२०७८ पुष ३०, शुक्रबार
चालकलाई वास बसेको कोठामै थुनेर भाडामा लिएका गाडी लिएर फरार भएका अपराधी समूहको खोजीमा प्रहरी सक्रिय भएका छन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–८ मा नगरपालिकाको मातहतमा रहेको गेष्ट हाउसमा चालकलाई थुनेर बा.१४ प. ७८३ नम्बरको स्कारपियो गाडी लिएर फरार भएका चार जना अपराधी खोज्न सप्तरी प्रहरीलाई हम्मे हम्मे परेको छ । प्रहरीका अनुसार पुस १६ गते नाम खुल्न नसकेका चार जना व्यक्ति घुमघामका लागि भन्दै तिलाठी कोइलाडी गाउंपालिका– ५का नारायण प्रसाद राउतसंग उक्त गाडी भाडामा लिएका थिए ।

तर, भाडामा लिएका उक्त गाडीका चालक सप्तरीको तिलाठी कोइलाडी गापाका ध्रुबकुमार खंगलाई उनीहरु वास बसेको गेष्ट हाउसकै एउटा कोठामा थुनेर गाडी लिई भागेको चालकलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । वडा अध्यक्ष रुन्दीलाल मण्डलले पुस १८ गते बिहान गेष्टहाउस पुग्दा चालक एउटा कोठामा थुनिएको र बाहिरबाट ताल्चा लागिएको अवस्था देखिएपछि तत्कालै प्रहरीलाई खबर गरी उनको उद्धार गरिएको थियो । चालक खंगले गाडी भाडामा लिने चारै जनासंग हतियार रहेको बताएका छन् ।

“रक्सीले मातेका उनीहरु करिब राती १२ बजेतिर हतियार देखाउँदै गाडीको साँचो लिए र आफ्नो हातखुट्टा बाँधेर मुख थुन्दै कोठामा राखेर बाहिरबाट ताल्चा लगाइदिए” चालक खंगले भने, “उनले आफूलाई धम्काएर साँचो खोस्नेहरुलाई नचिनेको तर, कुरा गराईले उनीहरु भारतीय नागरिक भएको मेरो अनुमान रहेको बताए ।” वडा अध्यक्ष मण्डलले पुस १६ गते साझको समयमा स्थानीय समाजसेवी इन्द्रदेव यादवले भारतबाट आएका दुइ÷तीन जना पाहुना कोठा नपाई अलपत्र परेकाले गेष्ट हाउसमा कोठा मिलाइदिन अनुरोध गरे पछि कोठा उपलब्ध गराइएको बताए । उनले मानवताको हिसाबले सहयोग गरेकाहरुले त्यस्तो अपराधिक घटना घटाएको सुन्दा आश्चर्य लागेको बताए । प्रंहरीले चालक, गाडी मालिक र कोठाका लागि सिफारिस गर्ने यादवलाई पनि झिकाई बयान लिएको छ ।

गाडी मालिक राउतले गाडी भाडामा लिनेहरुलाई आफूले पनि नचिनेको बताए । सीमावर्ती भारतीय बजार सिमराहीबाट नेपाल घुम्न आएको र तीन/चार दिनका लागि भाडामा चाहियो भन्दै आएपछि आफूले भाडामा दिएको स्पष्ट गरे । तर, उनीहरु गाडी लिएर नै फरार भएपछि आफू प्रहरीको शरणमा पुगेको जानकारी दिए । घटना बारे सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सबैको बयानको आधारमा अपराधीहरुको खोजी कार्य भइरहेको छ डिएसपी माधवप्रसाद काफ्लेले भने, “सीमावर्ती भारतीय क्षेत्रका प्रहरी र उच्च अधिकारीहरुसंग पनि समन्वय गरी खोजतलास गरिरहेका छौं ।” उनीहरु गाडी लिएर सोही राती नै सीमापार भारततर्फ गइसकेको अनुमान गरिएको छ । तर, मध्यरातमा हतियार र चोरीका गाडीसहित अपराधीहरु कसरी र कुन नाकाबाट भन्सार र चेकपोष्टलाई छल्दै उम्कन सफल भए भन्ने कुरा अझै पनि रहस्यमय बनेको छ ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *