१५ पुस २०७८
भारतको दुधुवा नेसनल पार्कसँग जोडिएको लालझाडी–मोहना संरक्षित वन तथा लालझाडी मोहना जैविक मार्ग वन्यजन्तुको ओहोरदोहोर गर्ने पुस्तौनी बाटो हो। वन्यजन्तु यही बाटो प्रयोग गर्दै नेपालको मोहना–लालझाडीसम्म पुग्छन्। लालझाडी पुरानो र घना बोटबिरुवा भएको ठूलो जंगल हो। यहाँ वन्यजन्तुको वासस्थानका लागि सुरक्षित मानिनुका साथै उनीहरूको आहारका लागि प्रसस्त सम्भावना पाइन्छ। यही भएर पनि भारतको दुधुवा नेसनल पार्कबाट वन्यजन्तु मोहना हुँदै लालझाडी आउजाउ गर्ने गर्छन्।

पछिल्लो समय नेपालतर्फको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा वन्यजन्तुलाई आवागमन सहज होस् भनेर करिडोर (अन्तर्राष्ट्रिय जैविक मार्ग) मा बसोबास गर्नेहरूलाई जनचेतना जगाउनुका साथै उनीहरूलाई वन्यजन्तुप्रतिको आकर्षण बढाउन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न विभिन्न प्रयास थालिएका छन्। यिनै प्रयासमध्ये एक हो, जडीबुटी खेती।

मोहना जैविक मार्गसँग जोडिएका सामुदायिक वन छेउका बस्तीमा वर्षौंदेखि मानव र वन्यजन्तुबीच द्वन्द्व थियो। जैविक मार्गमै रहेका बस्तीमा किसानले लगाएको अन्नबाली वन्यजन्तुले खाइदिने तथा घरटहरा भत्काइदिन थालेपछि त्यसबाट जोगिन किसानले वन्यजन्तुको चोरी सिकारी गर्नुका साथै पासो थाप्ने गरेका थिए। मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्न थालेपछि सो क्षेत्रमा रहेका सामुदायिक वनले जुक्ति निकाले जडीबुटी खेतीको। वन्यजन्तु आवत–जावत गर्ने मार्गमा रहेका किसानको खेतबारीमा सामुदायिक वनले जडीबुटी खेती गर्न हौस्यायो।

अन्तर्राष्ट्रिय जैविक मार्गमा वन्यजन्तुलाई नेपाल–भारत आउजाउ गर्न सहज होस् र मानव तथा वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न धनगढीसँग सीमा जोडिएको कञ्चनपुरको डोकेबजारस्थित अमर गोकुल सामुदायिक वनका अध्यक्ष तुलसीबहादुर कार्कीले किसानलाई जडीबुटी खेतीतर्फ आकर्षित गरेको बताए। ‘वन्यजन्तुको हिँडडुल गर्ने बाटोमै रहेको बस्तीमा किसानलाई सास्ती नहोस् र मानव तथा वन्यजन्तुबीचको द्वन्द्व कम होस् भनेरै हामीले किसानलाई जडीबुटी खेतीतर्फ आकर्षित गरेका छौं,’ अध्यक्ष कार्कीले भने, ‘हामी वन्यजन्तुलाई सहजता होस् भनेरै उपभोक्ताहरू खेतीपाती छोडेर जडीबुटीमा गनिने क्यामोमाइल, मेन्था र लेमन ग्रास खेती गर्न थालेका छौं।’

यी जडीबुटीमा वन्यजन्तुले क्षति नगर्ने भएकाले मानव र वन्यजन्तुबीचको द्वन्द्व कम भई स्थानीय वन्यजन्तु संरक्षणमा लाग्ने उनले बताए। ‘हामीले वन्यजन्तुलाई आवतजावतमा सहजता होस् भनेरै जडीबुटीमा आकर्षण बढाएका छौं,’ उनले भने, ‘पहिले हामीले क्यामोमाइल खेती पनि गरेका थियौं तर त्यसको तेलले बजार नपाएपछि अहिले मेन्था खेतीमै जुटेका छौं।’ सामुदायिक वनसँग जोडिएका किसानले खेतमा मेन्थाका बिरुवा लगाएमा घरपालुवा तथा वन्यजन्तु कसैले पनि नोक्सानी नगर्ने तथा मेन्था नखाने हुँदा मानव र वन्यजन्तुबीचको द्वन्द्व घट्ने गरेको उनले बताए।

जडीबुटी खेती गरेसँगै प्रशोधन गर्नका लागि सामुदायिक वनलाई तराई भू–परिधि कार्यक्रम कोहलपुरले ३० जना किसानलाई लक्षित गर्दै जडीबुटी प्रशोधन मेसिन उपलब्ध गराएको थियो। सामुदायिक वनमै जडीबुटी प्रशोधन मेसिन आएपछि गाउँमा किसानलाई जडीबुटी खेती गर्नतर्फ झनै हौस्याएको अध्यक्ष कार्की बताउँछन्। ‘किसानले जडीबुटी लगाएर मात्रै भएन, त्यसलाई प्रशोधन गरी तेल निकाल्न मिल्ने मेसिन सामुदायिक वनको कार्यालयपरिसमै जडान भयो,’ उनले भने, ‘मेसिन जडान भएपछि भने किसानलाई जडीबुटी लगाउन र प्रशोधन गरेर निकालिएको तेल महँगोमा बेच्न सजिलो भयो।’

मोहना करिडोरसँग जोडिएको आफूहरूको सामुदायिक वनमा हात्ती, पाटेबाघ, चितुवा, बँदेल, निलगाईजस्ता जंगली जनावर ओहोर दोहोर गर्ने गरेको बताउँदै अध्यक्ष कार्कीले भने, ‘यी जनावर किसानको खेतबारी चाहार्दै कहिले पारि भारततर्फ त कहिले वारि नेपालतर्फ आउजाउ गर्ने गरेका छन्। किसानको खेतबारीमा लगाइएका बालीनाली चर्न थालेपछि मानव र वन्यजन्तुबीचको द्वन्द्व बढेको बताउँदै उनले भने, ‘बालीनाली खाइदिन थालेपछि स्वाभाविकै रूपमा किसानले वन्यजन्तुमाथि आक्रमण गर्ने त कहिले मौका छोप्दै वन्यजन्तुले मानवमाथि आक्रमण गर्ने सिलसिला बढेको थियो, त्यसलाई न्यूनीकरण गर्न हामीले जडीबुटी खेतीको सुरुवात गरेका हौं।’

खेतमा जडीबुटी लगाउन थालेपछि वन्यजन्तुले नोक्सान नगर्ने गरेको बताउँदै किसान मानबहादुर सिंहले भने, ‘पहिले बारीमा लगाइएका तरकारी तथा बालीनालीका बोटहरू सबै खाइदिन्थे, पछि जडीबुटी खेती गर्न थालेपछि भने वन्यजन्तुले नोक्सानी पुर्‍याएका छैनन्।’ अन्य बालीनालीभन्दा दोब्बर बढी फाइदा पनि जडीबुटीबाटै पाउने गरेको उनले बताए। ‘मैले चार कट्ठामा मेन्था खेती गरेको थिएँ,’ उनले भने, ‘चार कट्ठामा गहुँ रोप्दा १२ हजार रूपैयाँ कमाइ हुन्थ्यो भने मेन्थाबाट करिब ५० हजार रूपैयाँ आम्दानी भएको छ।’ मेन्था खेती गर्दा छाडा चौपायाका साथै जंगली जनावरले नष्ट नगर्ने हुँदा यसको सम्भावना राम्रो रहेको उनी बताउँछन्।

उनी मात्रै होइनन्, अमरबस्तीकै अर्का किसान विष्णुप्रसाद चौधरीले पनि चार कट्ठामा मेन्था खेती गरेका छन्। चार कट्ठामा लगाइएको मेन्था खेतीबाट निकालिएको तेल उनले ४८ हजार रूपैयाँमा बेचेका छन्। ‘चार कट्ठामा लगाइएको मेन्था झिकेर तेल बनाएको थिएँ,’ उनले भने, ‘तेल ८ लिटर उत्पादन भयो।’ उनले प्रति लिटर ६ हजार रूपैयाँका दरले ४८ हजारमा मेन्थाको ८ लिटर तेल बेचेको बताए।

सामुदायिक वनसँग जोडिएको जमिनमा बालीनाली लगाउँदा रातभर वन्यजन्तुको जाग्राम बस्नुपर्ने बाध्यता रहेको बताउँदै मेन्था खेतीका अध्यक्ष तथा किसान मानबहादुर चौधरीले भने, ‘हामीले सामुदायिक वनसँगको सहकार्यमा जडीबुटी खेती गर्न थालेपछि जनावरले खेतीपाती खाइदिने डर हराउनुका साथै रातभर जाग्राम बस्नुपर्ने बाध्यता पनि छुटेको छ।’

सामुदायिक वनकिनार क्षेत्रका किसानलाई जडीबुटीमा आकर्षण गरेमा वन्यजन्तु त्यो क्षेत्रमा नजाने गरेको बताउँदै कुण्डा सव डिभिजन कार्यालय पचकडियाका प्रमुख दिनेशकुमार यादवले भने, ‘जंगलीहात्ती हिँडडुल गर्ने क्षेत्रमा जडीबुटी खेती गरिदिए हात्तीले बाटो परिवर्तन गर्छ।’ यसपालिदेखि हात्तीको बाटो रहेको दोधापुल क्षेत्र आसपासका किसानलाई जडीबुटी खेतीमा सहयोग गर्ने लक्ष्य वनको रहेको उनले बताए। ‘दोधापुल क्षेत्र आसपासमा हात्तीले वर्षौंदेखि किसानको बालीनाली क्षति पुर्‍याउँदै आएको छ,’ उनले भने, ‘त्यही भएर त्यो क्षेत्रमा यसपालि जडीबुटी खेती गर्न किसानलाई आकर्षित गरिने छ।’

यसपालि पनि तराई भू–परिधि कार्यक्रमअन्तर्गत सामुदायिक वन समन्वय समितिले पनि जडीबुटी खेतीका लागि अमर गोकुल सामुदायिक वनलाई आर्थिक सहयोग गरेको छ। ‘सामुदायिक वन समन्वय समितिले जडीबुटी खरिदका लागि सहयोग गरेको छ,’ अध्यक्ष कार्कीले भने, ‘त्यही अनुसार नै हामीले जडीबुटीको बिरुवा खरिद गरेर किसानलाई उपलब्ध गराउने तयारी गरेका छौं।’

पछिल्ला दिनमा अन्तर्राष्ट्रिय जैविक मार्गमा पर्ने सामुदायिक वन होस् या राष्ट्रिय वनमा स्थानीयले वन्यजन्तुको संरक्षणका लागि विभिन्न प्रयास गरिरहेको मोहना–लालझाडी संरक्षित वन परिषद्का अध्यक्ष राजबहादुर ऐर बताउँछन्। उनले भने, ‘अन्तर्राष्ट्रिय करिडोरमा पर्ने हामी सबै सामुदायिक वनहरूले वन्यजन्तुको संरक्षणका लागि हरेक प्रयास गरिरहेका छौं।’ वन्यजन्तुले किसानको बालीनाली क्षति पु¥याउने र त्यसबाट मानव–वन्यजन्तु द्वन्द्व बढ्ने हुँदा त्यो कम गर्न सामुदायिक वनले किसानलाई जडीबुटी खेतीतर्फ आकर्षित गर्न थालेको उनले बताए।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.