२०७८ माघ ९
माघपहिलो संविधानसभाको असफलताको सेरोफेरोमा नेपालमा ‘वैकल्पिक राजनीति’ को चर्चा हुन थालेको थियो । त्यसयता यसमाथि दाबी प्रस्तुत गर्ने तीन वटा स-साना राजनीतिक संगठन थिए- विवेकशील दल, नयाँ शक्ति पार्टी र साझा पार्टी । बितेको करीब एक दशकका अभ्यास, घटनाक्रम र उपलब्धि हेर्दा ‘वैकल्पिक राजनीतिवाला’ हरूको पनि हरिबिजोग भयो भन्नु/भनिनु अस्वाभाविक हैन ।

तर, सत्य आफैंमा एक गतिशील यथार्थ हो । हिजो जे थियो, आज त्यो जस्ताको तस्तै छैन । आज जे छ, भोलि त्यो हुने छैन । सृष्टिको नियममा कुनै पनि अस्तित्व एउटै रूपमा निरन्तर रहन सक्दैन । विकासको प्रक्रियामा अनेक आरोह-अवरोह भोग्नु सबैको स्वाभाविक र साझा नियति हो ।

हरिबिजोगको भाष्य

यसबीच वैकल्पिक राजनीतिको हरिबिजोग भएको भनाइमा सत्यको अंश नभएको भने हैन । विवेकशील दल, नयाँ शक्ति र साझा पार्टीका अभ्यास, कमजोरी र असफलताको जगमा ‘हरिबिजोगको भाष्य’ बनेको हो भने त्यो ठीक छ । यही सीमा र सीमितताबाट मात्र हेर्ने हो भने ‘हरिबिजोग’ मात्र हैन, ‘कन्तबिजोग’ नै भएको हो भनेर स्वीकार गर्न सकिन्छ ।

तर, ‘वैकल्पिक राजनीति’ शब्दको अर्थ, औचित्य र परिभाषा त्यतिमा मात्र सीमित छैन, अझ धेरै व्यापक छ । ती दल त त्यसका स-साना औजार मात्र थिए । एकप्रकारको प्रयोग थिए । विज्ञानको प्रयोगशालामा जस्तै समाज विज्ञानमा पनि अनेक प्रयोगात्मक अभ्यास भइरहेका हुन्छन् । ती सबै सफल हुन्छन् भन्ने ग्यारेन्टी छैन । असफल हुँदैमा निरर्थक प्रयास थिए भन्न मिल्दैन । असफल प्रयोगहरूबाट जुन अनुभव र ज्ञानको सञ्चिति हुन्छ, त्यो भविष्यको सफलताका लागि उपयोगी हुन सक्दछ ।

मूलधार भनिंदै/मानिंदै आएका तीन राजनीतिक शक्ति, नेपाली कांग्रेस, कम्युनिष्ट र राजावादी भन्दा फरक सहभागितामूलक, प्रत्यक्ष, समानुपातिक, समावेशी र सुसंस्कृत लोकतन्त्रको पैरवी गर्ने एक नयाँ राजनीतिक शक्तिको विकास गर्नु, त्यस मार्फत अहिलेसम्म अपूरो रहँदै आएको राष्ट्रनिर्माणको कार्यभार पूरा गर्नु, साँचो अर्थमा समावेशिता, सुशासन र समृद्धि हासिल गर्नु नेपालमा वैकल्पिक राजनीतिको कार्यभार हो ।

यस अर्थमा ‘वैकल्पिक राजनीति’ भन्नाले विवेकशील, नयाँ शक्ति र साझा पार्टी हो भन्ने बुझ्न हुँदैन । २०४६ पछि नै देवेन्द्रराज पाण्डेले लोक दल बनाएर नयाँ प्रकारको सामाजिक जनवादको, गजेन्द्रनारायण सिंहले सद्भावना पार्टी गठन गरेर मधेशी, जनजातिका सवाल र समावेशिताको, कुवेर शर्माले हरियाली पार्टी स्थापना गरी जैविकतावादी विश्व दृष्टिकोण र पर्यावरणीय लोकतन्त्रको सवाललाई उजागर गर्न खोजेका थिए । ती आफ्नो समयका वैकल्पिक राजनीति नै थिए । यस्ता सबै प्रयासको शृंखला र समुच्चयमा वैकल्पिक राजनीतिलाई बुझ्नुपर्दछ । ती समेत वैकल्पिक राजनीतिका इतिहास, महत्वपूर्ण सन्दर्भ र अनुभव हुन् ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.