२६ माघ २०७८
वैदेशिक रोजगारीमा गएका रौतहटका दुई युवकको साउदी अरेबियामा अलपत्र परेका छन्। कामको खोजीमा साउदी अरेबिया पुगेका रौतहटका दुई युवकलाई निकै सास्ती भइरहेको परिवारजनले जनाएका छन्।

रौतहटको ईशानाथ नगरपालिका ८ मनसरी टोलका दुई जनालाई साउदी अरेबियामा रोजगारीको क्रममा ठगी भएको आरोप परिवारजनको रहेको छ। काठमाडौँको आयुष ओभरसिज मेनपावर कम्पनीकाे कारणले ईशानाथ ८ का ३१ वर्षीय शेख शुभान अलि र २५ वर्षीय शेख हसिबुल्लाको साउदी अरेबियामा बिजोग भएको परिवारजनको आरोप छ।

जनही दुई लाख रुपैयाँ दिई साउदी अरबको लागि डिसेम्बर ३१ तारिखमा उडान भरेका दुवै युवकलाई त्यहाँ कठिन काम गर्नुपरेको छ। श्रम विभागको वेवसाइटमा दुई जनाको साउदी अरबमा श्रम स्वीकृतीमा जाने देखिन्छ तर दुबै जनालाई भिजिट भिसामा उक्त मैनपावर कम्पनीले साउदी पठाएर ठगि गरेको पिडित परिवारले जनाएको हो।

पिडित परिवारले संचारकर्मीहरुसित श्रमको लागि साउदी अरब पुगेका दुबै युवकलाई भनिएको काम नदिई मरुभुमिमा ढुंगा फुटाउने र खनजोत गर्ने कार्यमा लगाएको बताएका छन्। संजय सुवेदी नामको एजेन्टले सुरुमा राँकी ओभरसिज मार्फत प्रक्रियाहरु अघि बढाएको तर पछि आयुष ओभरसिजको मार्फत भिजिट भिसामा दुवै जनालाई साउदी पठाएको पिडित परिवारले संचारकर्मी समक्ष गुनासो पोखेका छन्।

विदेशमा रहेका शुभान अलीकी श्रीमती शलेखन नेसाले जग्गा गाउँको साहु महाजनलाई दृष्टिबन्धक गराएर ऋण लिई एजेन्ट संजय सुवेदीलाई २ लाख दिएर पठाएको तर श्रीमान साउदीमा पुगेपछि त्यहाँ भने अनुसारको काम दिन भन्दा उनलाई ढुंगा फुटाउनमा लगाएको र भिसाको म्याद मार्च २ मा सकिएको बताएपछि आफूहरु विचल्लीमा परेको श्रीमानबाट जानकारी प्राप्त भएको बताएकी छन्।

श्रीमान कम पढेलेखेको हुँदा भिसा पनि देखाएनन, त्यहाँ गएपछि ९० दिन बस्न मात्रै पाउने भनेपछि आफूहरु अहिले घरको न घाँटको भएको आँखाभरी आँसु पार्दै दुखेसो पोखिन। श्रीमानलाई जसरी भएपछि फिर्ता बोलाईदिन आग्रह गर्दैै समयभित्र नआए निकै अप्ठ्यारो हुने भन्दै श्रीमानलाई स्वदेश फर्काउन उनले सम्बन्धित मैनपावर कम्पनीसंग आग्रह गरेकी छन्।

शुभान अलि र हसिबुल्लाको २०२१ डिसेम्बर २ तारेखमा भिजिट भिसा लागेको कागजातबाट देखिन्छ। दुवै जनाको २ मार्च २०२२ सम्मको मात्रै म्याद रहेको छ। २ तारेखमा भिजिट भिसा लागेकोलाई मैनपावरले ३१ डिसेम्वरमा दुबैलाई साउदीको लागि उडाएका थिए। मैनपावरको चरम हेलचक्रयाईको कारण रौतहटको दुई युवक साउदीमा अहिले अलपत्र अवस्थामा पुगेको आरोप पिडित परिवारले लगाएको छ।

अर्का पिडित शेख हसिबुल्लाहको बुवा शेख मनिरले आयुष ओभरसिज सामाखुशी काठमाण्डौंले ठगि गरेर मेरो छोरालाई पठाएको हुँदा मैनपावर एजेन्ट संजय सुवेदीसहित सम्बन्धित सबै विरुद्ध आवश्यक कारवाही गरी अलपत्र परेकोलाई स्वदेश फर्काउन नेपाल सरकारसंग जोडदार रुपमा माग गरेका छन्। एजेन्ट सुवेदीसंग कुरा गर्दा उल्टै साउदीमा छोरालाई फोन गरेर डरत्रास देखाउदै आएको आरोप पनि रहेको छ।

एक त ऋण लिएर विदेश पठाउनु, त्यसमा मैनपावरको चरम बदमाशीले गर्दा छोरा अलपत्र परेको, कुरा गर्दा फोन गरेर यातना दिन लगाउनु जस्ता धम्की दिदा आफूहरु अहिले निकै विचल्लीमा परेको मनिर रुँदै आफ्ना कुरा सुनाउँछन्। कतै केही सीप नलाग्दा बाध्य भई संचारकर्मीको शरणमा आएको हुँदा अब मेरो छोरालाई फर्काउन नेपाल सरकारसंग गुहार लगाएका छन्।

आप्रवासी श्रोत केन्द्र गौरको सूचना अधिकृत निलु झाले साउदीमा अलपत्र परेका दुबै जनाको परिवारहरु सम्पर्कमा आएपछि सबै कागजातको अध्ययन एवं अनुसन्धान गर्दै जाँदा श्रम विभागले श्रम स्वीकृति गरेको पाइन्छ तर आयुष ओभरसिजले भिजिट भिसामा पठाएर दुबै युवकलाई अप्ठ्यारोमा पारेको बताइन्।

२ मार्चसम्म भिसा अवधी रहेको हुँदा दुबै जनालाई स्वदेश फर्काउनका निमित्त आयुष ओभरसिजका एजेन्ट संजय सुवेदीसंग कुरा गर्न खोज्दा अहिले उनी सम्पर्कविहिन बनेको अवस्था रहेको बताइन। समय अवधीभित्र नफर्किएमा उनीहरु निकै अप्ठ्यारोमा पर्ने भएको हँुदा तिनीहरुलाई स्वदेश फर्काउनुको कुनै विकल्प नरहेको उनले स्पष्ट पारिन्। नेपाल सरकारको सम्बन्धित निकायले पनि ठगी र बदमासी गर्ने मेनपावर कम्पनीमाथि दबाब दिनुपर्ने पीडित परिवारको आग्रह रहेको छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *