिकै छ,’ अध्यक्ष भण्डारीले भने, ‘खर्च धान्न सक्ने अवस्था छैन। थोरै आम्दानीमा काम गर्नुपर्दा कम्पनिले खर्च धान्न सकेका छैनन।’ लेकसाइडमा कार्यालय राख्दा एउटै सटरको मासिक कम्तिमा करिब ५० हजार रुपैयाँ भाडा पर्छ। त्यस्तै कर्मचारी, गाडी, इन्धन, टेकअफ र ल्याण्डिङमा पनि कर्मचारी राख्दा प्याराग्लाइडिङ व्यवसाय निकै नै खर्चिलो रहेको उनले बताए।

‘बाहिरबाट हेर्दा प्याराग्लाइडिङमा आम्दानी राम्रो देखिन्छ। तर, यसको संचालन खर्च बढी छ,’ उनले भने, ‘कम मुल्यमा सेवा दिनुपर्दा व्यवसायीले संचालन खर्च पनि धान्न सक्दैनन। ग्लाइडर पनि जुटाउनुपर्दा झनै महंगो छ।’

सस्तोमा सेवा दिएर व्यवसाय संचालन गर्नुपरेकोले कोरोनाको यो अप्ठेरोपछि व्यवसायीले व्यवसायलाई निरन्तरता दिन नसकेको अध्यक्ष भण्डारीले बताए। उनका अनुसार एउटै कम्पनिले कम्तिमा डेढ करोड रुपैयाँ लगानी गरेर कम्पनि खोलेका हुन्छन। तर, आम्दानी भने कम रहेको छ। कोरोनापछि डेढदर्जन कम्पनि पुनः सुचारु हुनै सकेनन। खर्च धान्न नसकेरै कम्पनिले सेवा रोकेका हुन,’ उनले भने। कुनैपनि प्याराग्लाइडिङ कम्पनिको पर्यटन मन्त्रालय नवीकरण फेल भएमा पूर्ण रुपमा खारेज हुन्छ। हरेक चारवर्षमा मन्त्रालयमा नवीकरण गर्नुपर्छ। मन्त्रालयको अवधि रहेसम्म उडान नगरेपनि प्राधिकरणमा भने वर्षेनी नवीकरण गरे सेवामा फर्किन सकिने प्रावधान रहेको उनले सुनाए।

पाइलटलाई ६० प्रतिशत कमिसन

प्याराग्लाइडिङ व्यावसायीका अनुसार पोखराको आकाशमा प्याराग्लाइडिङ उडान गर्ने पाइलटले यात्रुले तिरेको शुल्कको ६० प्रतिशतसम्म रकम लिन्छन। कतिपय कम्पनिका संचालक आफै पनि पाइलट छन् भने कतिपयले अरु पाइलटको भरमा मात्र व्यावसाय गरिरहेका छन्। हवाई खेलकुद संस्थाका अध्यक्ष भण्डारीका अनुसार पाइलटको सिकाई महंगो पर्ने भएकोले पनि बढी कमिसन दिएर भएपनि काम लगाउनुपरेको छ।

‘पाइलटको सिकाई महंगो छ। त्यबाहेक पाइलटले नै चूनौती बेहोर्नुपर्ने भएकोले ६० प्रतिशत रकम पाइलटले पाउँछन,’ उनले भने, ‘बाँकी ४० प्रतिशत रकमबाट व्यावसायीले कम्पनि संचालन गर्ने हो। त्यही भएर संचालन खर्च जोहो गर्नै सकस छ।’ अहिले आधाघण्टा उडान गर्दा आन्तरिक पाहुनाले ६ हजार रुपैयाँ तिर्छन। पाइलटले ६ हजारबाट ६० प्रतिशत कमिसन लिन्छन। पाइलटले लिने कमिसनबाहेक ग्लाइडरको शुल्क पनि व्यावसायी आफैले बेहोर्नुपर्छ। पाइलटले आफ्नो ग्लाइडर प्रयोग गरेमा त्यसको भाडा तिर्नुपर्ने र पाइलटले नल्याएमा व्यवसायी आफैले ग्लाइडर खरिद गर्नुपर्ने अध्यक्ष भण्डारीले बताए। एकसेट नयाँ ग्लाइडरको करिब सातलाख रुपैयाँ पर्छ।

सडक महोत्सवमा ३३ प्रतिशत छुट

अंग्रेजी नयाँवर्षको अवसरमा आयोजित पोखरा सडक महोत्सवको अवसर पारेर पोखराको आकाशमा हुने प्याराग्लाइडिङमा ३३ प्रतिशत छुट दिने व्यवसायीले घोषणा गरेका छन। यो छुट क्रिसमसदेखि जनवरी पहिलोसातासम्म लागु हुने नेपाल हवाई खेलकुद संस्था (एनएए) का अध्यक्ष भण्डारीले जानकारी दिए। ‘जनवरी पहिलो सातासम्म सबै आन्तरिक पाहुनाले ४ हजार रुपैयाँमा प्याराग्लाइडिङ उडान गर्न पाउनेछन। यो शुल्कले आधाघण्टासम्म आकाशमा उड्न पाउनेछन,’ उनले भने, ‘पोखरा आएका आन्तरिक पाहुनालाई प्याराग्लाइडिङमा आकर्षण गर्न छुट दिइएको हो।’ संचालनमा रहेका कुनैपनि कम्पनिबाट पाहुनाले छुट लिनसक्ने उनले बताए।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.