२०७८ माघ ३, सोमबार नेपाल रेल्वे कम्पनी लिमिटेड विरुद्ध आन्दोलनमा उत्रेका पुराना कर्मचारीहरुले आइतबार जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ गरेका छन् ।
कम्पनीका महाप्रबन्धक निरंजन झाले नियम प्रक्रिया मिच्दै मनोमानी तरिकाले पुरानोलाई हटाएर नयाँ कर्मचारी भर्ना गरेको विरुद्ध पीडित कर्मचारीहरुले आन्दोलन चर्काउंदै लगेका छन् । गत मंगलबारदेखि नयाँ कर्मचारीहरुको तालिम सुरु भए लगतै नेपाल रेल्वे कर्मचारी संघर्ष समितिले तालिम रोक्नु पर्ने र पुराना कर्मचारीहरुको व्यवस्थापन गर्नु पर्ने माग सहित आन्दोलन जारी राखेका हुन् ।
आन्दोलित कर्मचारीहरुले आइतबार तालिम स्थलमा समेत महाप्रबन्धक झा विरुद्ध चर्को नाराबाजी गरेका छन् । सो क्रममा तालिम चलिरहेको सभाकक्षमा जान खोज्दा प्रहरीसंग धक्का मुक्की समेत भएको पीडित कर्मचारी दिलिप साहले बताए । महाप्रबन्धक झाले नियुक्त गरेका ५५ जना कर्मचारीहरुले विगत मंगलबारदेखि तालिम लिन सूरु गरेको छ । यसैबीच रेल्वेले कर्मचारी भर्ना गरेकोमा प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले विरोध जनाएका छन् । लोकसेवा आयोग मार्फत कर्मचारी भर्ना गर्नुपर्नेमा महाप्रबन्धकले जथाभावी गरेको प्रति आक्रोश व्यक्त गर्दै मन्त्री यादवले यथाशीघ्र समस्याको समाधान गर्नु पर्ने माग गरेका छन् ।
नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा नेकपा एकीकृत समाजवादी सम्वद्ध निरन्जन झालाई बनाएको थियो ।झा नेतृत्वको रेल्वे कम्पनीले जयनकपुर– जनकपुरधाम–कुर्थासम्म रेल सञ्चालन गर्न हालै मात्र ५५ जना कर्मचारीलाई तालिम दिई रहेका छन् ।आइतबार पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस प्रदेश २ का संसदीय दलका नेता समेत रहेका मन्त्री यादव लोक सेवा आयोगको परीक्षा मार्फत कर्मचारी भर्न गर्न बाध्य पार्न आन्दोलन गर्नुपर्ने बताए । कम्पनीले अझै पनि सुनुवाई गरे आन्दोलनको आंधीबेरी ल्याउने उनले चेतावनी समेत दिए ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।