११ माघ २०७८
पोखरालाई अन्य सहरसँग जोड्नेगरि विभिन्न रुटमा सुविधा सम्पन्न पर्यटक बस संचालन गरिरहेको स्वीफ्ट होलिडेले यात्रु पाउन छाडेपछि दुईवटा रुटको सेवा कटौती गरिसकेको छ। त्यसबाहेक माघ एकगतेदेखि पोखरालाई थप दुईवटा गन्तव्यमा जोड्ने योजना स्वीफ्टले बनाए पनि त्यो सेवा सुरु हुनै सकेन। नियमित सेवा कटौती र नयाँ सेवा थाल्न आँट नहुनुमा कोरोना भाइरस संक्रमणको त्रासले यात्रु अभाव भएको कम्पनिले बताएको छ।

जसोतसो चलिरहेका रुटमा पनि यात्रु संख्या ह्वात्तै घटेको कम्पनिको भनाई छ। यो कम्पनिले अहिले पोखरा–काठमाडौंको एउटा र वालिङ–काठमाडौंको दैनिक सेवा रोकिसकेको छ। पोखराबाट काठमाडौं र भक्तपुरका लागि विभिन्न समयमा तीनवटा बस संचालन गर्दै आएकोमा काठमाडौंसम्मको एउटा सेवा कटौती गरेको छ। पोखराबाट सौराहा र पोखराबाट सुनौलीसम्मको योजना सेवा थाल्न नपाउँदै रोकिएको छ।

‘दुईवटा रुटमा सेवा थालनी गर्न नपाउँदै रोकिएको छ। अरु दुईवटा रुटमा पनि यात्रु नै अभाव भएपछि दिईरहेको सेवा रोकेका छौ,’ स्विफ्ट होलिडेका बजार अधिकृत प्रदीप भट्टले भने, ‘हामीलाई यसअघि यात्रु अभाव थिएन। बरु चाँडबाँडको बेला त अतिरिक्त सेवा नै थपेका थियौं। तर, पछिल्लो दुईसातादेखि एकाएक यात्रु घटेपछि दिईरहेको सेवा रोक्न बाध्य भयौं।’

भट्टका अनुसार संक्रमणको त्रास छाउनु अघि यो कम्पनिका बसलाई यात्रु अभाव थिएन। तर, अहिले भने निकै नै कम यात्रुमात्र पाएको उनले बताए। ‘खर्च पनि नउठ्ने अवस्था आएपछि दिईरहेको सेवा रोकेका हौ,’ उनले भने, ‘नयाँ रुटमा त सुरु गर्नै पाएनौ।’ संक्रमणको त्रास हुनु अघि यो कम्पनिको बस सेवामा यात्रुले सिट पाउन मुस्किल हुन्थ्यो। सानो आकारको बस र सुविधायुक्त सेवा भन्दै यात्रुले निकै नै रुचाएका थिए। ‘हामीलाई सिट व्यवस्थापन गर्न हम्मेहम्मे हुन्थ्यो, अहिले रित्तै कुदाउनुपरेको छ,’ उनले भने।

भट्टका अनुसार अहिले अत्यावश्यक कामले मात्र यात्रुको हिडडुल रोकिएको छ। स्वीफ्टमा मात्र नभइ सबै कम्पनिका पर्यटक बसमा अहिले यात्रु छैनन्। पोखरालाई राजधानी सहित चितवन र लुम्बिनी जोड्नेगरि यहाँबाट पर्यटक बस संचालन गर्दै आएपछि अहिलेको संक्रमणको त्रासले यात्रु हिड्नै छाडेको व्यवसायीले बताएका छन्।नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का उपाध्यक्ष हरि अधिकारीका अनुसार पुस मसान्तससम्मको अवस्थामा दैनिक १० वटा (एकतर्फी) सम्म पर्यटक बस पोखरा–काठमाडौं रुटमा गुड्दै आएकोमा अहिले त्यो संख्या दुई–तीनवटामा झरेको छ। ‘मंगलबार बिहान दुईवटा बस मात्र पोखराबाट काठमाडौंका लागि छुटे। यात्रु नै नभएपछि बस मात्र पठाएर भएन,’ अधिकारीले भने, ‘जसोतसो ब्यूतन खोजेको पर्यटन क्षेत्रलाई ओमिक्रोनले धक्का लगाएको छ।’ अधिकारीका अनुभवमा अहिलेको संक्रमणको तिब्रताले सर्वसाधारण मान्छे हिडडुल गर्न डराएका छन्। अत्यावश्यक कामले बाहेक मान्छे यात्रा गर्न रुचाएका छैनन्।

बसमा मात्र नभई हवाईजहाजमा पनि यात्रु घटेको उनले बताए। यात्रु अभावमा हवाई कम्पनिले जहाज भाडा कटौती गर्दा केही सस्तोमा किट पाउँदा अत्यावश्यक कामका यात्रु पनि जहाज चढ्न जाँदा हवाई क्षेत्रमा केही चहलपहल देखिएपनि यात्रु अभाव भएको अधिकारीले बताए। ‘जहाज भाडा निकै नै तल ओर्लेको छ। अरुबेला बसमा यात्रा गर्ने यात्रु अहिले हिड्नै परेमा जहाज रोज्न थालेका छन । किनकी हवाई भाडा सस्तो पाइएको छ,’ उनले भने।

कोरोना संक्रमण बढेको भन्दै सरकारले सचेत गराउँदै अनावश्यक काममा हिडडुल नगर्न भनेको र सार्वजनिक यात्रामा कोरोना विरुद्धको खोप कार्ड अनिवार्य गरेपछि यात्रु साच्चै त्रसित भएको उनले बताए। ‘खोपकार्डको भन्दा संक्रमणको त्रासले घुम्न निस्कनेहरु घरभित्रै रोकिएका छन,’ उनले भने, ‘पोखराले पछिल्लो समय व्यवसायमा निकै नै फड्को मारिसकेको थियो। तर, फेरि धक्का लागेको छ।’

पर्यटक बसमा मात्र नभई हवाईजहाजमा पनि यात्रु घटेका छन। बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालका अनुसार बुद्धका पोखरा–काठमाडौं ११ वटा उडान रहेकोमा संक्रमणको त्रास सुरु भएपछि घटेर ७–८ वटामा झारेको बताए। ‘पोखरा–काठमाडौंको रुटमा त झनै यात्रु अभाव छ। पोखराबाट सबै रुटमा उडान भईरहेको छ। तर, यात्रु भने सबैतिर अभाव छ,’ बरालले भने, ‘यात्रुको संख्या कतिपय उडानमा आधा घटेका छन। केहीमा २५ प्रतिशत यात्रु घटेका छन।’ यात्रु हिडडुल गर्नै डराउँदा सबैतिर अभाव भएको उनले बताए। ‘यात्रु अभाव भएपछि उडान मर्ज गरेका छौ,’ उनले भने।

पोखरा विमानस्थलबाट दुईसाता अघिसम्म दिनमा २५ सय हाराहारीमा यात्रु आउजाउ गर्ने गरेकोमा अहिले घटेका छन। पोखरा विमानस्थलका सुचना अधिकारी देवराज सुवेदीले कोरोना संक्रमणका कारण हवाई यात्रु निकै नै कम भईसकेको बताए। ‘२५ सय हाराहारीमा रहेको यात्रु संख्या अहिले १८ सय हाराहारीमा झरेका छन,’ सुवेदीले भने, ‘अत्यावश्यक काममा मात्र यात्रु हिडडुल गर्ने गरेका छन।’ दुईसाता अघिसम्मको अवस्थामा उडान संख्या एकैनासको रहिरहेकोमा अहिले भने निकै नै तलमाथि भईरहेको पनि सुवेदीले बताए। सुवेदीका अनुसार असोज लागेपछि पोखरा रुटको हवाई यात्रामा यात्रु निकै नै बढेकोमा कोरोनाको त्रास थपिएसँगै एकाएक घटेका छन्। गत अक्टोबर, नोभेम्बर र डिसेम्बरको पोखरा विमानस्थलको यात्रु संख्या अहिलेसम्मकै बढी थिए। तर, संक्रमणको त्रास बढेपछि घटेको उनले बताए। ‘अत्यावश्यक काममा बाहेक कोही यात्रु छैनन्। यो बेला घुम्ने सिजन पनि होईन,’ उनले भने।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published.