सत्येन्द्र प्रताप सिंह
२७ पौस २०७८ सोमबार /रौतहट
नापी कार्यालयका कर्मचारीको संलग्नतामा स्थानीय एक जग्गाधनीको जमिनबाट अर्कोको नाममा कित्ताकाट गरिदिएको पाइएको छ । आफ्नो नामको जमिन बाट अर्कोको नाममा कित्ता काट भएपछि संशोधन को लागि नापी कार्यालय चन्द्रनिगाहपुरमा निवेदन दिँदा समेत बेवास्ता गरेको गुनासो पीडितको रहेको छ ।
साबिक हथियाही गाबिस वडा नम्बर ६ हाल कटहरिया नगरपालिका वडा नम्बर २ निवासी दुर्गा देवी सिंह र कमला देवी सिंहको हथियाही वडा नम्बर ४ (ख)जमुनिया स्थित कित्ता नम्बर ७३ को १ कट्ठा ४ धुर जमिन लाई नापी कार्यालयका अमिन धनवीर चौरसिया र तत्कालीन नापी अधिकृत शिव शरण साहको मिलेमतोमा सोही स्थान निवासी रवीन्द्र कुमार साह कलवारको नाममा पुर्बपटि साढे दश धुर जमिन रहे पनि कित्ताकाट गर्ने क्रममा दुर्गा देवी सिंह र कमला देवी सिंहको जमिनको दक्षिण पूर्वबाट साढे दश धुर जमिनको कित्ताकाट गरिदिएको खुलेको छ ।
नापी कार्यालय चन्द्रनिगाहपुरका अमिन धनवीर चौरसियाले कित्ताकाट गर्दा प्रमुखको निर्देशनमा गरेको बताउनु भयो । नापी कार्यालय चन्द्रनिगाहपुरका अमिनले आर्थिक चलखेलमा कित्ताकाट गर्दा एकको जमिन लाई अर्कोमा गाभिदिने गरेको पाइएको छ ।
कित्ताकाट गर्दा गुमेको आफ्नो जमिन फिर्ताको लागि तीन महिना देखि नापी कार्यालय चन्द्रनिगाहपुर धाउँदा समेत बेवास्ता गरेको गुनासो पीडित कमलादेवीको भान्जा जय प्रकाश सिंहले बताउनु भयो ।
उहाँ भन्नु हुन्छ कि त जमिनको नक्सा संशोधन गरिदिनु पर्यो नभए हुन नसक्ने पत्र दिनु पर्ने हो त्यो समेत नापी कार्यालय चन्द्रनिगाहपुर बाट हुन सकेको छैन । नापी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सबिन विकले कित्ताकाट गर्दा भुल भए पनि भौतिक संरचनाको निर्माण भएकाले केही गर्न नसकिने बताउनु भयो ।पिडितले न्याय नपाउँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँमा कर्मचारी सहित चार जना बिरुद्ध निवेदन दर्ता गरिएको हो। पिडित सिंहको भनाई अनुसार हामीले न्यायको लागि सम्मानिय अदालत पनि जान तयार रहेको संचारकर्मीसंगको कुराकानीमा बताइन्।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।