२०७८ माघ ३, सोमबार
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले विगतमा भएको मधेश विद्रोहकै कारणमा मुलुकको शासन प्रणाली फेरिएको बताएका छन् ।

धनुषाको मुखियापट्टी मुसहरनियाँमा जसपा जिल्ला समन्वय समितिले आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रममा उनले मधेश विद्रोह अगाडि भएका आन्दोलनहरुले राजनीतिक रुपमा शासकमा परिवर्तन भएपनि मधेश विद्रोह पछाडि मुलुकको शासन सत्ताको प्रणालीमै परिवर्तन भएको प्रष्ट गरे । मधेश विद्रोहकै कारण आज मधेशीहरु उच्च पदमा पुगेको चर्चा गर्दै पूर्ण अधिकार प्राप्तिको लागि अझै पनि संघर्ष जारी राख्नु पर्ने र सो संघर्षलाई जनता समाजवादी पार्टी नेतृत्व गर्न तयार रहेको बताए ।

काठमाण्डु केन्द्रित शासकहरुको मधेश प्रतिको नकारात्मक सोंचकै कारण हिमाल पहाडको तुलनामा मधेश हरेक क्षेत्रमा पछाडि परेको उनले बताए । उनले भने,‘काठमाण्डुमा जुन नेपालको राज्यको शक्ति छ ,त्यहि शक्तिकेन्द्रका शासक वर्गको सोंच मधेश प्रति नकारात्मक छ त्यसैले हिमाल ,पहाडको तुलनामा मधेशसंग भेदभाव छ।’ भौगोलिक रुपमा हिमाल,पहाडको तुलनामा मधेश अत्यन्त सुगम रहेको भए पनि स्वास्थ्य,शिक्षा,रोजगार लगायतको विभिन्न क्षेत्रमा पछाडि परेको अवस्थाले शासक वर्गको सोंचलाई नाँगो झार बनाएको अध्यक्ष यादवले बताए ।

राज्य सत्ताकै विभेदको कारण गरिबी ,बेरोजगार ी,अशिक्षा,भोखमरी,पिछडापन सबै भन्दा बढी मधेशमै रहेको जिकिर गर्दै उनले उच्च शिक्षा हासिल गरेका बेरोजगार युवाहरु समेत मधेशमै रहेको प्रसंग उल्लेख गरे । यो अवस्थालाई समाप्त पार्ने बेला आइसकेको बताउंदै उनले भने,‘मधेशप्रति जुन विभेद,असमानता,उत्पीडन र शोषण छ त्यसलाई अन्त्य गरेर मात्रै बराबरीको दर्जामा लग्न सकिन्छ । ’ वर्तमान सरकारले जसरी भए पनि किसानहरुको समस्या समाधान गर्नको लागि प्रयासरत रहेको बताउंदै उनले विकासको लागि केन्द्र (संघ) सरकारबाट दिइने बजेटमा मधेशको लागि एकदमै कम लगानी गर्ने गरिएको आरोप लगाए ।

विकासमा लगानी नै नभए विकास कहाँबाट हुने भन्ने प्रतिप्रश्न समेत उनले गरे । आर्थिक भेदभाव,सामाजिक भेदभाव लगायतको समस्या समाधान गर्न जसपा प्रतिबद्ध रहेको उनले स्पष्ट पारे । मधेशी जनतासंग रहेको भेदभाव सदाकोलागि समाप्त गर्ने जनता समाजवादी पार्टीको चाहना रहेको उल्लेख गर्दै उनले मधेशको विकास नभए सम्म देश कुनै पनि हालतमा समृद्ध हुन नसक्ने दाबी गरे । बजेट वितरणमा समेत भेदभाव हुने गरेको बताउंदै अध्यक्ष यादवले भने,‘ अधिकांश मधेशीको जनजीविकाको आधार कृषि छ तर बजेटको बाँडफाँडमा सबभन्दा कम लगानी कृषि क्षेत्रकै छ , कृषिलाई विकासमा अत्यन्त पछाडि पारिएको छ ।

’ केपी शर्मा ओली नेतृत्वको सरकारले जनआन्दोलन,मधेश जनविद्रोह लगायतका जनताको संघर्षबाट प्राप्त उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न एउटै संसदलाई एउटै सरकारले दुइ–दुइ पटक भंग गरेको चर्चा गर्दै संसद भंग गरेर स्वेच्छाचारी निरंकुश शासन लाद्न खोजेको आरोप लगाए । जसपाले लोकतन्त्रको रक्षा र केपी ओलीको प्रतिगमनको विरुद्ध सडकदेखि सदन सम्म र सदनदेखि अदालत सम्मको लडाई लडेको बताए । कानूनी र जनसंघर्षको माध्यमले लोकतन्त्रको रक्षा गर्न ओली नेतृत्वको सरकारको विकल्पको रुपमा निर्माण भएको गठबन्धको सरकारमा जसपा पनि गएको हो भन्दै ओली सरकारकै कारण वर्तमान अवस्थाको सृजना भएको उल्लेख गरे ।

ओली नेतृत्वको सरकारकै कारण किसानहरुलाई मलखादको अभाव भएको आरोप समेत उनले लगाए । विश्वभरि नै मलखादको अभाव रहेको बताउंदै उनले भने,‘जुन सरकारले समयमै ध्यान दिए त्यो देशमा मलखादको अभाव केही हद सम्म टरेको छ तर ओली सरकारले समयमा ध्यान नदिएकै कारण अन्तिम समयमा आएर मुलुकमा मल खादको चरम अभाव सृजना भएको हो।’

ओली सरकार भ्रष्टाचार गर्न तर्फ मात्रै केन्द्रित भएको बताउंदै उनले भने,‘तपाइहरुले सुन्नु भएको होला ओमनी काण्ड,नेपाल ट्रष्ट काण्ड,टेलिकम काण्ड ,दुनियाभरिको काण्डै काण्डमा केन्द्रित रह् यो ओली सरकार।’ एक अर्को प्रसंगमा बोल्दै उनले भने ‘वर्तमान निर्वाचन प्रणाली महँगो भएकाले विपन्न, किसान, मध्यमवर्गीयको नेतृत्वमा पहुँच हुन सक्दैन्’ उनले भने, पूर्ण समानुपातिक चुनावी प्रणाली लागुगरी दल नै चुनावमा जाँदा पछाडि पारिएकाहरुले पनि नेतृत्वमा पुग्ने अवसर पाउने छन् ।’

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शोषित ,उत्पीडित तथा पिछडिएका वर्गको अधिकार सुनिश्चितताका लागि एक मात्र विकल्प जसपा पार्टी नै रहेको बताए । कार्यक्रममा संघीय सरकारका भौत्तिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले मधेशको भुभागलाई विभिन्न प्रदेशमा गाँसेर मधेशलाई कमजोर पार्ने काम भएको आरोप लगाए । उनले भनिन्,‘केही भाग कोशी प्रदेशमा ,केही भाग प्रदेश ५मा त केही भाग कतै राखेर मधेश प्रदेशलाई कमजोर पार्ने काम गरिएको छ।’

कार्यक्रममा जनकपुरधामका मेयर लालकिशोर साहले मधेशी,आदिवासी ,जनजाती लगायतका अधिकारको लागि संघर्ष अझै जारी रहेकोले शासकवर्ग संग सचेत रहन सुझाव दिए । जसपा जिल्ला अध्यक्ष पशुपति यादवको सभापतित्व तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३को संघीय संसदका सम्भावित उम्मेदवार जितेन्द्र यादवको अग्रसरतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका जयकुमार यादवको नेतृत्वमा भारी संख्यामा कार्यकर्ताहरुले जसपामा प्रवेश गरे । नवप्रवेशीहरुलाई गमछा ओढाएर स्वागत गरिएको थियो ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.