६ माघ २०७८
जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ।
कार्यालयको शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा बन्द गरिएको प्रजिअ रुद्रादेवी शर्माले जानकारी दिइन्। कोभिड–१९ को नयाँ भेरियन्टसहितको ओमिक्रोन सङ्क्रमण बढ्दै गएको अवस्थामा जिल्ला प्रशासन कार्यालयमा कार्यरत विभिन्न फाँटका कर्मचारी पनि कोभिड–१९ बाट सङ्क्रमित भई उपचार र आइसोलेसनमा बस्नु परेकाले प्रशासनले यस्तो निर्णय गरेको हो।
अत्यावश्यक सेवा लिन चाहने सेवाग्राहीलाई अनिर्वायरूपमा मास्क लगाएर, स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गरी साथमा खोप कार्ड वा मोबाइलमा कार्डको फोटो लिएर लिएर आउन आग्रह गरिएको छ। ‘जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्दै आएको शान्ति सुरक्षा, मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा अहिलेलाई स्थगन गरेका छौँ’, प्रजिअ शर्माले भनिन्, ‘कर्मचारी तथा सेवाग्राहीको नियमित र प्रत्यक्ष सम्पर्क हुने नागरिकता, नागरिकता प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी फाँटका सेवा अर्को सूचना जारी नभएसम्म स्थगन गरेका छौँ।’
उनले पूर्णरूपमा स्वास्थ्य मापदण्ड पालना गर्न, अनावश्यकरूपमा घर बाहिर ननिस्कन, अनिवार्य मास्क प्रयोग गर्न र भीडभाड नगर्न सबैमा आह्वान गरेकी छन्।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।