१५ पुस २०७८
विश्वले यो महिना कोभिड–१९ महामारी लगभग समाप्त भएको अवसरमा खुसियाली मनाउन सक्थ्यो। तर खोपमा रहेको रंगभेद र न्यून उत्पादनका कारण कोरोना भाइरस अझै बेरोकटोक फैलिरहेको छ।कोभिड–१९ खोपले प्रयोग अनुमति पाएको १ वर्ष पूरा भएको छ। खोपको विकासले यो रोगबाट मानिस मुक्त हुन सक्ने अपेक्षा गरिएको थियो।

अत्यन्त तीव्र गतिमा सुरक्षित र प्रभावकारी खोप विकास गरेर वैज्ञानिकले आफ्नो भूमिका निर्वाह गरे पनि सबैलाई खोप पुर्‍याउन विश्वका नेता असफल रहे। जनस्वास्थ्यविज्ञ, विकासोन्मुख देशका सरकार तथा पिपुल्स भ्याक्सिन एलायन्सले विश्वका अधिकांश स्थानमा खोप पहुँचको न्युनताले नयाँ प्रजाति विकास हुन सक्ने र महामारी लम्बिन सक्ने चेतावनी लगातार दिँदै आएका थिए।

हाम्रो तर्क पनि के थियो भने विकासोन्मुख देशलाई आफ्नैे खोप उत्पादनमा सक्षम पार्न सकेमात्र महामारी अन्त गर्न सहज हुनेछ। खोपको प्रविधिसम्बन्धी अधिकार र रोगको उपचारलाई धनी देशले साझेदारी गर्न हामीले लगातार अनुरोध गरेका हौं। विश्व व्यापार संगठनले यस विषयमा रहेका अवरोध हटाउनुपर्छ भन्ने आवाज बारम्बार उठेको पनि हो। विश्वका भूतपूर्व नेता, नोबल पुरस्कार विजेता, नर्स, न्यायकर्मीलगायत लाखौं जनसाधारणले यो माग उठाएका हुन। तर खोप उत्पादक कम्पनीको दबाबमा धनी देशले कानमा तेल हालेर बसे। खोप उत्पादन गर्न ठूलो स्तरमा सार्वजनिक वित्त उपलब्ध भए तापनि यी कम्पनीले आपूर्ति, वितरण तथा मूल्य निर्धारणमा अझै पनि आधिपत्य जमाएका छन्।

उदाहरणका लागि फाइजर, मोर्डना र बायोएनटेक कम्पनीले कोभिड–१९ खोपबाट प्रत्येक सेकेन्ड १ हजार अमेरिकी डलर मुनाफा लिने गरेका छन्। यसरी मुनाफालाई प्राथमिकता दिँदा विश्वका न्यून आय मुलुकका ४ प्रतिशत जनसंख्याले मात्र खोपका दुवै डोज लगाउन पाएका छन्। यसले यी देशमा नयाँ प्रजाति विकास हुने स्थिति सिर्जना गरेको छ। विश्वमा अहिलेसम्म यो भाइरसका कारण ५० लाख मानिसको मृत्यु भैसकेको छ। कतिपयले मृत्युको यो संख्या अझ धेरै हुन सक्ने आकलन गरेका छन्। विशेषगरी अफ्रिकामा देखिएको यो पीडा आक्रोसमा बदलिएको छ।

अफ्रिकाका एकचौथाइ स्वास्थ्यकर्मीले मात्र खोपको दुवै डोज लगाएका छन् र यही कारण भाइरसका नयाँ प्रजातिको जोखिममा अफ्रिका छ। अफ्रिकी सर्वसाधारणले जस्तै मैले पनि भाइरसका कारण आफन्त र साथीहरू गुमाएकी छु। मेरो घर रहेको देश युगान्डामा आजकल आफन्तले कसैको मृत्य भएमा त्यसलाई सार्वजनिक गर्दैनन्। मृत्युबारे जानकारी दिने कुरा त परै जाओस्। अफ्रिकामा कोभिड–१९ का प्रत्येक सात घटनामध्ये ६ वटाको पहिचान हुन सकेको छैन।

यो नितान्त नौलो कुरा होइन। सन् १९९७ देखि २००६ सम्म अत्यधिक मूल्यका कारण जीवनरक्षक औषधि खरिद गर्न नसक्दा अफ्रिकी देशका १ करोड २० लाख एचआइभी/एड्स संक्रमितले ज्यान गुमाएका थिए। औषधि सर्वसुलभ आपूर्ति हुनुपर्छ भनेर बिरामी, चिकित्सक, धार्मिक नेतासहित नेल्सन मन्डेला जस्ता राजनेताले समेत आवाज उठाएपछि भारत, थाइल्यान्ड, ब्राजिल तथा अन्य देशका सरकार तथा औषधि कम्पनीको अग्रसरतामा एचआइभीको औषधि मूल्यमा ९९ प्रतिशत कमी आएको थियो।

विश्वले यो ऐतिहासिक अन्यायबाट पाठ पढेको भए स्थिति अर्कै हुने थियो। कल्पना गरौँ, विश्वका नेताले खोप निर्मातालाई एक वर्षअघि नै उदारतापूर्वक सहुलियत र अधिकार दिएको भए के हुन्थ्यो ? कल्पना गरौं, अर्बौ डलर बराबरको सार्वजनिक वित्त प्राप्त गर्दा औषधि उत्पादक कम्पनीले खोपको फर्मुला पनि साझेदारी गर्नुपर्छ भन्ने दबाब सिर्जना भएको भए के हुन्थ्यो ? कल्पना गरौँ, धनी देशले विश्वका जहाँकहीँका सक्षम उत्पादकलाई खोप उत्पादकको लागत उपलब्ध गराउन सहमत भएको भए के हुन्थ्यो ? यसैगरी कल्पना गरौँ, खोप उत्पादनमा एकाधिकार राखेका सीमित कम्पनीले केही कारखाना थप्ने सीमित योजनाको ठाउँमा विश्वका सरकारले एक वर्षअघि नै खोप उत्पादन क्षमतालाई यथेष्ट विस्तार गर्न सकेका भए के हुन्थ्यो ?

खोपको प्रविधिमा पहुँचका कारण केही सीमित व्यक्तिले अर्बौ डलर आम्दानी गर्नु र अर्कोतर्फ अर्बौ जनसंख्या असुरक्षित हुनु तथा लाखौं मानिसले रोक्न सकिने मृत्यु वरण गर्नुपर्ने देखिएको छ। यो नैतिकताको संकट हो। हामीले फरक हिसाबले कल्पना गर्न आवश्यक छ जसअन्तर्गत विश्वले सहजरूपमा खोप पाउनेछ, नयाँ प्रजतिको विकास हुने संभावना न्यून हुनेछ र समतामूलक आर्थिक पुनर्उत्थानको दिशामा विश्व अगाडि बढ्नेछ। दोस्रो विश्वयुद्धका बेला अमेरिकी राष्ट्रपति फ्रयान्कलिन रुजबेल्टले जसरी औद्योगिक एकाधिकार अन्त गरेका थिए त्यसैगरी अमेरिकाले खोप उत्पादक कम्पनीको एकाधिकार अन्त गर्न सहयोग गर्न सक्छ।

धनी देशले आफूसँग भएको अत्यधिक खोपलाई अनुदान दिन आवश्यक छ र त्यसलाई अनावश्यक भण्डारण गरेर राख्नु हुँदैन। यसैगरी धनी देशले हालसम्म खोपका मात्रा उपलब्ध गराउने दिशामा आफैंले गरेका प्रतिबद्धता १४ प्रतिशतमात्र पूरा गरेका छन्। उनीहरूले विश्वका आवश्यकता पूरा गर्न अपुग भए पनि कुल १.८ अर्ब डोज खोप उपलब्ध गराउने यसअघि नै घोषणा गरिसकेका छन्। यी देशले खोप खरिदमा सहजीकरण गर्न सक्छन्। अफ्रिकी देश बोत्सवानाले झैँ अन्य अफ्रिकी देश आफैँले खोप खरिद गर्न सक्छन्। धनी राष्ट्रले तिरेको मूल्य भन्दा बढी प्रति मोर्डना डोज खरिदका लागि वोत्सवानाले २९ अमेरिकी डलर तिरेको थियो। तर त्यस्तो गर्दा पनि अधिकांश खोप उत्पादक कम्पनीले खोप पुर्‍याउने आफ्ना प्रतिबद्धता पूरा गर्न सकेका छैनन्।

अनुदानमा तथा परोपकारी हिसाबले खोेप उपलब्ध गराउनु सकारात्मक हो तर यो पर्याप्त होइन। महामारी अन्त गर्न विकासोन्मुख देशले प्रभावकारी र सुरक्षित खोप उत्पादन गर्ने अधिकार राख्छन्। अमेरिकी सरकारले नेसनल इन्स्टिच्युट अफ हेल्थसँगको एक सम्झौतामार्फत मोर्डना खोपको विकासमा सहलगानी गरेको छ। यो प्रसंगमा विश्व स्वास्थ्य संगठनसँग आबद्ध दक्षिण अफ्रिका कोभिड–१९ एमआरएनए हबमार्फत उत्पादन प्रविधिको साझेदारी हुन सकेमा विश्वका योग्य उत्पादकले खोप उत्पादन गर्न सक्नेछन्।

विज्ञले अफ्रिका, एसिया तथा ल्याटिन अमेरिकाका १ सय भन्दा बढी कम्पनी यस्ता खोप उत्पादन गर्न सक्ने बताएका छन्। महामारी अन्त गर्न खोप उत्पादनमा रहेको बौद्धिक सम्पत्ति अधिकारलाई हटाउने विषयमा विश्व व्यापार संगठनमा रहेको प्रस्ताव अगाडि बढाउन आवश्यक छ। यसले औषधि उत्पादक कम्पनीको एकाधिकार अन्त हुनेछ तर औषधि उत्पादक कम्पनीले क्षतिपूर्ति पनि सुनिश्चित हुनेछ।

खोप उत्पादनमा आवश्यक सहुलियत तथा सुविधा नदिएका कारण ओमिक्रोन विकास भएको भन्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको तर्क सही छ। अमेरिकाले आफ्नो कूटनीतिक तथा आर्थिक हैसियतको प्रयोगमार्फत धनी राष्ट्रलाई यो दिशामा अग्रसर हुन दबाब सिर्जना गर्न सक्छ। हामीसँग खेर फाल्नका लागि अर्काे १ वर्षको समय छैन। मात्र सहकार्यले महामारी अन्त गर्न सकिन्छ र लाखौँको जीवन रक्षा गर्न सकिन्छ।

युएनएड्सकी कार्यकारी निर्देशक तथा संयुक्त राष्ट्र संघकी उपमहासचिव। साभार:प्रोजेक्ट सिन्डिकेट

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *