२०७८ पुष १३ गते
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको सरगर्मी बढिरहेको छ । कुनै बेला साम्यवादको रुमानी सपना बोकेर होमिएका नेता-कार्यकर्ता महाधिवेशनमा भाग लिन काठमाडौं कमलादीको राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हाजिर छन् ।
महाधिवेशन प्रतिनिधिको भीडमा जनयुद्ध लडेका र नलडेका दुवैथरी नेता-कार्यकर्ता मिसिएका छन् । माओवादी प्रतिनिधिको यो मेलामा दौडधूप गर्नेहरूको भीडमा भेटिइन्- रुकुम पश्चिमकी वृक्षा उखेरा ।
युद्धले उनको खुट्टा खोसेर लग्यो । उनी बैसाखीको सहारामा सुस्त-सुस्त यताउता गरिरहेकी हुन्छिन् । जाडो छ, न्यानोको खोजीमा घाम तापिरहेकी छिन् । घामको रापले सेलाएको तनलाई त तताउँछ, तर चिसिएको मनलाई केले तताउला ?
जनताको शासन ल्याउने सपना बोकेर युद्धमा सहभागी उखेरा महाधिवेशन प्रतिनिधि भने होइनन् । पार्टीले उनलाई प्रतिनिधि बनाउन योग्य नदेखे पनि शरीरका अंगहरू र बैंसालु उमेर समर्पित गरेको पार्टीको महाधिवेशनमा नआइरहन उनको मनले मानेन ।
शरीरलाई गति दिन बैसाखीको सहारा लिन्छिन् उखेरा तर मनलाई गति दिने केही विचार, केही ऊर्जाको खोजी गर्दै उनी महाधिवेशन स्थलसम्म आइपुगेकी हुन् ।
रुकुम पश्चिमबाट अधिवेशनमा सहभागी हुन काठमाडौं आउन सजिलो त थिएन । युद्धले घाइते बनाएको शरीरको उपचार गर्न उनी विगत दुई महीनादेखि काठमाडौंमै छिन् । यही मौकामा उनी बिथोलिएको मनको उपचार खोज्न प्रज्ञा भवन आइपुगेकी हुन् ।
घाम गतिमा छ, छायाँले छोपिहाल्छ । उनी ताप खोज्दै ठाउँ सरिरहन्छिन् । किनकि युद्धले चिथोरेको शरीरको दुःखाइ घामको तापले अलि कम हुन्छ ।
त्यसो त, मनलाई तताउने उनको जीवनको घाम कैयौं वर्षअघि नै अस्ताइसक्यो । अब त यही सूर्यका किरण मात्रै बाँकी छन्, जो खुशी लिएर आउँछन्, अनि पीडा दिएर अस्ताउँछन् ।
‘घाइतेलाई थप घाइते नबनाऊ’
चप्पल लगाएर काठमाडौं छिरेका नेता प्राडो अनि पजेरोमा भेटिन्छन्, तर जनयुद्धका घाइतेले एक थान बैसाखी पाउन पनि मुश्किल छ, कस्तो विडम्बना !
महाधिवेशनमा आउनुका पछाडि केही कारण छन् । आफू र आफू जस्तै हजारौं घाइते अपाङ्गको पक्षमा महाधिवेशनले बोलोस्, बुझोस् र सुनोस् भन्ने चाहन्छिन् उखेरा ।
‘खुशी लुटिएको त वर्षौं भइसक्यो, अब बाँच्ने आधार खोज्दैछु’ मलिन स्वरमा उखेरा भन्छिन्, ‘देश, जनता र परिवर्तनका लागि भन्दै ज्यानको ख्यालै नगरी युद्ध मैदानमा हाम फाल्यौं तर अहिले घर न घाटका भयौं ।’ यस्तो लाग्छ, माओवादीले युद्धका घाइतेलाई थप घाइते बनाइरहेछ । मल्हम होइन, पीडा थपिरहेछ ।
उखेरा एकप्रकारको अप्ठेरोमा छिन्, खुशी हुने कि दुःखी हुने भनेर । आफूहरूकै योगदानले देशमा गणतन्त्र आएको छ, विभिन्न राजनीतिक परिवर्तन भएको छ । अलिकति खुशी हुने बहाना पनि छ । तर, आफ्नै जीवन जस्तै क्रान्तिकारी पार्टी र आन्दोलन नै बैसाखीमा उभिएको छ ।
‘परिवर्तनका लागि लड्ने योद्धा जहाँ थिए, त्यहीं छन् । उनीहरूको हालत झन् खराब भएको छ, तर नेताहरू बंगला अनि चिल्ला गाडीमा छन्’, उनले गुनासाका पोका फुकाइन् ।
राहतको आशा, हात लाग्यो निराशा
२०६२ सालमा युद्धका क्रममा ढाड र खुट्टामा गोली लागेकी उनले १५ वर्ष बित्दा पनि राहत पाएकी छैनन् । बन्दूक बोकाउने नेताहरू सत्तामा उक्लिए तर वृक्षाले राहतका लागि जति संघर्ष गरे पनि कुनै नतिजा हात पार्न सकिनन् ।
‘हामीलाई हिंड्न खुट्टा समेत छैन, नेताहरू घर, बंगला, गाडीका साथै करोडौंका मालिक भए, घाइतेले राहतसम्म पाएका छैनन्’, उनले मन अमिलो पार्दै भनिन् । चप्पल लगाएर काठमाडौं छिरेका नेता प्राडो पजेरोमा भेटिन्छन्, तर जनयुद्धका घाइतेले एक थान बैसाखी पाउन पनि मुश्किल छ, कस्तो विडम्बना !
उनी भन्छिन्, ‘समाज, आफन्त घरपरिवारका लागि घृणाका पात्र त भयौं, भयौं पार्टीले समेत घृणाका पात्र नबनाओस् । हाम्रो सहनशीलताको परीक्षा नलेओस्, धैर्यको बाँध नफुटोस् !’
युद्धको बेला समाज रूपान्तरणको अभियानमा वृक्षाले केसम्म गरिनन् । एक सातासम्म्ा खाना नपाउँदा जंगलका हरिया पात निमोठेर चपाइन्, तिर्खा मेट्न आफ्नै पिसाब समेत पिइन् ।
‘खाना नपाउँदा हरिया पात खाएर युद्ध गरें, पानी नपाउँदा आफ्नै पिसाब पिएर लडें, महीनावारी हुँदा प्याड नपाएर स्याउलाका पातले काम चलाएँ, सुनाऊँ भने पीडाका पहाड, दुःखका भारी छन्’, उनले पीडादायी यादहरूको एउटा पाप्रो उप्काइन् ।
पार्टीका लागि घर-परिवार, जीउ-ज्यान भनिनन् उनले । यो नेताहरूले दस्तावेजमा थोपर्ने दाबी र भाषणमा गर्ने जिकिर जस्तो होइन । प्रमाणस्वरुप उनको घाइते शरीर नै हाजिर छ । गोलीले प्वाल पारेको ढाड रहे पनि गोलीले उडाएको दायाँ खुट्टा भने छैन ।
बाध्यात्मक विद्रोह
२०४० सालमा पश्चिम रुकुम साबिकको बाफिकोट गाउँपालिका-२ मा जन्मिएकी हुन्, वृक्षा । तत्कालीन माओवादीले सशस्त्र युद्ध शुरु गर्दा उनी १० कक्षामा पढिरहेकी थिइन् । उनको तातो रगतले परिवर्तन र बदलाव खोजिरहेको थियो ।
माओवादीले युद्धको घोषणा गरेपछि रुकुम पश्चिमले निकै दुःख पायो । किनकि रुकुम माओवादीको आधार क्षेत्र र जन्मथलो दुवै थियो ।
युद्धको घोषणा भएपछि रुकुमवासीका दुःखका दिन शुरू भए । एकातिर रुकुम माओवादीको गढ भएकाले सरकारी पक्षले दुःख दिन थाल्यो भने अर्कातिर माओवादीले परिवर्तनका लागि लड्नुपर्छ भन्दै आन्दोलनमा लैजाने र नगए तर्साउने गर्न थाले ।
छिङ माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्दै गर्दा एक दिन सरकारी पक्षले तीन जना शिक्षकलाई माओवादी करार गर्दै गोली ठोक्यो । सरकारी पक्षले शिक्षकलाई मात्रै मारेन, विद्यार्थीलाई समेत निशाना बनायो ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।