२७ माघ २०७८
डेढ अर्ब रूपैयाँ लागतको चोभार सुक्खा बन्दरगाह गत असारमै तयार भयो। राज्यले अर्बाैं रूपैयाँ खर्चेर तयार पारेको पूर्वाधार तयार भएको सात महिना बित्दा पनि सञ्चालनमा आउन सकेको छैन।

एकातर्फ तयार भइसकेको पूर्वाधारले खाली छ, अर्काेतर्फ व्यवसायीले सिधै काठमाडौंमा कार्गो ल्याउन पाइरहेका छैनन्।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल कार्यालयको तर्फबाट सुक्खा बन्दरगाहको सम्पूर्ण पूर्वाधार तयार पारेर राखेको बताउँछन्। ‘कोभिड महामारीको बाबजुद सुक्खा बन्दरगाह आयोजनाको निर्माण सम्पन्न गरायौं। तर सञ्चालन गर्न नपाउँदा चिन्तित भएका छौं,’ उनले भने, ‘समितिले सरोकारवाला निकायलाई मौखिक तथा लिखित रूपमा बन्दरगाह सञ्चालन गर्र्ने वातावरण तयार पार्न बारम्बार अनुरोध गर्दै आइरहेको छ।’

२०७७ कात्तिकमा गजुरेलले कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेसँगै बन्दरगाह निर्माणले गति लिएको थियो। गजुरेलले आयोजनाको जिम्मेवारी सम्हाल्दा ४२ प्रतिशत मात्रै भौतिक प्रगति थियो। बाँकी काम उनले असारमै सकाए।

कार्यकारी निर्देशक गजुरेल गत असारमै सुक्खा बन्दरगाहको संरचना तयार भए पनि सञ्चालन गर्न नसकिएको बताउँछन्। ‘हाम्रोतर्फबाट काठमाडौं सुक्खा बन्दरगाहको सम्पूर्ण पूर्वाधार लगायत संरचना तयार पारेर राखिदिएका छौं,’ उनले भने, ‘भन्सार,क्वारेन्टिन लगायत संरचनाका लागि आवश्यक पर्ने फर्निचर र कार्यालय सञ्चालनका पूर्वाधार समेत तयारी अवस्थामा छ।’

भन्सार कार्यालय र क्वारेटिन सञ्चालन गरेको खण्डमा बन्दरगाह सञ्चालनमा ल्याउन सकिने उनको भनाइ छ। ‘हामीले सरोकारवाला निकायलाई तत्कालै बन्दरगाह सञ्चालन गर्न बारम्बार अनुरोध गरेका छौं,’ उनले भने, ‘अन्य सरकारी निकायले आफ्नो जिम्मेवारी अनुसारको कार्यसम्पादन गरेको खण्डमा बन्दरगाह सञ्चालनमा कुनै पनि अप्ठेरो छैन।’

समितिले बन्दरगाह क्षेत्रमा लाग्ने शुल्क समेत निर्धारण गरिसकेको छ। समितिले बन्दरगाह सञ्चालनको लागि आफ्नोतर्फबाट १२ जना कर्मचारीको दरबन्दी समेत कायम गरिसकेको छ। समितिका अनुसार सुक्खा बन्दरगाहमा भन्सार कार्यालय र क्वारेन्टिन सञ्चालन गर्नुपर्ने हुन्छ।

भन्सार विभागले भन्सार कार्यालय स्थापना गर्नुपर्ने हुन्छ भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने क्वारेन्टिन जाँचको कार्यालय स्थापना गर्नुपर्ने हुन्छ। बन्दरगाहमा कृषिजन्य तथा खाद्यजन्य मालसमानको आयात/निर्यात गर्दा क्वारेन्टिन जाँच गर्ने कार्यालय स्थापना गर्नुपर्ने हुन्छ। अहिलेसम्म यी दुवै निकायले आफ्नो कार्यालय सञ्चालन नगर्दा बन्दरगाह सञ्चालनमा नआएको हो।

भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले चोभार सुक्खा बन्दरगाह तयार भए पनि अहिलेसम्म भन्सार कार्यालय स्थापना गर्न नसकेको स्वीकारे। ‘चोभारमा बन्दरगाह निर्माण सकिइसकेको छ,’ उनले भने, ‘सरकारले सो ठाउँलाई भन्सार क्षेत्र घोषणा नगर्दा कार्यालय स्थापना गर्न सकिरहेका छैनौं।’ निर्देशक खड्काले विभागले चोभार सुक्खा बन्दरगाह क्षेत्रलाई भन्सार क्षेत्र घोषणा गर्न र भन्सार कार्यालय खोल्ने अनुमतिको लागि अर्थ मन्त्रालयमा सिफारिस गरिसकेको बताए।

‘चोभार सुक्खा बन्दरगाह आसपासलाई भन्सार क्षेत्र घोषणा गर्नुपर्ने हुन्छ। अहिलेसम्म त्यो नभएकाले कार्यालय स्थापना गर्न समस्या छ,’ उनले भने, ‘विभागले चोभारमा भन्सार कार्यालयको लागि २९ जना कर्मचारीको दरबन्दी समेत स्वीकृति गरिसकेको छ। त्यसैले आवश्यक प्रक्रिया पूरा गरेर छिट्टै स्थापना गर्नेछौं।’

निर्देशक खड्काले भन्सार कार्यालयले सीमा क्षेत्रबाट आउने मालबहाक सवारी साधनको ट्र्याकिङ र लकिङ प्रणाली कसरी गर्ने विषयमा पनि छलफल गरिरहेको बताए। यो सुक्खा बन्दरगाहको निर्माण २०१८ अगस्ट २ मा सुरु गरिएको थियो। सुरुआती ठेक्का सम्झौता अनुसार यो आयोजना २०७७ वैशाखभित्रै निर्माण सम्पन्न हुुनुपर्ने थियो। तर स्थानीयको अवरोध र कोभिड १९ ले १४ महिना ढिला गरी निर्माण सम्पन्न भयो।

सुक्खा बन्दरगाहको मुख्य पूर्वाधार निर्माणमा १ अर्ब ६० करोड र अन्य पूर्वाधारमा २० करोड रूपैयाँ खर्च भएको छ।

समितिका अनुसार तीनवटा गोदाम भवन, तीनवटा चेकजाँच भवन, एउटा भन्सार कार्यालयको भवन, एउटा क्वारेन्टिनको भवन र एउटा प्रशासनिक कार्यालयको भवन छ। त्यसैगरी यो बन्दरगाहमा पाँच सयवटा ट्रक, पाँच सय कन्टेनर, तीनवटा गेट र तीनवटा धर्मकाँटा जस्ता पूर्वाधार छन्।

यो बन्दरगाह २ सय २० रोपनी क्षेत्रफलमा फैलिएको छ। सुक्खा बन्दरगाहमा सामान आयात र निर्यात गर्न छुट्टाछुट्टै आन्तरिक र बाह्य टर्मिनल हुनेछन्। आन्तरिक टर्मिनलबाट देशभरबाट काठमाडौं उपत्यका आउने र उपत्यकाबाहिर जाने मालसमान लोड–अनलोड र भण्डारण गर्ने व्यवस्था हुनेछ।

बाह्य टर्मिनलमा भने भारत तथा तेस्रो मुलुकबाट भैरहवा, वीरगन्ज र रसुवागढी नाकाबाट भित्रेको सामान ल्याइनेछ। ‘चीन तथा भारतबाट आउने सामान नाकामा लकिङ गरेपछि काठमाडौंको सुक्खा बन्दरगाहमा आएर भन्सारको सबै काम यहाँबाटै गर्न सकिन्छ,’ उनले भने, ‘चोभार बन्दरगाह सञ्चालनमा आएसँगै नाकामा लोड–अनलोड गर्ने समस्याको अन्त्य भएको छ।’ यो बन्दरगाह सञ्चालनमा आएपछि नाकामा कन्टेनर खोलेर लोड–अनलोड गर्ने झन्झटको साथै त्यसबापत लाग्ने आर्थिक भारमा समेत कमी आउने समितिले जनाएको छ। यो सुक्खा बन्दरगाहमा कलकत्ता, विशाखापट्टनमा र चीनको केरुङ तथा सिगात्सेबाट आयात हुने सामान सोझै ल्याएर भण्डारण गर्न सकिनेछ। चोभार हुँदै फास्ट ट्र्याक समेत जोडिने भएकाले सामान ल्याउँदा हुने झमेला अन्त्य हुने विश्वास गरिएको छ।

Author

  • यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

By

यो वेबसाइट अनलाईन कान्तिपुर डट कमको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *