२०७८ माघ ९
ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको छ । पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको पुरानो मूर्ति गएराति चोरिएको हो ।
मन्दिरका पुजारी आज बिहान चार बजे नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि स्थानीय जनप्रतिनिधिहरुलाई खबर गरेका थिए । त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो ।
ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले मूर्ति चोरी भएको जानकारी पाएलगत्तै खोजीकार्य जारी राखिएको बताए ।
स्थानीयका अनुसार मन्दिरभित्र प्रवेश गर्न चारवटा गेट क्रस गर्नुपर्छ, त्यहाँ नौवटा ताला लगाइएका हुन्थे । ती सबै ताला फोडेर मूर्ति चोरिएको छ ।
बागमती प्रदेश सभा सदस्यसमेत रहेका स्थानीय राजकाजी महर्जनका अनुसार यो मन्दिर गुठीको हो । यो गुठी काठमाडौं उपत्यकाकै धनी मानिन्छ । यसले ६ सय परिवारलाई संगठित गरेको छ ।

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।