२०७८ पुष २८, बुधबार
मत्स्य संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्र जनकपुरधामको पूर्वाधारहरु उपयोगविहीन बनेको छ । आवश्यक जनशक्ति र व्यवस्थापनको अभाव र संघ सरकारको उदासीनताले गर्दा अर्बौको स्रोत साधनहरु प्रयोगविहीन बनेको हो । मुलुकमै जनकपुरधाम भन्दा मकवानपुरको हेटौडामा रहेको केन्द्रको क्षेत्रफल बढी रहे पनि जलस्रोत,वातावरण तथा माटो लगायतको माछाको उत्पादनको लागि आवश्यक मानिने तत्वहरुमा हेटौडा भन्दा पनि अब्बल जनकपुरधामको केन्द्र रहेको छ ।

केन्द्रका प्रमुख रविलाल शर्माका अनुसार जनशक्तिको अभाव र उचित व्यवस्थापन नहुँदा दुई दर्जन जत्ति पोखरी वर्षौदेखि प्रयोगविहीन बनेको छ । जनकपुरधाम उप–महानगरपालिका–१२ मा ३१ हेक्टर क्षेत्रफलमा फैलिएको केन्द्रमा माछा उत्पादनको लागि ७६ वटा पोखरी रहेको छ भने जलस्रोतको निम्ति ठूलो सानो गरी एक दर्जन भन्दा बढी डिप बोर्डिंग रहे पनि अधिकांश सञ्चालनमा छैन । विक्रम सम्वत् २०१८ सालमा मत्स्य विकास तालिम केन्द्रको नामले स्थापना भएको यो केन्द्रमा सुरु सुरुमा १ सय २५ भन्दा धेरै कर्मचारीहरु कार्यरत रहेकोमा अहिले सो केन्द्रमा २३ जना स्थायी र २८ जना करार गरी जम्मा ४३ जना कर्मचारी कार्यरत छन् ।

केन्द्रको सम्पूर्ण स्रोत साधनको सदुपयोग गर्नका लागि कम्तीमा प्राविधिक तर्फ १२ जना र पोखरीमा कामदारको रुपमा दुई दर्जन कर्मचारी नियमित रुपमा अति आवश्यक रहेको प्रमुख शर्माले बताए । सो बाहेक माछा मार्ने लगायतको विशेष दिनमा ज्यालादारीमा दजर्नौ कामदारको आवश्यकता रहेको केन्द्रको कर्मचारी व्यवस्थापनमा सरकारको ध्यान पुग्न नसकेको लामो समयदेखि केन्द्रमा कामदारको रुपमा काम गर्दै आएको राजदेव सहनी गुनासो छ । चालु आर्थिक वर्ष २०७८÷०७९ मा चार करोड ह्यास्लिंग (५÷६ दिनको भूरा) उत्पादन गर्ने लक्ष्य रहेकोमा ६ महिनामा १ करोड ८४ लाख उत्पादन गरी सकेको र आगामी असार सम्ममा लक्ष्य भन्दा बढी नै उत्पादन गरिने मत्स्य विकास अधिकृत नरेश कुमार महतोले जानकारी दिए ।

उनका अनुसार गत आव २०७७/०७८ मा तीन करोड लक्ष्य लिइएकोमा ३ करोड ४० लाख भूरा उत्पादन गरेर देशभरिको दश वटा जिल्लाका किसानहरुलाई वितरण गरिएको छ । धनुषा,महोत्तरी,सर्लाही,रौतहट,बार ा,पर्सा,सिरहा,सप्तरी,सिन्धुली,काभ्रेप्लान्चोक र काठमाण्डु लगायतका जिल्लाका माछा उत्पादक किसानहरुले यस केन्द्रबाट लाभान्वित हुने गरेको छ । त्यसैगरी केन्द्रले गत आर्थिक वर्षमा १५ लाख लक्ष्य राखेकोमा १६ लाख फ्राइ (एक ईन्च लामो भूरा) बिक्री गरेको छ । सीजनको बेला एक सय भन्दा बढी किसानहरु प्रति दिन भूराको लागि केन्द्रमा धाउने गरेका छन् भने बैशाखदेखि असार सम्मको तीन महिनालाई भूरा उत्पादनको लागि पिक सीजन मानिने गरिन्छ ।

आवश्यक जनशक्ति तथा केन्द्रलाई व्यवस्थित गरेर उपलब्ध स्रोत साधनको सदुपयोग गर्न सकिए हालको उत्पादनको तेब्बर उत्पादन गर्न सकिने र माछा उत्पादक किसानहरुलाई सरकारी दरमा सहज तरिकाले भूरा बिक्री वितरण गर्न सकिने र वार्षिक रुपमा दुई करोड भन्दा बढी राजश्व समेत संकलन गर्न सकिने प्रमुख शर्मा बताउंछन् । हाल प्रति वर्ष भूरा बिक्री गरेर ३० लाख देखि ४० लाख मात्रै राजश्व संकलन गर्ने गरिएको बताइएको छ । निजी रुपमा भूरा उत्पादकहरुले माग अनुसार भूराको दर भाउ परिवर्तन गरे पनि केन्द्रमा एक देखि डेढ ईन्चको २५ पैसा प्रति भूरा र २ देखि अढाइ ईन्च सम्मको भूरा ७५ पैसा प्रति भूरामा बिक्री वितरण हुँदा प्रदेश २ र वरिपरिका किसान मात्र होइन काभ्रेप्लान्चोक सम्मका किसानहरु भूरा किन्न जनकपुरधाम आउने गरेका छन् ।

पचास वर्ष अघि स्थापना भएपछि दुइ दशक भित्रै क्विन्टलको किवन्टल माछा उत्पादन मात्र होइन देशको विभिन्न भागमा जनकपुरधामको माछा भनेर पृथक पहिचान स्थापित गर्न सफल भएको केन्द्र यतिका दिनमा विकास हुनु पर्नेमा दिन प्रतिदिन दयनीय अवस्थामा पुगेर आफैमा संघर्षरत देखिएको छ । संघ सरकारको पूर्ण नियन्त्रण र सञ्चालनमा रहेको केन्द्रप्रति सरकारको रवैयाले गर्दा प्रशस्त सम्भावना बोकेको केन्द्रको हालत रुग्न बनेको छ । देशभरिमै प्रख्यात रहेको जनकपुरधामको माछा अहिले जनकपुरधाममै पाउन छोडेको छ जसको प्रमुख कारक संघ सरकार रहेको मानिएको छ । केन्द्रलाई विकास गरे यस क्षेत्रमा सयौं व्यक्तिहरुले रोजगारी पाउने छन भने अर्को तर्फ माछा व्यवसायीहरुको लागि बरदान नै साबित हुने माछा व्यापारीहरुको भनाइ छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *