१७ पुस २०७८ शनिबार
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेकपा एमालेसित मिल्नु अगावै विभाजनको तयारी थालिएको छ ।

उच्चस्रोतका अनुसार प्रतिनिधि सभा विघटनमा सहकार्य सुरु गरेदेखि एमालेसित नजिकिएका अध्यक्ष महन्थ ठाकुरले एमालेसित मिलेर जाने मनस्थिति बनाएका छन् । पार्टी विधान विपरीत निर्णयहरु गर्दै ठाकुरले एकलौटी रुपमा जिल्ला, प्रदेशमा पदाधिकारीहरु मनोनित गरेपछि असन्तुष्टि तीव्र रुपमा बढेको छ । ठाकुर र एमाले अध्यक्ष केपी शर्मा ओली बीच निरन्तर संवाद भइरहेको स्रोतको दावी छ । आगामी चुनाव सम्म लोसपालाई एमालेसित मिलाउने गृहकार्य थालेका ठाकुरसित लोकतान्त्रिक पक्षधरहरु अलग्गिन लागेका हुन् । एमालेसित विगतमा भएको सहकार्यको समेत विपक्षमा रहेका असन्तुष्ट पक्षले दलको विभाजनको अन्तिम तयारी गरिसकेको बताइएको छ । जनता समाजवादी पार्टी (जसपा) बाट अलग्गिएर लोसपा गठन भएको चार महिना भित्रै विभाजनको संघारमा पुगेको छ । लोसपा कार्यकारिणी समितिका सदस्य अनिल कुमार झाले लोकतान्त्रिक पद्धतिमा दल विभाजन सामान्य भएको बताए । ‘लोकतन्त्रमा दलहरु गठन हुनु सकारात्मक नै हो’ उनले भने, लोसपाको विभाजन हुनु पनि अनौठो विषय होइन् । तर उनले एमालेमा लोसपा विलय हुने विषयलाई अस्वीकार गरे । ‘एमालेसित सहकार्य भए पनि विलय हुने बारे कतै कुनै चर्चा छैन्’ उनले भने, विलय हुने कुनै कारण र परिस्थिति छैन् । तर विभाजन हुन सक्ने संभावनालाई उनले नकारेनन् । ‘पार्टीमा असन्तुष्टि हुनु अस्वभाविक हो’ उनले भने, केही नेताहरु असन्तुष्ट देखिएका छन् । दलका नेता समक्ष असन्तुष्टि राखिने अधिकार लोकतन्त्रमा रहेको जनाउँदै उनले भने, पार्टीमा यस प्रकारको गतिविधि असमान्य होइन् ।

अध्यक्ष ठाकुरले जिल्ला र प्रदेशमा पदाधिकारी मनोनयन गरेको विरोधमा केन्द्रीय कार्यालयमा नेताहरुले तीन दिन धर्ना दिएका थिए । उनीहरुले अध्यक्ष ठाकुरलाई निर्णय नसच्याए जिल्ला र प्रदेशमा पार्टी कार्यालय खोल्न नदिने धम्की समेत दिएर फर्केका छन् । ठाकुरको गतिविधिबाट वरिष्ठ नेताहरु राजेन्द्र महतो र शरतसिंह भण्डारी पनि असन्तुष्ट छन् । उनीहरु निकटकै नेता, कार्यकर्ताहरु ठाकुर विरुद्धको मोर्चामा अगाडि देखिएका छन् । महतोले त्यसलाई मलजल गरिरहेको बताइन्छ । पार्टी भित्रको असन्तुष्टि छताछुल्ल भइरहेको बेला ठाकुरका महत्वपूर्ण सहयोगी मानिने बृषेशचन्द्र लाल, डा.विजय कुमार सिंह लगायतले पार्टी छाड्ने अन्तिम चरणमा पुगेको स्रोतहरुले जनाएका छन् । स्रोतहरुका अनुसार लाल र सिंह लगायत ठूलो संख्यामा नेता, कार्यकर्ताहरु विभाजित पार्टीमा लाग्ने छन् । निर्वाचन आयोगमा रविशंकर कुमार कर्ण (सुभाष कर्ण) को अध्यक्षतामा दर्ता भएको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) लाई सक्रिय बनाउने तयारी असन्तुष्ट नेताहरुले गरेका छन् । तमलोपाका लाल , डा.सिंह लगायतका नेताहरु अध्यक्ष ठाकुरसँगैका संस्थापक नेताहरु हुन् ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *