२०७८ पुष २३
,प्रदेश २ को नाम र स्थायी राजधानीको निर्णय हुन नदिन नेपाली कांग्रेस ‘भीलेन’ बनेको छ ।

प्रदेशको स्थायी राजधानी तोक्न पाँचवटा दल सहमत भएर संयुक्त प्रस्ताव राख्न तयार भएको बेला कांग्रेसले प्रदेशको नाममा सहमति जुट्न नदिन नेकपा एकीकृत समाजवादी(एस)र एमालेले राखेको संयुक्त प्रस्ताव जानकीको पक्षमा उभेको छ । प्रदेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी(जसपा)ले धनुषा र महोत्तरी जिल्लाको बृहत् भागलाई सीमा तोकी जनकपुरधामलाई राजधानी र मधेश प्रदेश नाम प्रस्ताव गरेको छ ।त्यसलाई विफल बनाउन सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा एस लागि परेको छ । सत्तारुढ दल जसपाको प्रस्तावलाई प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले समर्थन गरेको छ ।सत्तासीन दल माओवादी केन्द्रले पनि समर्थन जनाएको छ ।तर सरकारमा रहेर पनि कांग्रेस, नेकपा एसले विरोध गरिरहेको छ । प्रदेशको नाम र राजधानीलाई अल्झाएर मधेश केन्द्रित दलको चुनावमा विरोध गर्ने नीति कांग्रेस, नेकपा एस र एमालेले बनाएका छन् ।आगामी चुनावमा मधेशी दलको सरकार रहेको बेला नाम र राजधानी टुंग्याउन नसकेको आरोप लगाउन ती दलहरुले सहज ठानेको जसपाका सभासद सञ्जय यादवले आरोप लगाए । स्रोतहरुका अनुसार कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपा एस संसदीय दलका नेता सत्रुधन महतो र एमालेका सचेतक किशोरी साहबीच विहीबार बिहान भएको गोप्य बैठकमा कांग्रेसले प्रस्ताव गरेको ‘मिथिला– भोजपुरा’नामलाई छाड्ने प्रतिबद्धता जनाउँदै नेकपा एसले राखेको ‘जानकी’ प्रदेशको प्रस्तावलाई समर्थन जनाएका छन् ।

भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता रामसरोज यादवको सरकारी निवासमा भएको महतो र साह समेतको बैठकले प्रदेशको नाममा विवाद गरेपछि राजधानी पनि पास नहुने रणनीति बनाएको स्रोतले जनाए । कांग्रेसका पर्सा जिल्ला सभासद राजेश्वर प्रसाद साहले प्रदेशको नाम ‘मध्य–मधेश प्रदेश’ राख्न जसपा, लोसपा र माओवादी केन्द्रले लचकता देखाएपछि कांग्रेस, एस र एमालेले ‘जानकी मधेश प्रदेश’ नाममा सहमति खोज्ने निर्णय गरेका छन् । कांग्रेसका मन्त्री यादवले ‘मध्य– मधेश प्रदेश’ र ‘मधेश प्रदेश’मा कुनै भिन्नता नरहेको जनाउँदै नेकपा एस र एमालेको जानकीलाई मधेशमा जोडेर राखे सहमति हुन सक्ने बताएका छन् । विशेष समितिको विहीबार बसेको बैठकमा सहभागी कांग्रेस, एस र एमालेका प्रतिनिधिहरुले दलका नेताहरु सहितको बैठक बोलाउन माग गरेपछि कुनै सहमति हुन सकेन् ।विशेष समितिका संयोजक समेत रहेका सभामुख सरोज कुमार यादवको अध्यक्षतामा बसेको सो बैठकमा नाम सम्बन्धी प्रस्तावमा छलफल नगरी सदस्यहरुले नेता सहितको बैठक बोलाउन माग गरेका थिए । सबै दलका नेताहरु सहितको बैठक आइतवार बोलाइएको सभामुख यादवले जनाए ।सभामुख यादवका अनुसार दलहरुबीच सहमति जुटाउने हरसंभव प्रयास भइरहेको छ । प्रदेशको नाममा सहमति नजुटे राजधानीमा जुटेको सहमति पनि टुट्ने जसपाबाट भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले बताइसकेका छन् ।कांग्रेसका राजेश्वर प्रसादले राजधानी वीरगञ्जमा राख्ने प्रस्ताव फिर्ता लिन तयार भएका छैनन् ।

प्रदेशको नाम र राजधानीको विषयमा कांग्रेस पार्टीका सभासदहरु विभाजित छन् । उच्चस्रोतहरुका अनुसार कांग्रेसले ‘जानकी मधेश प्रदेश’मा सहमति एस र एमालेसित सहमति जनाए पनि जसपा र लोसपाले त्यसलाई स्वीकार गर्न चाहे कांग्रेसले फेरि अर्को प्रस्ताव ल्याउन सक्नेछ । ‘प्रदेशको राजधानी र नामकरणमा प्रमुख बाधक कांग्रेसका केही सभासदहरु देखिएका छन्’ जसपाका सभासद अशोक यादवले भने, राजधानीमा सहमति र नाममा विमति जनाउन पाइदैन् ।‘दुबैमा एकै साथ सहमति नभए कुनै प्रस्ताव पारित हुने संभावना छैन्’ उनले भने, जनकपुरधाम राजधानीलाई पारित गरेर प्रदेशको नामलाई अलपत्र छाड्न हुँदैन् ।प्रदेशको नाम र राजधानी तोक्न नसके सभासदहरुलाई आगामी चुनावमा जनतामाझ जान सजिलो नहुने उनले बताए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *