६ माघ २०७८
गत २४ घण्टामा परीक्षण भएका नमुनामध्ये ५० प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। सो अवधिमा नेपालभरिमा २३ हजार ४ सय ९ नमुना परीक्षण भएकोमा ११ हजार ३ सय ५२ जनामा कोरोना पुष्टि भएको हो। यो अहिलेसम्मकै सबैभन्दा बढी दैनिक संक्रमित संख्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संक्रमणदर अघिल्लो साताको तुलनामा पिसिआर परीक्षणमा २१.६ प्रतिशत र एन्टिजेनमा १४.२ प्रतिशतले वृद्धि भएको छ। गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणदर ४८.४९ प्रतिशत रहेको छ। अघिल्लो दिनको तुलनामा संक्रमणदर ४ प्रतिशतले वृद्धि भएको हो।

संक्रमण दर तीव्र गतिले बढेकाले अर्को साता बढेर दैनिक २० हजारसम्म पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रक्षेपण छ। अर्को साताभित्र संक्रमणदर उच्च पुगेर बिस्तारै ओरालो लाग्न सक्ने देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले बताए। उनले भने, ‘अर्को साता या माघको १५ पछि बिस्तारै संक्रमण ओरालो लाग्ने देखिन्छ।’

संक्रमणदर तीन दिनमै दोब्बरले वृद्धि हुँदै गएकाले सबै सतर्क हुन आवश्यक रहेको डा.पौडेलले बताए। पौडेलका अनुसार अहिलेको संक्रमणमा ओमिक्रोन भेरिएन्टको वर्चस्व बढी रहेकाले संक्रमितको तुलनामा अस्पताल भर्नादर कम छ। यो भेरिएन्टले श्वासप्रश्वास नलीको माथिल्लो भागमा संक्रमण बढी गर्ने भएकाले संक्रमितमा गम्भीर लक्षण कम भएको तर खोप लिएकामा समेत संक्रमण भएको पाइएको छ। यो भेरिएन्ट तीन तहको लक्षणसहित संक्रमित हुने हुनाले धेरै संक्रमित हुने क्रममा अस्पतालमा बिरामीको संख्या बढ्न सक्ने र कतिपयलाई गम्भीर समस्या पनि हुने गरेकाले सही ढंगले मास्क लगाउन र भौतिक दूरी कायम राख्न चिकित्सकले सुझाएका छन्।

घाँटी दुख्ने, रुघा लाग्ने, टाउको दुख्ने र पखाला लाग्नेमध्ये कुनै लक्षण भएका व्यक्तिले स्थानीय निकायमा निःशुल्क एन्टिजेन परीक्षण गराउन सक्ने मन्त्रालयले जनाएको छ। त्यसैगरी लक्षण भएकाको लागि सरकारी प्रयोगशालामा निःशुल्क परीक्षणको व्यवस्था गरेको मन्त्रालयले जनाएको छ। लक्षण नभएकाको हकमा सरकारी प्रयोगशालामा ८ सय र निजीमा १५ सय रुपैयाँ शुल्कमा पिसिआर परीक्षणको व्यवस्था गरिएको छ।

गत २४ घण्टामा संक्रमित देखिनेमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकाका रहेको तथ्यांकले देखाएको छ।विवरणअनुसार काठमाडौंमा ४ हजार ३ सय ६६, ललितपुरमा १ हजार १९ र भक्तपुरमा ५ सय ७८ जना गरी ५ हजार ९ सय ६३ जनामा कोरोना पुष्टि भएको छ। ५२.५ प्रतिशत संक्रमित उपत्यकाका छन्। हाल नेपालभरिमा ४७ हजार ९ सय २९ जना सक्रिय संक्रमित छन्। तीमध्ये ४६ हजार ५ सय ११ जना होम आइसोलेसनमा, १ हजार ४ सय १४ जना संस्थागत आइसोलेसनमा, १ सय ९६ जना आइसियुमा र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ। थप मृतकसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय २८ पुगेको छ।

कोरोना संक्रमित हुने दर बढी भएपछि सरकारले जनस्वास्थ्य मापदण्डसम्बन्धी आदेश जारी गरेको छ। सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी जम्मा हुन नपाइने, माघको अन्तिमसम्म सभासम्मेलन गर्न नपाइने, माघ १५ सम्म विद्यालय खोल्न नपाइने, व्रतबन्ध, विवाह, पास्नीजस्ता कार्यक्रम गर्नुपरेमा स्थानीय प्रशासनको अनुमति लिई ५० जनाभन्दा बढी भेला हुन नपाउने गरी सञ्चालन गर्ने आदेश जारी गरिएको छ। त्यसैगरी होटेल, सार्वजनिक सवारीसाधन, हवाईजहाज, रेस्टुराँ, सपिङ मल सञ्चालन गर्न पनि सरकारले विभिन्न मापदण्ड पूरा गर्नुपर्ने गरी आदेश जारी गरेको छ।

पिसिआर परीक्षण शुल्क घट्यो

यसैबीच स्वास्थ्य मन्त्रालयले पिसिआर परीक्षण शुल्क घटाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शुल्क घटाउन निर्देशन दिएलगतै मन्त्रालयले बुधबार नै शुल्क समायोजन गरेको हो। सरकारी अस्पतालमा भर्ना भएका बिरामीको पिसिआर निःशुल्क परीक्षण गर्ने र परक्षीणमात्रै गराउनेबाट ८ सय रुपैयाँभन्दा बढी लिन नपाउने निर्णय भएको छ। यसअघि सरकारी अस्पतालमा पिसिआर परीक्षण शुल्क एक हजार रुपैयाँ तिनुपथ्र्यो। त्यसैगरी निजी अस्पताल तथा ल्याबले १५ सयभन्दा बढी शुल्क लिन नपाउने निर्णय पनि स्वास्थ्य मन्त्रालयले गरेको छ। यसअघि निजीतर्फ यो शुल्क २ हजार रुपैयाँ थियो।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.