२४ पुस २०७८
नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ, नेपालले पशुपति क्षेत्र भित्र रहेको सार्वजनिक सम्पत्ति अतिक्रमित भएको निष्कर्ष निकाल्दै फिर्ता ल्याई छोड्ने प्रतिवद्धता जनाएको छ।
शनिबार दिउँसो पशुपति क्षेत्र परिसर भित्र बनेको धर्मशालाको अनुगमन गर्न पुगेको युवा संघ, नेपालको टोलीले सो धर्मशाला समेत व्यापारिक प्रयोजनको निम्ति दिने काम गरेको भन्दै त्यसलाई तत्काल रोक्न पनि सरकारसँग माग गरेको छ। त्यसैगरी टोलीले देशभर अतिक्रमित सार्वजनिक सम्पत्ति फिर्ता ल्याउने काममा साथ दिन पनि सबैलाई अपिल गरेको छ।
पशुपति क्षेत्र भित्रको सार्वजनिक सम्पत्ति समेत अतिक्रमित भएकाले त्यसलाई रोक्न आफूहरुले अनुगमनको काम सुरु गरेको संघका अध्यक्ष नरेश शाहीले जानकारी दिए। उनले संघले देशभरका सबै सार्वजनिक सम्पत्तिहरुको दुरुपयोग हुन नदिन अनुसन्धानको काम सुरु गरेको पनि बताए। अध्यक्ष शाहीले नारायणहिटी संग्राहलय, नेपाल ट्रष्ट, रेडियो नेपालको खुमलटारस्थित जग्गाहरु समेत अतिक्रमणमा परेको उल्लेख गर्दै त्यसलाई फिर्ता ल्याउन आफूहरुले पहल सुरु गर्नु परेको बताए।
उनले भने, ‘तपाईहरुले देख्नु भएको छ। सार्वजनिक सम्पत्ति लुटिने प्रयास भएको छ। त्यसलाई रोक्नका लागि हामीले सार्वजनिक सम्पत्ति दूरुपयोग हुन नदिन छानवीन समिति बनाएका छौं। यो धर्मशालालाई पनि व्यापारिक प्रयोजनाका लागि दिइएको रहेछ। यो कामलाई रोक्न म आग्रह गर्दछु। र, सार्वजनिक सम्पत्ति जहाँजहाँ अतिक्रमित भएका छन्। त्यसलाई हामी रोक्नेछौं। त्यस काममा सहयोग गर्न म पत्रकार मित्रहरुसहित सबैलाई हार्दिक अपिल गर्दछु।’
युवा संघ, नेपालले नारायणहिटी संग्राहलयमा बतास समूहले बनाउन लागेको रेष्टुरेन्ट भत्काउन निर्देशन दिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई धन्यवाद समेत दिएको छ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।