२०७८ पुष १४
लहान ।सिरहा जिल्लामा कफ्र्यु तोडेर मंगलवार प्रदर्शन भएको छ ।स्थानीय प्रशासनले बिहान ५ बजेदेखि कफ्र्यु आदेश जारी गरे पनि प्रदर्शनकारीहरुले विरोध जुलुस गरेका छन् ।

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले मंगलवार साँझ जारी गरेको विज्ञप्तिमा कफ्र्यु आदेश हटाइएको उल्लेख गरिएको छ । जनमत पार्टीले ३ दिनदेखि जारी राखेको बन्द हड्तालका कारण सर्वसाधारण जोखिममा परेको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले बुधवार बेलुका ७ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । सिरहाको औरही गाउँपालिकाले गहुँको बीउ बाँड्न ढिलाइ गरेको भन्दै किसानहरूले गाउँपालिकाको गोदामबाट गहुँ लुटेका थिए ।सो अभियोगमा प्रहरीले किसानलाई पक्राउ गरेको भन्दै जनमत पार्टीले सिरहा बन्द आह्वान गरेको थियो । त्यस क्रममा प्रदर्शनकारीहरुले ट्रकमा आगजनी र कयौं सवारीमा तोडफोड गरेका थिए । जनमत पार्टीले केही दिनदेखि सिरहा जिल्लामा गरिरहेको आमहड्ताल र चक्काजामका कारण सर्वसाधारणमा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी मंगलवार बिहान ५ बजे देखि बुधवार बेलुका ७ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको थियो । तर सिरहाका विभिन्न राजनीतिक दलहरुले संयुक्त विज्ञप्ति जारी गर्दै संवादको वातावरण बनाउन कफ्र्यु हटाउन माग गरेका थिए ।सर्वदलीय आग्रह अनुसार कफ्र्यु आदेश हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ट्रकमा आगजनी लगायत सवारी साधनमा तोडफोड गरेको अभियोगमा प्रहरीले जनमत पार्टीका १८ जनालाई पक्राउ गरेको छ ।जनमत पार्टीले उनीहरुको बिना शर्त रिहाईको माग गरेको छ । राजनीतिक दलका नेताहरुले पक्राउ परेकाहरुलाई रिहा, बन्दहडताल फिर्ता, कफ्र्यु फिर्ता लिनु पर्ने दवाव दिएका छन् ।कफ्र्यु आदेश फिर्ता लिए पनि जनमत पार्टीले भने विरोधको कार्यक्रमहरुलाई बिस्तार गरेको छ ।बुधवार धनुषा जिल्लामा पनि बन्दको घोषणा गरेको छ । यसैगरी सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलवास क्षेत्रमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएपछि स्थिति नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले मंगलवार निषेधाज्ञा जारी गरेको छ । ईश्वरपुर नगरपालिकाका वडा नं ४, ५, ६, ८ र ९ लाई घेराहाली निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जनाए । प्रहरीको भ्यानको ठक्करले आईतवार राती स्थानीय एकजना व्यवसायी रामकुमार महतोको मृत्यु भएको थियो ।तर प्रहरीले महतो सवार मोटरसाइकलले ट्रकलाई उछिन्ने क्रममा प्रहरीको जीपमा ठोक्किएको दावी गरेको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *