२८ पुस २०७८
पोडियमसँगै मञ्चमा एउटा च्याबु्रङ ठड्याइएको छ। वरपर स्टेजभरि च्याब्रुङ, नगरा र किरात संस्कृति झल्काउने बाजागाजा देखिन्छन्। अघिल्तिर वाबुक (चिन्डो) उभ्याइएको छ। चिन्डोको दुवैतिर एउटा–एउटा गिलास पनि छन्। अनुमान गर्न सकिन्छ–चिन्डोभित्र केही तरल हुनुपर्छ। पक्कै ‘तीनपाने सर्वत’ हुनुपर्छ।

कार्यक्रम सुरु भएको छैन तर इलाम सदरमुकामको सिटीमार्ट सभाहलमा अरू बेला पनि भेला भइरहने खचाखच सहभागी आजचाहिँ अचम्मित छन्। अघिल्तिर झुन्ड्याइएको फ्लेक्सले आज यहाँ ‘महाभारा’ पुस्तकको गृहविमोचन हुँदैछ भन्ने त संकेत गर्छ तर फरक खालको स्टेज सजावट धेरैका लागि आकर्षक लागिरहेको छ।

निर्धारित समयभन्दा करीब १० मिनेटपछि पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ कार्यक्रमस्थल प्रवेश गर्छन्। उनीसँगै प्रदेश १ का सांसद् तथा पूर्वमन्त्री रामबहादुर राना पनि छन्। तर, उनीहरूलाई मञ्चमा होइन, पत्रकार वसन्त बस्नेतले दर्शकदीर्घाकै कुर्सीमा स्वागत गरिसकेका छन्।

लगत्तै पोडियममा उक्लिएका छन् सुरिलो आवाज र शैलीका धनी सुरेन राई। धेरैले अनुमान गरेका हुन सक्छन्– नेता मञ्चमा आएपछि अब उही आसनग्रहण, भाषणभूषण, राजनीति र तत्काइएका तिनै विकासे फेहरिस्त नै सुन्नुपर्नेरहेछ यहाँ पनि।

अहँ, अनुमान गरेजस्तो छैन आजको कार्यक्रम। कसैको आसन ग्रहणको सूची छैन। अतिथिलाई खादा, माला, ब्याज, बुकी केही छैन। सहभागीलाई शब्दले स्वागत गर्न माइकमा पुगेका छन्–इलामका अर्का साहित्य हस्ती विमल वैद्य।

त्यसपछिको कार्यक्रम झनै आकर्षक। गर्नु छ, इलाम नै घर भएका लेखक–पत्रकार वसन्त बस्नेतको दोस्रो कृति ‘महाभारा’ उपन्यासको गृह विमोचन। नेम्बाङ मञ्चमा उक्लिएका छन्, साथमा छन् पुस्तकका लेखक बस्नेत पनि। मञ्चमै बोलाइएका छन्– वसन्तका बुबा लैनबहादुर समेत।

पुस्तकको विमोचन नै अघिको चिन्डोभित्रको सर्वत (लोकल रक्सी) ले गर्ने तयारी छ। दुईपट्टि राखिएका गिलासमा कवि प्रकाश थाम्सुहाङले एकएक चिम्टी सर्वत राखिदिन्छन्। नेम्बाङ र बस्नेतले ओठसम्म गिलास पुर्‍याएर सर्वत सुर्क्याउँदा अघिल्तिरका दर्शकको तालिको गड्गडाहट हुन्छ। सँगै रहेका लैनसिंहले पुस्तक सार्वजनिक गर्छन्।

मञ्चको तामझाम र विमोचनको शैलीले बताइसकेको छ– जुन पुस्तक विमोचन गरिँदैछ, त्यो पूूर्वी पहाडको रीति–संस्कृतिको ऐना हो। रैथाने राई–लिम्बूूको संस्कृति–परम्परा, पूर्वी पहाडको रैथाने लवज छ त्यसमा। यहाँको जीवनशैली, वेशभूषा, दिनचर्या र महाभारा क्षेत्रका रूपमा चिनिने महाभारत पर्वत शृंखलाका इलाम, पाँचथरका गाउँबस्तीको कथा बुनिएको छ।

झापाको भद्रपुरबाट अपराह्न काठमाडौं जाने जहाज टिकट काटिसकेका नेम्बाङ सुरुमै पोडियममा उक्लिन्छन्। उनका अनुसार अबको तीन घन्टापछि आफूले बोर्डिङ पास लिइसक्नुपर्छ। सुरुमा उनी हतारिएका छन्। तर, ‘महाभारा’को अद्योपान्त पढिसकेका उनले पुस्तकभित्रका महत्त्वपूर्ण किस्सा सुनाउँदा आधा घण्टा बित्छ। तर, उनी सधैंजस्तो गरी यो कार्यक्रममा चाहिँ राजनीतिको ‘र’ मिसाउँदैनन्। महाभाराकै परिपरि घुमिरहन्छन्।

पुुस्तक पढिरहँदा आफू काठमाडौं नभई आफ्नै थातथलो इलाम–पाँचथरका गाउँबस्ती घुमेको अनुभव भएको उनले सुनाए। ‘इलाम–पाँचथरको रीति–संस्कृति, चालचलन, परिवेश छताछुल्ल पोखिएको कृति रहेछ महाभारा,’ नेम्बाङले सुनाए, ‘चलनचल्तीका शब्द टपक्क टिपेर यति मीठो शैलीमा प्रस्तुत गरिएको छ कि, जति पढे पनि पढौंपढौं लाग्ने।’

पुस्तकमा युवावयको प्रेमदेखि यहाँको संस्कृति, कुनैबेलाको राजनीति र धर्म–संस्कारलाई समेत राम्रोसँग फ्युजन गराइएको उनले सुनाए। ‘धर्म र राजनीति अलग क्षेत्र हुन् तर यी दुुईलाई उपन्यासको सौन्दर्य नबिग्रिने गरी प्रस्तुत गरिएको रहेछ,’ उनले भने, ‘किरात धार्मिकस्थल लारुम्बा र देशमा चलेको सशस्त्र द्वन्द्वलाई पनि कलात्मक तरीकाले सन्देशमूलक ढंगबाट प्रस्तुत गरिएको रहेछ।’

उनले आफू लिम्बूको छोरो भए पनि लिम्बू भाषा सिक्ने अवसर नपाएको बताए। ‘तर, समग्रमा महाभारमा महाभारा क्षेत्रको बासना आएको छ। यो निकै महत्त्वपूर्ण पुस्तक भएको छ,’ नेम्बाङले भनाइको बिट मार्दै उपन्यासमै प्रयोग भएको र आफूलाई निकै मन परेको शब्द सापटी लिएर भने, ‘यो पुस्तकले भनेझैं महाभारा फेरि बिउँझिने छ, वसन्तजीलाई ओक्के छ त।’

युवा कवि नवराज पराजुलीले बस्नेतको महाभारा कृति महाभारा क्षेत्रको जवानी भएको बताए। समालोचक तथा कवि प्रकाश थाम्सुहाङले सामाजिक ‘यथार्थवादले उपन्यास ध्वस्त बनाएको’ हौवा पिटाउनेका लागि महाभारा उपन्यास जवाफ भएको प्रतिक्रिया दिए। उनले पुस्तकको चक्रीय लेखनशैली आफूलाई अनौठो लागेको सुनाए।

कवि सीमा आभाषले उपन्यासले विभिन्न पात्रका माध्यमबाट प्रेमलाई मानिसको ‘दैविक अनुभूति’को माध्यमका रूपमा चरितार्थ गरेको बताइन्। ‘एउटा बालक (डुक्पा)ले किन विद्यालयमा पढ्न चाहेन, ऊभित्रको प्रतिभा खुट्याउनेतर्फ समाजले किन ध्यान दिन सकेन भन्नेजस्ता विषय यसमा खोतलिएको छ,’ आभाषले भनिन्, ‘यो उपन्यास र आख्यान महाभारा क्षेत्रको ऐतिहासिक दस्तावेज नै हो भन्दा फरक पर्दैन।’ फाइन प्रिन्टका प्रकाशन अजित बराल, महेन्द्ररत्न बहुमुखी क्याम्पसका अध्यापक दीपेन्द्र दुलाल लगायतले पुस्तकबारेमा धारणा राखे।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *