२५ पुस २०७८
उदयपुरमा मेडिकल कलेज (चिकित्सा शास्त्र अध्ययन संस्थान) खोल्न ३ वर्षअघिदेखि भईरहेको प्रयास सफल पार्न उदयपुरवासी अहिले लागिपरेका छन्। विज्ञसहितको स्वास्थ्य मन्त्रालयको टोली गएको ०७५ सालमै उदयपुर आएर मेडिकल कलेज खोल्न सम्भाव्यता अध्ययन गर्दै बिभिन्न ठाउँको स्थलगत अध्ययन गरेर फर्केको थियो।

तर, त्यसपछि केही समय चर्चा चले पनि दुईतिहाई बहुमतको प्रधानमन्त्री केपी शर्मा ओली भएपछि त्यत्तिकै सेलाएको विषयलाई उठान गर्दै त्रियुगा र चौदण्डीगढी नगरपालिका अघि बढेका हुन्। त्यसका लागि त्रियुगा नगरप्रमुख बलदेव चौधरी र चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईलगायत सर्वपक्षीय प्रतिनिधिमण्डल शुक्रबार राजधानी गएको छ। मेयर चौधरी नेतृत्वमा २३ गते गएको १७ सदस्यीय प्रतिनिधिमण्डल टोलीले शनिबार उदयपुर १ का सांसदसमेत रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र बिभिन्न मन्त्रालयका सरोकारवालासँग भेटघाट र छलफल गरेको छ। मेयर चौधरीले शनिबारै डा. खड्का निवासमा सर्वपक्षीय सहभागितामा बैठक बसी गाईघाटमा मेडिकल कलेज खोल्न आवश्यक जग्गा व्यवस्थापनदेखि बजेट माग गर्नेसम्मको विषयमा घनिभूत छलफल भएको बताए।

मन्त्री खड्कासँगको छलफलमा त्रियुगा र चौदण्डीगढी नगरपालिकामा मुख्य समस्याको रुपमा रहेको ऐलानी र अव्यवस्थित भूमि व्यवस्थापन गर्ने गरी काम अघि बढाउने सम्झौतासमेत भएको मेयर चौधरीले बताएका छन्। त्यसका लागि मन्त्रालयबाट आवश्यक बजेट माग गर्ने र बाँकी नगरपालिकाले बेहोर्ने सम्झौता भएको छ। त्यसबाहेक नगरपालिकाका बिभिन्न वडामा आवश्यक पुल, सडक, खानेपानी र विद्युतीकरणलगायत अन्य बिबिध विषयमा छलफल गरी योजना निर्माण र सञ्चालनका लागि बजेट माग गर्ने निर्णय भएको छ।

प्रतिनिधिमण्डल सदस्य तथा त्रियुगा नगर सामाजिक विकास समिति संयोजक मानबहादुर राईले यसै वर्ष मेडिकल कलेज निर्माण गर्नेगरी जग्गा टुंगो लगाउँदै संघीय सरकारमार्फत आवश्यक बजेट माग गर्ने निर्णय खड्कासँगको बैठकले गरेको जानकारी दिए। यो विषयलाई थप निश्कर्षमा पुर्‍याउन प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र विभागीय मन्त्रीलाई भेट्ने कार्यतालिका बनाएको १६ नं. वडाध्यक्षसमेत रहेका राईले बताए।

त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालसहित प्रतिनिधिमण्डलमा १६ नं. वडाध्यक्ष राई, १४, १३, १०, ५ र ३ नंं वडाध्यक्षहरु क्रमशः कुरुङ राई, पशुपति चौधरी, प्रकाश खड्का, उद्धवसिंह थापा र अवधेशप्रसाद चौधरी, त्रियुगा क्याम्पस स्ववियु सभापति रोशन कार्की, चार्टर एकाउन्टेन्ट केशव बुढाथोकी र त्रियुगा नगरपालिकाका नायव सुब्बा गुरु ढकाललगायत छन्।

उदयपुरमा मेडिकल कलेज खोल्नका लागि अध्ययन गर्न ०७५ माघ तेस्रो साता स्वास्थ्य मन्त्रालयको टोली आएको थियो। मेडिकल कलेजका लागि आवश्यक पूर्वाधार खडा गर्न चाहिने जमिनको संभाव्यता अध्ययन गर्न आएको टोलीले गाईघाट आसपास बिभिन्न ५ ठाउँको स्थलगत अध्ययन सकेपछि स्थानीय सरकारको राय लिन भन्दै सार्वजनिक सुनुवाई तथा अन्तरक्रियासमेत गरेको थियो। जसमा स्थानीय सरोकारवालाहरुले उदयपुरमा एउटा मेडिकल कलेजको आवश्यक्ता भएको सुझाएका थिए।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका तत्कालीन प्राध्यापक डा. गोविन्द केसीको पटकपटकको अनसनपछि संसदबाट पारित ‘चिकित्सा विधेयक’ कार्यान्वयनको प्रारम्भमै उपत्यकाबाहिर मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउने सहमति अनुसार अध्ययन टोली उदयपुर आएको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मन्त्रालयद्वारा गठित प्राध्यापक मधुसुदन सुबेदी संयोजकत्वको संभाव्यता अध्ययन कार्यदल टोलीमा स्वास्थ्य मन्त्रालयका उपसचिव तथा कार्यदल सदस्य सचिव विष्णुप्रसाद मिश्र, विश्वविद्यालय अनुदान आयोगकका सदस्य विनोद भट्टराई सहभागी थिए। उनीहरुले त्रियुगा र कटारी नगरपालिकामा अध्ययन गरी फर्केपछि गाईघाट कि कटारीमा खोल्ने भन्ने विषय पनि बहस बन्दै आएको छ।

टोलीले त्यसबेला त्रियुगा ३ को जोरपोखरी सामुदायिक वनमा पर्ने चाँप क्षेत्र र ४ नं. वडमा पर्ने जनज्योति जोरपोखरी सामुदायिक वनकै फर्सेट र वनभोजस्थल, ८ नं. को उत्तराही टोल–राजाबास क्षेत्र, १२ को विशनपुर–लक्ष्मीपुरक्षेत्र र १३ को भातिखर्क–बहेडुवाक्षेत्रको अवलोकन गरेको थियो। कलेज खोल्न न्यूनतम २५ देखि ३५ बिगाहा जमिन चाहिने हुनाले फराकिलो ठाउँ देखाइको थियो। खुल्ला र प्रशस्त जमिन, पानीको स्रोत, मुख्य सडकसँग नजिक, बजारभन्दा टाढा, जनसंख्या, स्थानीयको स्वास्थ्य अवस्था, विरामीको संभावित चापलगायत सूचकहरु पनि कलेज खोल्न आवश्यक मापदण्डले मागेको छ।

सदरमुकामसमेत रहेको गाईघाटमा ५० शैय्याको उदयपयुर अस्पताल, सामुदायिक आँखा उपचार केन्द्र, सामुदायिक कान उपचार केन्द्र र निजी लगानीमा २५ शैय्याको रौता र १५ शैय्याका त्रियुगा अस्पताल सञ्चालित छन्। छिमेकी चौदण्डीगढी नगरपालिकामा १५ शैय्याको नगर अस्पताल, ४० शैय्याको कोभिड अस्पताल छन्। उता कटारी नगरपालिकामा २५ शैय्याको कटारी अस्पताल सञ्चालनमा छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.