२०७८ माघ ७
घानाको यपिएट शहरमा भयंकर विस्फाेट भएको छ । विस्फाेटबाट कैयौं भवन भत्किएका छन् ।
घटनास्थलमा १७ वटा शव फेला परेका स्थानीय एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यद्यपि प्रहरीले मृत्यु भएकाहरुको संख्याबारे औपचारिक जानकारी दिएको छैन ।
सुनको खानीको रुपमा चिनिने शहरमा विस्फाेट भएको हो । खानीका लागि आवश्यक विस्फाेटक पदार्थ बाेकेको गाडी मोटरसाइकलसँग ठोक्किएपछि विस्फाेट भएको बताइएको छ ।
स्थानीय मिडियाहरुले सार्वजनिक गरेको तस्वीर र भिडियोमा विस्फाेट भएको स्थानमा धूलो र धूवाँको मुस्लो उडेको देखिन्छ । भग्नावशेषमा च्यापिएकाहरुले चिच्याउँदै सहायता मागेको पनि देखिन्छ ।
घानाका राष्ट्रपतिले ट्वीट गर्दै ‘अत्यन्तै दुःखद घटना’ भएको बताउँदै उद्धार तथा राहतका लागि सेना परिचालन गरिएको जनाएका छन् ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।