२०७८ पुष १५
शुरुमा जग्गा नै घुस लिएर अनियमितता गरेका कर्मचारीहरुले भ्रष्टाचारसम्बन्धी कानून कसिलो र राज्यसंयन्त्र चनाखो हुन थालेपछि आफ्नो धन्दा त रोकेनन् तर लाभ लिने तौरतरिकामा निकै फेरबदल गरे । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारिएको घटनामा सुरुवाती चरणमा नगदको साटो जग्गा नै घुसको रुपमा लेनदेन भएको भेटिएको छ । सरकारी कागजात कीर्ते भएको आरोपमा चलिरहेको छानविनका क्रममा दुई पूर्व सहसचिव सहित अरु कर्मचारीले घुसका रुपमा जग्गा लिएको फेला परेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका क्रममा उनीहरुले सुवर्णशम्शेर राणाको परिवारबाट आफन्त र नातेदारका नाममा ‘बकसपत्र’ गरी जग्गा लिएको फेला परेको हो ।

‘हामीले अनुसन्धान गर्दै जाँदा कर्मचारी वा जग्गा मिलाउन भूमिका खेल्नेहरुले राणा परिवारबाट जग्गा लिएको र खाएको भेटियो’ व्यूरो स्रोतले अनलाइनखबरसँग भन्यो, ‘त्यस्ता अधिकांश जग्गाका टुक्राहरु कर्मचारी र विचौलियाको भूमिका खेल्नेहरुले आफन्तका नाममा राखे र पछि भूमाफियाहरुलाई दिए ।’

ललिता निवास जग्गा प्रकरणवारे अध्ययन गर्न पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको समितिले शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई भूमाफिया भनी किटान गरेको थियो ।

सीआईबी स्रोतको दावी अनुसार, यसरी जग्गा नै घुस खानेमा गृह मन्त्रालयका पूर्वसहसचिव गेहनाथ भण्डारी पनि एक हुन् । त्यतिबेलाका शाखा अधिकृत भण्डारीले सरकारी जग्गा राणा परिवारको नाममा फिर्ता गराइदिन भूमिका खेलबापत सासु सोदाकुमारी चापागाईको नाममा १० आना र पत्नी भुवन कुमार चापागाईंको नाममा एक रोपनी जग्गा लुकाएर लिए ।

वृद्धावस्थामा रहेकी सोदाकुमारीले अख्तियारमा बयानका क्रममा आफूलाई छोरीले बोलाएर जग्गा दिएको बताएकी थिइन् । ‘छोरीले मलाई बोलाएर जग्गा किन्नुपर्ने भयो भनी कुनै कार्यालय जस्तो स्थानमा लगेर सही गर्न लगाइन् । मैले के हो भन्ने थाहा नै नपाई छोरीको भनाइमा लागेर छोरीले जे भनिन्’ उनले भनेकी थिइन्, ‘केही समयपछि छोरीले नै त्यो जग्गा बेच्नुपर्ने भयो भनिन्, मैले मन्जुरीनामा दिएँ । हाल मेरो नाममा कुनै पनि जग्गा जमिन छैन ।’

सोदाकुमारीकी छोरी तथा गेहनाथकी पत्नी भुवनकुमारीले राणा परिवारबाट आफूले जग्गा किनेको दावी गरेकी थिइन् । र, उनले बयानमा आफूले जग्गा किन्दा पति गेहनाथ राष्ट्रिय योजना आयोगमा शाखा अधिकृत रहेको बताइन् ।

गेहनाथ भण्डारी जस्तै गृह मन्त्रालयकै सहसचिवबाट अवकाश पाएका तत्कालीन शाखा अधिकृत सुधीरकुमार शाह भक्तपुर मालपोत कार्यालयमा शाखा अधिकृत थिए । राणा परिवारसँगको नाता पनि पर्ने उनले ललिता निवासको जग्गा हत्याउने क्रममा पर्दा पछाडिबाट सहयोग गरेको व्यूरो स्रोत बताउँछ ।

निर्वाचन आयोगका पूर्व आयुक्तसमेत रहेका सुधीरकुमारले पत्नी उर्मिला शाहको नाममा एक रोपनी ११ आना जग्गा पाए । गेहनाथ र सुधीरकुमारले सरसल्लाह नै गरेर भुवनकुमारी र उर्मिलाका नाममा संयुक्त रुपमा जग्गा किनिदिएका थिए । करिव १० वर्ष राखेर उनीहरुले २०६० सालमा त्यो जग्गा रामकुमार सुवेदीलाई दिए ।

‘उक्त जग्गा बकस लिखत पारित गरी खरिद गरेको हो’ उर्मिलाले बयानमा भनेकी छन्, ‘मलाई जग्गाधनीसँग भेटाउने व्यक्ति जग्गा दलाल रामनाथ शर्मा हुन् ।’

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *