२०७८ माघ ४, मंगलवार
प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम र प्रदेशको नाम मधेश प्रदेश रहने प्रस्ताव प्रदेश सभाले पारित गरेको छ ।

प्रदेश २ सभामा सोमवार दिउँसो स्थायी राजधानीका लागि पहिले भएको मतदानमा दुई तिहाई बहुमतबाट प्रस्ताव पारित भएको प्रदेश सभामुख सरोजकुमार यादवले घोषणा गरे ।त्यसपछि बसेको दोस्रो बैठकबाट प्रदेशको नाम मधेश प्रदेश पारित भएको उनले जनाए । प्रदेशको स्थायी राजधानीका लागि प्रदेश सभामा ३ वटा प्रस्ताव दर्ता भएको थियो ।पहिलो प्रस्तावको रुपमा जनकपुरधाम केन्द्र समेत उत्तरमा पूर्वपश्चिम राजमार्गको ढल्केवर, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमा र पश्चिममा बृहत्त मिथिला परिक्रमा क्षेत्रलाइ राजधानीका लागि प्रस्ताव गरिएको थियो । सो प्रस्तावको पक्षमा ७८ मत परेको थियो ।प्रदेश सभामा हाल १ सय ४ जना सदस्य संख्या कायम रहेको छ ।५

जनाले मतदानमा भाग लिएनन् ।२१ जनाले प्रस्तावको विपक्षमा मतदान गरेका थिए । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का प्रमुख सचेतक परमेश्वर साहले गरेको सो प्रस्ताव दुई तिहाई बढी मतले पारित भएपछि वीरगञ्ज र वीरगञ्ज समेत बारा र पर्सा जिल्लाको भूभाग समेटिएको प्रस्ताव निर्णायार्थ मतदानमा लगिएन् । त्यसैगरि प्रदेशको नामकरणका लागि सचेतक साहले गरेको मधेश प्रदेशको प्रस्तावलाई दुई तिहाई भन्दा बढी मतले पारित गरिएको छ ।मतदानमा भाग लिएका ९९ जना सभासदहरु मध्ये ८० जनाले मधेश प्रदेशको पक्षमा मतदान गरे ।१९ जनाले प्रस्तावको विपक्षमा मतदान गरेको प्रदेश सभामुख यादवले घोषणा गरे ।५ जनाले मतदानमा भाग लिएनन् । १ सय ७ सदस्यीय प्रदेश सभामा हाल १ सय ४ जना सभासद रहेका छन् ।

माओवादी केन्द्रले ३ जनालाई निलम्बन गरेपछि संख्या घटेको हो । ‘मधेश प्रदेशको पक्षमा अन्य दलका सभासदहरुले पनि मतदान गरेका छन्’ प्रस्तावक परमेश्वर साहले भने, केहि सभासदहरुले विपक्षमा मतदान गरेपनि दुई तिहाई बढी मतले पारित भएको छ । प्रदेश सभा बैठकमा पहिलो प्रस्तावको रुपमा मतदान भएको मधेश प्रदेश पारित भएपछि सभामुखले प्रदेशको अन्य प्रस्तावित नामहरुलाई मतदानका लागि प्रस्तुत गरेनन् ।नेपाली काँग्रेसले राखेको ‘मिथिला– भोजपुरा’, नेकपा एकिकृत समाजवादीले राखेको जानकी र नेपाली काँग्रेसका पर्सा जिल्लाका सभासद राजेश्वर साहले राखेको ‘मध्य मधेश’को प्रस्ताव मतदानमा लगिएन् ।

प्रदेशको नाम र राजधानीका लागि प्रदेश सभामुख यादवको संयोजकत्वमा गठित विशेष समितिमा नाम र राजधानीमा सहमति जुट्न सकेको थिएन् ।तर नाम र राजधानी सम्बन्धी पहिलो प्रस्ताव पारित भए अर्को प्रस्ताव मतदानका लागि प्रस्तुत नगरिने सहमति सो समितिमा भएको थियो । यस अघि २०७६ सालको चैतमा प्रदेशको नाम र राजधानीका लागि राखिएका यी प्रस्तावहरु अस्वीकृत भएको थियो ।त्यो बेला राखिएका प्रस्तावहरु नै प्रदेश सभाले दुई तिहाई बहुमतबाट पारित गरेको छ । प्रदेशको राजधानीमा काँग्रेस पार्टीका बारा, पर्सा र रौतहट जिल्लामा सभासदहरुले विपक्षमा मतदान गरेको बताइएको छ ।

त्यसैगरि एमाले र नेकपा एकिकृत समाजवादी पार्टीका केहि सभासदहरुलेपनि राजधानीको प्रस्तावमा मतदान गरेनन् । प्रदेश सभाको ऐतिहासिक बैठकमा अनुपस्थित रहने सभासदहरुमा सत्तारुढ जनता समाजवादी पार्टी(जसपा)की डा.रिना यादव, एमालेकी अनिता यादव, नेकपा एकिकृत समाजवादी पार्टीका सभासदद्वय डिल्लीप्रसाद उप्रेती र गोविन्दबहादुर न्यौपाने र नेपाली काँग्रेसकी सभासद शोभा लामा रहेका छन् ।

प्रदेशको राजधानी र नाम पारित भएपछि प्रदेश सभामा उल्लासमय वातावरण बनेको थियो ।सभासदहरुले एकअर्कालाई बधाईदिदै गर्वसाथ ‘जय मधेश’को नारा लगाएका थिए । सभामुख सरोज कुमार यादवलाई सभासदहरुले विशेष धन्यवाद र बधाईदिदै उनको भूमिकाको प्रशंसा गरेका थिए । प्रदेश सभाको ऐतिहासिक निर्णयको खुसियालीमा जनकपुरधाम नगर क्षेत्रमा साँझ भव्य दिपावली गरिएको थियो ।

भावुक भए अध्यक्ष यादव

प्रदेश सभाबाट मधेश प्रदेश नाउँ पारित भएपछि भावुक हुँदै जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले नेपाल देश भित्र मधेशीको मधेश राज्यको स्थापना भएको बताए । जनकपुरधाममा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दा गर्दै मधेश प्रदेश नामकरणको खबरले उनी भावुक हुँदै भने,‘अब दुनियाको कुनै पनि शक्तिले मधेशीलाई मर्सिया,धोती तथा बिहारी भनेर हेप्ने छैनन, आज मधेशीहरुको पहिचान कायम भएको छ ।’ नामकरणमा सहभागी सम्पूर्ण सभासद तथा सभामुख समेतलाई बधाई तथा धन्यवाद ज्ञापन गर्दै उनले भने,‘अन्य पार्टीका संसदहरुले पनि रिंग मास्टरको रिंग तोडेर मधेश प्रदेशमा समर्थन जनाएका छन् उहाँहरु पनि बधाइ र धन्यवादको पात्र हुनुहुन्छ।’ वर्षौको संघर्षले प्राप्त उपलब्धीबाट मधेशीहरुले पहिचान प्राप्त गरेको भन्दै नेता यादव अत्यन्त भावुक बनेका थिए ।

सभामुख ‘हिरा
प्रदेशको नाम र राजधानीमा सहमति जुटाउने जटिल कार्यलाई सहज ढंगले निकास दिन प्रदेश सभामुख सरोजकुमार यादवलाई ऐतिहासिक उपलब्धिका ‘हिरो’ मानिएको छ ।

सभामुख यादव संयोजक रहेको समितिले प्रदेशको नाम र राजधानीमा सहमति जुटाउन सफलता पाउन सकेन् ।त्यसपछि सभामुख यादवले व्यक्तिगत रुपमा सभासदहरुलाई विश्वासमा लिएर दुवै प्रस्ताव पारित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ । आईतवार अबेर राती सम्म सभामुख यादवले सभासदहरुसित ‘वन टु वन’ मिटिंग गरेका थिए ।राजधानी जनकपुरधाम पारित नभए प्रदेशको नाम समेत पारित हुन नसक्ने आकलन गरेका सभामुख यादवले त्यसै अनुकुल निर्णय लिए । नेकपा एकिकृत समाजवादी र नेपाली काँग्रेसका सभासदहरुलाई विश्वासमा लिएर सभामुख यादवले मधेश आन्दोलनको पहिचान स्थापित गर्न सफल भूमिका निर्वाह गरेको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का प्रमुख सचेतक परमेश्वर साहले बताए ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *